भिन्न जिन्दगी: भिन्न अनुभूति – बलराम तिमल्सिना

कसैलाई युगौंदेखि
तावामा हालिएको माछाझैं भैरहेछ
यही सगरमाथाको देशमा
कसैलाई युगौंदेखि
घेरामा पारिएको घाइते अभिमन्युझै भैरहेछ
यही गौतम वुध्दको देशमा
कसैलाई युगौंदेखि
सौताने आमाको भान्साझैं भैरहेछ
यही सीता र भृकुटीको देशमा
कसैलाई युगौंदेखि
वैरीको हिरासतमा रहेको
युध्द हारेको सिपाहीझैं भैरहेछ
यही वलभद्र र अमरसिंहको देशमा
कसैलाई युगौंदेखि
शरणार्थी शिविरको बासझैं भैरहेछ
यही पृथ्वी नारायणले आर्जेको देशमा !
तिमी कालु पाण्डेको गीत गाऊ भन्छौ
ऊ आफ्ना पुर्खाको नाक संझेर भावुक बन्छ
तिमी सगरमाथाको निवन्ध लेख भन्छौ
ऊ हिउँले खाएका आफ्ना औंला हेर्न थाल्छ
तिमी गौतम वुध्दको कथा सुनाउन थाल्छौ
ऊ आफू मौन हुँदाको हानीवारे सोच्न थाल्छ
तिमी जे जे गर भन्छौ-ऊ गर्दैन
गरे पनि मन नलागी नलागी गर्छ
तिमी उसको देशभक्तिमाथि शङ्का गर्छौ
ऊ भित्र भित्रै रुन थाल्छ !
उसलाई लाग्छ-
तिमीले सुनाएका कथाहरू
पुरै मेटिदिऊँ र
फेरि लेख्न सुरु गरौं कथा
उसले कुरा भुइँ खसान नपाई
तिमी रिसले मुर्मुरिन्छौ
ऊ फेरि भित्र भित्रै रुन थाल्छ !
जब कोही भाका हालेर गुन्गुनाएको हुन्छ-
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”
उसलाई यो कुरा
घाऊमा चूक दलिदिएझैं लाग्छ !
उसले भोगिरहेको जिन्दगी
र उसको दुखिरहेको छात्ती
आजसम्म कसैले बुझेन
मात्र उसलाई रटाइरहे-
जननी जन्मभूमिश्च….
जुन कुरा उसले कैले कण्ठस्थ गरेन
र कण्ठ नगरेको अभियोगमा
गृह कार्य बिगारेको विद्यार्थीलाईझैं
हरेक दिन उसलाई मुर्गा बनाइयो ।
जव ऊ निराश हुन्छ
तब सोच्न थाल्छ
भागेर जाऊँ धरतीको कुनै कुनामा
जहाँ कुनै देश नहोस
र जहाँ घोक्नु नपरोस
जननी जन्मभूमिश्च
उसले सोचिरहेको कुरा
तिमीले थाहा पाउला भनेर
ऊ बेस्सरी डराउँछ
र फेरि भित्र भित्रै रुन थाल्छ !
आज सम्म त केवल रोइरहेछ
र उसको रुवाईको संगीतमा
तिमी गाइरहेछौ-
जननी जन्मभूमिश्च
कुनै दिन
ऊ रिसायो भने बेस्सरी
त्यो बेला तिमीले कुन गीत गाउला ?