पुत्ला र पुतलीहरू – बलराम तिमल्सिना

जतिसुकै पहलमान देखिउन
पुत्लाहरू पुत्ला नै हुन
जति सुकै सुन्दर देखिउन
पुतलीहरू पुतली नै हुन्
अर्थात-
झुम्राका पुत्ला र पुतलीहरू
केवल भ्रम उत्पादन गर्न हुन् !
हिजो आज
बजारको दाना-पानीले
लगातार भत्काइरहेछ
मान्छेको चरित्र
र धमाधम बनाइरहेछ
पुत्लाहरू र पुतलीहरू !
तपाई बजारमा हिडिरहेका
मानव आकृतिहरू हेर्नुस
ती मान्छे कम पुत्ला बढी हुन्छन्
ती मान्छे कम पुतली बढी हुन्छन् !
पुत्ला र पुतलीहरू
जति सुकै तगडा या सुन्दर देखिउन
तीसँग दिमाग हुदैन
सपना हुदैन गन्तव्य हुदैन
संकल्प हुदैन सोच हुदैन
ती त –
पुतली भए
घरमा सजाउँन काम लाग्छन
पुत्ला भए
बारीमा ठड्याउँन काम लाग्छन् !
डर लाग्दो तथ्याङ्क के छ भने-
देशको युवा जनसंख्या
आधाभन्दा बढी
पुत्ला र पुतलीको कव्जामा छ !
यो क्रम नरोकिने हो भने
भोलि यो देश
मान्छेहरू निख्रिएर
पुत्ला र पुतलीहरूको देश हुने छ !
ए यो देशका आमाहरू !
भोलिबाट तिमीहरू
पुत्ला र पुतली जन्माउँन बन्द गर !
स्कुल र कलेजहरू
तिमीहरूको पाठ्यक्रमबाट
पुत्ला र पुतली शिक्षा खारेज गर !
मलाई यो देश
मान्छेको भएको हेर्न मन छ !