मिता हजुर राजधानी आउनोस

डियर मिता
धेरै भयो भेट नभएको
हजुर त्यो बाटो हिडेपछि
कुनै चोकमा पनि भेट भएन
म आऊँ भने ठेगाना थाहा छैन
म त राजधानीमै पर्खिरहेछु
न्यास्रो लागिसक्यो धेरै
मिता हजुर राजधानी आउनुस !
लड्नु पर्ने अनगिन्ति मोर्चा छन् एतै
मिल्नु पर्ने पनि थुप्रै साथी छन्
अलमलमा पनि थुप्रै साथी छन्
थुप्रै छन् हजुरसँग हिड्न चाँहने
सङ्घर्षको अलिकति पाटो बदल्नुस
हिड्ने अलिकति बाटो बदल्नुस
तातो जोगाएर आउनोस
रातो जोगाएर आउनोस
मिता हजुर राजधानी आउनोस !
जसलाई जुत्ताका माला
लगाउदै हुनुहुन्छ तपाई
तिनका मालिक पनि एतै छन्
सँगै लगाइदिउँला जुत्ताका माला
जसलाई मसो दल्दै हुनुहुन्छ तपाई
ती भन्दा खराब झन् एतै छन्
सँगै दलौंला मसो मुखमा
कब्जा गर्नु पर्ने अड्डा एतै छन्
जलाउँनु पर्ने ढड्डा एतै छन्
एतै छन् यो देशका एक नम्वरी ठगहरू
आउँनोस माता सहरमै छाउनोस
मिता हजुर राजधानी आउनोस !
ठोक्नु पर्ने पनि एतै छन्
बोक्नु पर्ने पनि एतै छन्
रोक्नु पर्ने झोक्नु पर्ने सबै एतै छन्
यो पटक
दस्तावेजमा राजनीतिका
केही थपौं केही झिकौं
पहिले लेनिनबाट बढी सिकौं
उत्तर साम्राज्यवादसँग हैन
उत्तर साम्रावाद त साम्राज्यवाद नै होइन
साम्राज्यवादसँगै पहिले लडौं
सहर समथर सकौं पहिले
अनि त्यसपछि पहाड चढौं
‘जङ्ग हो यो जङ्ग’
‘माछी र पानी’
‘उडाइलाने बस’
सबै गीतहरू एतै गाउनोस
मिता हजुर राजधानी आउनोस !
टाउकैमा टेकौं र टाउकैमा हानौं
आधार इलाका सहरलाई ठानौं
सँगै जुलुस गरौंला
सँगै जेल जाउँला
गोली खानु परे पनि सँगै खाउँला
मुक्तिका गीत सँगै गाउँला
क्रान्तिको ध्वजा सँगै उठाउँला
भर्ती खोलौंला सेना जुटाउँला
नरम नरम छोडेर बैरीलाई
भीर पहरा हिड्न छोड्नुस
कृपया मिता, विप्लव मिता
लक्ष नछोड्नुस बाटो मोड्नुस
गोल चक्करबाट मुक्ति पाउनोस
मिता हजुर राजधानी आउनोस !