नयाँ गन्तव्यको यात्रा – प्रतिरोध

ए प्रियसी
आउ हामी नयाँ यात्रा सुरु गरौ
नयाँ गन्तव्य तय गरौं
जहाँ यो दुर्गन्धित हावा नहोस्
राता फुलहरुमाथी प्रतिबन्ध नलागोस्
बन्दुकले चेतनालाई कैद नगरियोस्
मुक्तिको आकाक्षा राखेको आरोपमा
हाम्रा हातहरुमा कतकडी नलगाइयोस्
स्वाधीनताको वकालत गरेकै कारण
देशभक्तको घाटीमा सङगीन नरोपियोस् !
हेर प्रियसी
यो बन्दुकको बलले टिकेको
लुटको सामराज्य हो
जहा
युगौ देखि बिधान अनेकौं उत्पिडनहरु
असमानताका ठुला ठुला खाडलहरु
शोषण र दमनको खुल्ला तान्डप नित्य
क्रान्तिका भुणहरुको हत्या
मातृभूमि माथिको बलात्कार
जताततै प्रष्ट देख्न सकिन्छ
जसलाई बैधानिक दिन्छ
कर्पोरेटका पञ्जामा कैद प्रजातन्त्रले
भ्रष्ट्रहरुको अदालतले
तस्करहरुको कानुनले
जल्दाख प्रहरीले
कठपुतली सेनाले।
प्रियसी
आज एकाबिहानै
रेडियोले समाचार फुक्यो
दोहोरो मुडभेटमा
एकजना हतियारधारीको मृत्यु
आतंककारी सँग गोली हानाहान
यो समाचार सुनेर
एक हुल भिजलान्तेले दिपावली मनाए
सत्ताको गोलीले मारिने
त्यो `हतियारधारी´ त्यो `आतंककारी´
एक देशभक्त युवा थियोे
जसको कसुर थियोे
बिचारको हतियार बोकेर
देशलाई अगाध प्रेम गर्नु
मुक्तिको आकाङ्क्षा राख्नु
स्वाधीनताको वकालत गर्नु !
हो प्रियसी
यहाँ प्रेम गर्न प्रतिबन्ध लगाइएको छ
इतिहासको अध्यन गर्नु
मुक्तिको आकाङ्क्षा राख्नु
स्वाधीनताको वकालत गर्नु
लुटको सामराज्यको बिरोध गर्नु
ठुलो अपराध हो यहाँ
यहाँको स्वतन्त्रताले
सत्ताको जयजयकारलाई
बिदेशी प्रभुको गुलामीलाई
मात्रै बैधानिकता दिन्छ
यो खुल्ला हिरासत भित्र
बर्वर यातना गृह भित्र
चेतनालाई कैद गरेर
सपनालाई रोक लगाएर
म कसैगरी बस्न सक्दैन !
मेरी प्रियसी
युगले मुक्ति मागेको बेला
म मौन बस्न सक्दै सक्दैन
बरु जबर्जस्त उठाउछु
बिद्रोहको मशाल
क्रान्तिको रातो झन्डा
जसले नयाँ युग जन्माउने छ
जहा
यो माटो सँग
हाम्रो धर्ती सँग
असिमित प्रेम गर्ने स्वतन्त्रता हुनेछ्
उत्पिडितहरुले मुक्ति पाउने छन
मेटिनेछन असमानताका सारा खाडलहरु
च्यातिनेछन् काला कानुनहरु
आउ प्रियसी
यो नयाँ गन्तव्यको यात्रा
सँग सँगै तय गरौं।