यो समय म कस्तो कविता लेखौं

मेरा आँखै अगाडि
खोसिरहेछ कोही
मजदूरको मुखबाट मुस्कान
र सोझ्याइरहेछ बन्दूक
प्रिय पाठक
यो विद्रुप क्रुर समयको डिलमा बसेर
म फूलको कविता लेखौं
म जूनको कविता लेखौं ?
या त कविताको दृश्यमा
वर्षामा रुझाएर कुनै युवतीलाई
अर्धपारदर्शी कपडाबाट देखिएका
उनका स्तनका गोलार्ध हेर्दै
कल्पना गर्दै/ उत्तेजित हुँदै
हुतुतु हुतुतु गरिरहेका
बोकोजस्तै अराजक बनेर
‘झरी, सुन्दरी र कवि’को कविता लेखौं ?
मेरा आँखै अगाडि
यो देशको शासक
यो देशलाई मायाँ गर्नेहरूको छात्तीमा
सोझ्याइरहेछ अमेरिकी बन्दूक
हात उठाउन नमानेको वदलामा
निर्घात कुटाई खाइरहेछन् भाइ-बैनीहरू
विश्वासमा बाढी पसेको यो समय
भरोसामा पैरो खसेको यो समय
आफ्नै भोटले हुर्केका गोमनहरूले
भोट हालेकै हातमा डसेको यो समय
आत्मीय पाठक गण
यो समय म कुन खाले कविता कोरौं ?
भर्खरै भेटिएको छ झाडीमा
मेरी अर्की बहिनीको निर्बस्त्र लास
यो देशको पुलिस
तयार गर्दैछ किर्ते मुचुल्का हतार हतार
विश्वस्त शूत्रहरूले भन्छन्-
मेरी बैनीको हत्यारा
शासकसँग म्यारिज खेलिरहेको छ
तातो कराहीमा शासनको
उम्लिरहेको तेलमा राष्ट्रवादको
हामीलाई फ्राइ गरिरहेछ राज्य
टेवुलमा ब्यग्र छ सरकार
गिलासमा हालेर विदेशी मदिरा
हामी पाकेपछि चियर्स सुरु गर्न
समयको यो रौरव कुण्डमा बसेर
मेरा पाठकहरू
भन्नुस म कुन रसको कविता लेखौं ?
श्रृङ्गार, भक्ति, शान्त या विभत्स ?
कैले कैले यस्तो लाग्छ
म कायर भएकोले कविता लेख्दै छु
शाहसी भैदिएको भए म
कि जेलमा हुनु पर्थ्यो
कि चिहानमा कि मैदानमा हुनु पर्थ्यो
मेरा इमान्दार पाठकहरू
भन्नोस मलाई
म कुन रङ्गको कविता लेखौं ?
सपनामा सहिदहरू आउँछन
र थुक्क पाजी कायर भनेर थुक्छन्
वेपत्ता योध्दाहरू आउँछन्
तँ कवितै लेखेर मर्ने हो भनेर सोध्छन्
गाँस खोसिएका/ बास खोसिएका
असंख्य मान्छेहरूको जुलुस आउँछ
र मलाई सोध्छ-
‘ओइ भाते संचै त छस ?’
यो विकराल मनोदशामा
पाठक मित्रहरू
तपाईहरू नै भन्नोस
म अव के गरौं ?
कविता लेखौं र चित्त बुझाऊँ
या जिलेटिन बोकौं र बुर्कुसी मारौं ?