उस्तै उस्तै – बलराम तिमल्सिना

कुनै विरालोलाई
हिजो मारेको मुसा खै भन्नु
र जय नेपाल सरकारलाई
लाउडा धमिजा सोध्नु
उस्तै उस्तै हो ।
कुनै स्याललाई
हिजो चोरेको कुखुरा खै भन्नु
र लाल सलाम सरकारलाई
वाइड बडी के भयो भनेर सोध्नु
उस्तै उस्तै अज्ञानता हो !
बाघलाई
उसले पक्रेको हरिणको बच्चा वारे सोध्नु
र प्रहरी हाकिमलाई
तेत्तीस किलो सुन वारे सोध्नु
उस्तै उस्तै मूर्खता हो !
वलात्कारीलाई
महिलाको विलौना वारे सोध्नु
कसाहीलाई करुणा वारे सोध्नु
सेवा निवृत्त न्यायधीशलाई
उसले गरेका अन्याय वारे सोध्नु
र देशको सरकारलाई
सदर गरेका फाइल वारे सोध्नु
झण्डै झण्डै एउटै कुरा हो !
पाश्चरलाई
भागवत गीता वारे सोध्नु
हिन्दू पूजारीलाई
कुरान वारे सोध्नु
मुल्लाहलाई
त्रिपिटक वारे सोध्नु
र महाजनलाई
पसिनाको सुगन्ध वारे सोध्नु
लगभग एउटै दुर्दशा हो !
थाहा भएर पनि यी कुरा
हामी वारम्वार गल्ति गरिरहन्छौं
असंबन्धित मान्छेसँग
असंवन्धित प्रश्नहरू सोधिरहन्छौं
जोसँग जे गुण छैन
जोसँग जुन योग्यता छैन
नजरीया छैन , नैतिकता छैन
उसैसँग हामी
वाहियात अपेक्षा गरिरहन्छौं