भानु जयन्ती मनाइँदै

काठमाडौं , २९ असार । आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले अर्ती उपदेश दिएपछि रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको बताइन्छ । उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।