ठग, शोषक र ईश्वर – बलराम तिमल्सिना
अपराधवोधले
सवैभन्दा बढी जल्नेहरू नै भेटिन्छन
मन्दिर मस्जिद र चर्चहरूमा !
जो कुनै अपराध गर्दैनन
तिनीहरूलाई कामले फुर्सद नै हुदैन
या तिनीहरूसँग
ईश्वरसँग माफी माग्ने कुनै विषय नै हुदैन
उनीहरूसँग हुन्छ
ठग र शोषकहरूलाई श्राप दिनु पर्ने माग !
दुखको कुरा-
ईश्वर पहिलै मिलिसकेका हुन्छन
ठग र शोषकहरूसँग
र तिनीहरूले प्राप्त गरिसकेका हुन्छन
थप ठगी र शोषणको अनुमती !
ईश्वरलाई पनि थाहा छ-
ठग र शोषकहरू रहेनन भने
उसको पूजा गर्ने कोही हुने छैनन !
निमुख मानिसहरूलाई थाहा छैन
ठग ,शोषक र ईश्वरको गोप्य साँठगाँठ !
ठग , शोषक र ईश्वर
एकै आमाका सन्तान हुन !
त्यसैले,
ईश्वरको अदालतमा
ठग र शोषकहरूले एउटै मुध्दा हार्दैनन !