सडक यात्रीको गीत

इतिहासको सुरुदेखि
ऐलेसम्म सडकमै छौं
जिन्दगीले जानेदेखि
आजसम्म सडकमै छौं
तिमी त के छौ सडकमा
हामी पो त सडकमा छौं !
माथि के–के पर्छ अनि
तिमी पनि आउने गर्छौ
जिन्दावाद र मूर्दावादका
नाराहरू लाउने गर्छौ
हामीसँग हिँड्नु पर्दा
भित्रभित्रै डराउँछौ
माथि फेरि के–के मिल्छ
रातारात हराउँछौ !
हिजोसम्म कालो सिसा
लगाएर गुड्थ्यौँ तिमी
सडकसँग डराएर
आकाशमा उड्थ्यौँ तिमी
भात भान्सा खोसियो कि
सडकमा फेरि आयौ
देश फेर्न आँट्या हो कि
एक्लो जीवन फेर्न चाह्यौ ?
ब्यवस्थामै संकट छ
तिमी भन्छौ मान्छे फेरौं
अर्को भन्छ ऐले पर्खौं
अदालतले क्यार्छ हेरौं
देखिसक्यो जगतले
दह्रा लुला खुट्टी तिम्रा
सुनिसक्यौं पटक पटक
बासी फाइँफुट्टी तिम्रा !
ए सडकका पाहुना हो
कहाँसम्म जान्छौ तिमी ?
तिम्ले भन्या प्रतिगमन
कैलेदेखि मान्छौ तिमी ?
हामीलाई त प्रतिगमन
हिजो पनि आज पनि
तिम्रा कुरा सुन्दाखेरि
लजाउँछ लाज पनि !