एउटा अखडा – बलराम तिमल्सिना

अरु देशमा जस्तै
हाम्रो देशमा पनि एउटा अखडा छ
लुच्चाहरूको अखडा
ठगहरूको अखाडा
चोरहरू, लुटेराहरू
पतितहरू, पाखण्डहरू
र वेइमानहरूको अखडा !
अखडामा
कोही सत्तापक्ष बन्छन्
कोही प्रतिपक्ष बन्छन्
कोही राष्ट्रवादी
कोही प्रजातन्त्रवादी
कोही मधेशवादी
कोही पहाडवादी
र कोही समाजवादी बन्छन् !
अखडामा पसेपछि
जुन रङ्गका भए पनि
जुन नश्लका भए पनि
जुन झण्डा
र जुन विचारका भए पनि
तिनीहरू भत्किन्छन्
र ती एउटै विचारका बन्छन् !
तिनीहरूको साझा चरित्र हो
लुट्नु
ढाँट्नु
ठग्नु
नाटक गर्नु
र हामीलाई मूर्ख बनाउँनु !
यिनीहरूलाई चलाउँने मदारीहरू
अन्तै कतै बस्छन्
उनीहरूकै तालिम अनुसार
मदारीकै स्कृप्ट अनुसार
यिनीहरू
हाँस्छन्
रुन्छन्
फुलिन्छन्
झगडिन्छन्
रगडिन्छन्
र चाटाचाट गर्छन् !
मान्छेहरू सोच्छन् –
उनीहरूको भाग्य र भविष्य यहीं लेखिन्छ
त्यो कोरा भ्रम मात्र हो
यहाँ केही लेखिदैन
लेखिएको नाटक गरिन्छ
देशको भाग्य र भविष्य त
कुनै अज्ञात कुनामा लेखिन्छ
यो अखडा त
हामीलाई ऊल्लू बनाउँने रङ्गमञ्च हो
मानिसहरू
यसलाई संसद भन्छन् !