मान्छेभित्र मान्छे

बलराम तिमल्सिना २०७७ भाद्र २ गते, मंगलवार

एउटै मान्छेभित्र हुने रैछन्
थरि थरि मान्छे
दुखको बेलाको मान्छे
सुखको बेलाको मान्छे
निराशाको / आशाको
अहङ्कारको/ उत्तेजनाको
पाखण्डको/ गद्दारीको
त्यागको/ लालचको/ वेइमानीको मान्छे !

तपाईले देखिरहेको मान्छे
मान्छेभित्रको कुन मान्छे हो भनेर
तपाई हैरान हुन सक्नु हुन्छ
जसरी म पनि हैरान हैरान छु !

केही समय अगाडि
त्यही मान्छे भाषण गर्दै हुन सक्छ
कुर्लिएर मञ्चमा
निख्खर देशभक्तिको,
समृध्दिको
या सुशासनको !

केही समय पछाडि
त्यही मान्छे
मोलतोल गरिरहेको हुन सक्छ
पराई मुलुकको प्रतिनिधिसँग
देशका साँप्रा, भुटन र ह्याकुलाको !

साँझपख त्यही मान्छे
निलो गल्लीमा छिरेर
भाउ सोध्दै हुन सक्छ
कुनै युवतीका ओठको
छात्तीको र जाङ्घको !

अर्को दिन बिहान
त्यही मान्छे भेटिन सक्छ
कुनै मन्दिर ,मस्जिद, चैत्य या चर्चमा
कट्टर धर्मधारीको भेषमा
अब तपाई कति हैरान हुनु होला ?

मान्छेको नाम, थर र वतन उही हुन्छ
मान्छेको हुलिया पनि त्यही हुन्छ
फरक फरक समयमा
फरक फरक परिवेशमा
ऊ भित्रबाट निस्कन्छन्
थरि थरिका मान्छेहरू !

तपाईले भेटेको मान्छे
कुन सक्कली हो
कुन नक्कली हो
तपाईलाई रिँगटा लाग्न सक्छ !

तपाई मान्छेभित्रको एउटा मान्छेसँग
गजवको सहमती गर्नु हुन्छ
उसैभित्रको अर्को मान्छेले
गजवले धोका दिन्छ
फेरि अर्को मान्छेले सहानुभूति राख्छ
अर्कोले मध्यस्थता गर्छ
एउटाले मिलापत्र गराउँछ
अर्कोले लड्न उकास्छ
तपाई विलख बन्धनमा पर्नु हुन्छ !

याद राख्नुस
तपाई र मभित्र पनि छन्
ती सवै थरि मान्छेहरू !

कुन मान्छेलाई कति वेला अघि सार्ने
कसलाई मौन राख्ने
र कसलाई चीर निद्रामा सुताउने हो
हामीले हिसाब गर्नु पर्ने हुन्छ !

मान्छेभित्र कति धेरै मान्छे
मान्छेभित्र कति खाले मान्छे
मान्छेभित्र मान्छे नै मान्छे !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार