तिमीले सोच्नै पर्छ !

तिमी
सत्यको पक्षमा कडासँग बोल्न मात्र थाल
अदालतले पक्राऊ पुर्जी पठाउँछ
प्रहरी हतकडी लिएर आउँछ
र तिम्रो नाममा
जेलमा एउटा सिट थपिन्छ
त्यसपछि तिमीले सोच्नै पर्छ !
तिमी तिम्रो पसिनाको मोल
पूरै चाहियो भन मात्रै
उद्योग मालिकले गेटमा ताल्चा लगाउँछ
सिडियोले प्रहरी खटाउँछ
र उद्योगको सुरक्षा दिन्छ
त्यही प्रहरीले भन्न थाल्छ
भिडभाड नगर्नुस्
होहल्ला नगर्नुस्
माथिको आदेश छ
गोली पनि चल्न सक्छ
त्यसपछि
तिम्रो शान्तिपूर्ण संक्रमणबारे
तिमीले गहिरो गरी सोच्नै पर्छ ।
तिमीले
जुन घोषणा पत्र पढेर
जुन भाषण सुनेर
जुन झण्डा हेरेर
आजसम्म भोट हालेका छौ
र त्यसको ठीक विपरित भोगेका छौ
तिमीले औंला ठड्यायौ भने
घोषणा पत्रको ठगी
भाषणको ठगी
र झण्डाको ठगीको वारेमा
सरकारले तिमीलाई
आतङ्ककारी घोषणा गर्ने छ
टाउकाको मोल तोक्ने छ
र फर्जी मुठभेडको लागि
शिकारी खटाएर बस्ने छ
यो सबै थाहा पाइसकेर पनि
तिमीले थाहा पाएनौ भने शान्तिको सीमा
तिमीले बुझेनौ भने क्रान्तिको बाह्रखरी
तिमी शान्ति शान्ति भनिरहने छौ
र तिम्रो टाउकोमा निरन्तर
लाठी वर्षिरहने छ प्रहरीको ।
तिमी
सुरक्षाकर्मीको सुरक्षाको वारेमा
न्यायाधीशको न्यायको वारेमा
अख्तियारको अख्तियारीको वारेमा
नेताहरूको नैतिकताको वारेमा
वुद्धिजीविको बुछिको वारेमा
गुरुहरूको ज्ञानको वारेमा
कार्यकारी प्रमुखको भाषणको वारेमा
या ईश्वरको अस्तित्वको वारेमा
प्रश्न मात्रै उठाउन थाल
सत्ताले तुरुन्तै बनाउने छ
तिम्रो इन्काउन्टरको घोषणा
र कुनै दिन रेडियोले फुक्ने छ–
“प्रहरीसँगको भिडन्तमा
फलानो आतङ्ककारीको मृत्यु !“
यस्तो समाचार आउनुअघि
तिमीले सोच्न सक्ने छौ
तिमीले सोच्नै पर्छ
र पुनर्विचार गर्नै पर्छ
तिम्रो निरपेक्ष शान्तिको वारेमा !