खतरनाक औंला – बलराम तिमल्सिना

पाँच औंला छन हातमा
पाँचै औंला फरक फरक छन
तर एउटा औंला निकै खतरनाक छ
त्यो हो- चोर औंला !
यो “चोर औंला” विशेषण पनि खतरनाक छ
वास्तवमा चोर औंला चोर औंला होइन
यो त हो- खवरदार औंला
अझ यसो पनि भनौं- प्रश्न वाचक औंला !
जो जो खवरदारीसँग डराए
जो जो प्रश्नसँग आत्तिए
तिनीहरूले राखिदिए नाम- चोर औंला !
शासकहरू बुढी औंला मन पराउँछन
कुनै व्यहोराको कागजमा
बुढी औंलाकै छाप चल्छ
कसैको मन्तव्यपछि
तपाई बुढी औंलो देखाउँनोस
वक्ता मख्ख पर्छ
तपाई चोर औंला उठाउनु होस
वक्ता रन्थनिन्छ
कसै गरी माझी औंला देखाउँनु भो भने
तपाईले कुटाई खाने संभावना हुन्छ !
औंलाहरूले थुप्रै कुरा गर्छन
जस्तै-
सही छाप लगाउँन- बुढी औंला
प्रश्न उठाउँन- चोर औंला
भर्त्सना गर्न- माझी औंला
सौचालय जान- कान्छी औंला !
पाँचै औंलाका काम छन
दुवै हातका औंला जोड्नोस-
नमस्कार बन्छ
पाँचै औंला कस्नोस मुठ्ठी बन्छ
मुरलीमा या पिनायोमा
औंलाहरू मिलाएर चाल्नोस
सुमधुर संगीत जन्मन्छ !
औंलाहरूको परिवारमा
सवैभन्दा खतरनाक छ- चोर औंला
शासकहरू चोर औंलासँग डराउँछन !
जुन दिन प्रश्नहरू सकिने छन
मान्छे हाड-छालाको थुप्रो मात्र रहने छ
मलाई प्रश्न गर्न सघाउँने
यो चोर औंलालाई
म खुव मायाँ गर्छु , गरिरहने छु !
तपाइको चोर औंला माथि
सरकारको निगरानी हुन सक्छ
कृपया चोर औंलाको जतन गर्नु होस !