हाम्रो संवेदनालार्ई समवेदना

निकै अभिषप्त छ हाम्रो संवेदना
निर्देशित, निस्प्राण र निरर्थक छ
म त्यो दुखी संवेदनालार्ई
हार्दिक समवेदना प्रकट गर्न चाहन्छु !
हामीलार्ई मान्छे कम
र माटो बढी दुख्छ
हामीलार्ई यात्रा कम
बाटो बढी दुख्छ
हामीलार्ई रगत कम
र पानी बढी दुख्छ
हामीलाई हृदय कम
र हिमाल बढी दुख्छ
सायद हामी मान्छे कम
र ढुङ्गो–माटो पानी र हावा बढी हौं !
हामीलार्ई देश
बेस्सरी दुख्छ
र हतारमा निको हुन्छ
दुख्नको लागि व्युँझिन्छौं
र पञ्चवर्षीय निद्रा सुत्छौं
हामी राष्ट्रवादी बन्न व्युँझन्छौं
अनि गौरवको निद्रा सुत्छौं !
हामीलार्ई माटो पनि
पहाडको बढी र मधेशको कम दुख्छ
हामीलार्ई मान्छे पनि
गोरो बढी र कालो कम दुख्छ
हामीलार्ई माटो पनि
भूगोल हेरेर दुख्छ
हामीलार्ई मान्छे पनि
अनुहार हेरेर दुख्छ !
उहिलैदेखि हो
उसले सडक खनेको
हस्तिनापुर– सिंहदरवार
जुन सडकबाट ऊ
निर्वाध ओहोर–दोहोर गरिरहन्छ !
वासिङ्टन –सिंहदरवार
वेइजिङ–सिंहदरवार
कसले खनेको छैन सडक ?
कसले दौडाएको छैन
अभिमानको गाडी
हाम्रा छात्तीको बाटो भएर ?
तर हामीलार्ई
स्वभिमान कम दुख्छ !
सडकहरू
स्थल मार्ग
हवाई मार्ग
र तरङ्ग मार्ग भएर बनिरहेछन्
निर्वाध छिरिरहेछन् ती
हाम्रा भान्सा र ओछ्यानसम्म
जहाँबाट छिरेर तिनले हामीलार्ई
आफ्ना सांस्कृतिक नागरिक बनाइरहेछन् !
हामीलार्ई
उतैको धर्म मन पर्छ
उतैका धाम मन पर्छ
उतैका कृष्ण र राम मन पर्छ
नून तेल साइकल रेल
सबै उतैको मन पर्छ
सरफमा एरिएलदेखि
मनोरञ्जनमा सिरियलसम्म
सबै उतैको मन पर्छ !
हामीलार्ई हाम्रा युवाले
उसैको वर्दी लगाएर
उसैको बन्दूक बोकेर
उसको दुश्मनलार्ई आफ्नो दुश्मन मान्दै
गोली ठोकेको मन पर्छ !
हामीलार्ई हाम्रा युवालार्ई उसले
उसको सरहदको सुरक्षामा
आफ्नालार्ईभन्दा बढी पत्याएको मन पर्छ !
सायद हामी
हेपिन लायक छौं र हेपिएका छौं !
हाम्रो नक्कली राष्ट्रवाद
वुख्याँचा राष्ट्रवाद हो !
हामी लेण्डुपहरूको सरकार चुन्छौं
र उसलार्ई भिमसेन थापा बन्न भन्छौं
हामी लुसुलुस लैनचौर छिर्छौं
छात्रवृत्तिको लागि गिडगिडाउँछौं
र ‘रातो र चन्द्र सूर्य’ गाउँदै हिड्छौं
सायद हाम्रो रगतमा पनि
वर्षौंको आहार बिहारले
गण्डकी कम बग्छ
गङ्गा बढी बग्छ
हामी दाम्लाले वाँधिन
र घाँस हालिन लायक नालायकहरू हौं
हाम्रो संवेदनालार्ई समवेदना छ !
यस्तो लाग्छ –
सायद हामी
हाम्रो सुझबुझ र वीरताले कम
कागतालीले जोगिएका छौं
सायद हामी उसको लागि
‘बाहरवाली’ बन्न जोगिएका छौं !
आफैँंभित्र टुक्रिएर
आफैँंभित्र खिइएर
आफैँंभित्र खुइलिएर
सायद हाम्रो राष्ट्रवादले
उहिलै आत्महत्या गरिसक्यो !
सायद हामी
मृत राष्ट्रवादको लास बोकेर
चितातिर हिँडिरहेछौं !
सायद हामीलार्ई
यथार्थ कम र भ्रम बढी मन पर्छ
हामीलार्ई केवल हल्ला मन पर्छ !
आफ्नै संवेदनाको मृत्युको
यो दुखद् क्षणमा
समवेदना प्रकट गर्नु र रुनु
रुनु र हलुका हुनु
हलुका हुनु र सोच्न थाल्नु
यही नै सही कर्तव्य हो !
आउनोस खलपत्रे राष्ट्रवादीहरू
हाम्रो संवेदना–मृत्युले आहत बनेको
यो कहाली लाग्दो घडीमा
आफैँंले आफैँंप्रति समवेदना प्रकट गरौं !