ऊ अर्थात ढाँट बहादुर

कैले,
उसैको टाङ्मुनि छिरेर
उसैले हामीलार्ई सिध्याउने भयो भन्छ ।
कैले,
उसैलार्ई काँधमा बोकेर
उनीहरूबाट खतरा छ भन्छ
बन्दुक नै बन्दुकको घेराबाट कैलै
आत्तितै चिच्याउँछ–
‘ऊ..ऊ मलार्ई मार्न आउँदै छन !’
कैले,
रातो झण्डाले सिँगान पुच्छै भन्छ–
‘अरुले हामीलार्ई फुटाउँन खोज्दै छन’
कैले,
विचलनसँगै मन्द मन्द मस्किदै भन्छ–
‘कसैले हामीलार्ई विगार्न खोज्दै छन’
कैले,
महाजनको वैठक कोठामा बसेर
महाजनसँग तिघ्रा खप्ट्याएर भन्छ–
‘सत्य सत्य राम राम,
अव तपाईको हुँदो गर्ने पालो हो’
कैले,
मजदूरको आधा रोटी माग्दै भन्छ–
‘आहा ! इतिहासको याद आयो,
म त उहिलैदेखि तिम्रै हुँ नि !’
यता पनि ढाँट्छ, उता पनि ढाँट्छ
यता हात चाट्छ, उता जुत्ता चाट्छ
यता गैंडाको जिब्रोले चाट्छ
उता सक्कली जिब्रोले चाट्छ !
उसको लागि,
ढाँट्न कुनै दिवस आउँनु पर्दैन
सँधै ढाँट्ने दिवस
सँधै चाट्ने दिवस
ऊ अर्थात ढाँट बहादुर !