एक पटक फेरि बन्दुककै कुरा !

तिमी भन्छौ–
बन्दुकले देश बन्दैन
तिमी भन्छौ–
बन्दुकले मन बदलिदैन
बन्दुकले मान्छे बदलिदैन
बन्दुकले समाज बदलिदैन
एक छिनको लागि
ठिक छ तिम्रो कुरा मानिदिउँला
लौ मलाई एउटै उदाहरण देऊ न त
बन्दुकको सहारा नलिई
संसारमा कुन एउटा देश बन्यो ?
बन्दुकको मद्दत नलिई
कुन देश एक मिनेट टिक्यो ?
बन्दुकको सहगोग नलिई
कुन आततायी सत्ता ढल्यो ?
बन्दुक नपड्काई
कुन इतिहासमा क्रान्ति भयो ?
आजको शक्तिसाली अमेरिका
कुन पूmलको खेती गरेर बनेको हो ?
आजको विशाल भारत
कुन मन्त्रको जादूले जन्मेको हो ?
हाम्रै एक थान फुच्चे देश
कुन गीत गाएर जितौरी आएको हो ?
मलाई बन्दुक विना टिकेको
कुनै एउटा सत्ता त देखाइदेऊ !
चोरले चोरको मन त जित्ला
सज्जनले सज्जनको पनि मन जित्ला
भोकाले भोकाको मनको भाषा बुझ्छ
नाङ्गाले नाङ्गाको ढुकढुकी छाम्न सक्छ
मनको भाषा बुझ्नेले त मन बदल्न सक्ला
जसलाई अर्कोको मनको भाषा नै आउँदैन
उसले अर्कोलाई कसरी बदल्छ होला ?
हजारौं बन्दुकहरूको घेरामा
बुलेटप्रुफ गाडीमा चढेर
तिमी भन्छौ–
बन्दुकका कुरा नगर
बिद्रोहका कुरा नगर
प्रेम र सद्भावले मान्छे बदल्ने कुरा गर
यो त अति भएन र महाशय ?
मलाई पनि रहर छ
यो धरतीलाई बन्दुक विहिन बनाऊँ
हामीले सास फेर्ने हावामा
बारुदको धुवाँ नमिसाऊँ
मृत्युको खेती नगरौं
कसैको हत्यामा उत्सव नमनाऊँ
ए बन्दुकको बिरोध गर्ने महाशय
तिमी साँच्चै इमान्दार छौ भने
आऊ संसारबाट बन्दुक हटाउने घोषणा गरौं !
मलाई पनि थाहा छ
बन्दुक साधन मात्र हो
बन्दुक मान्छेले चलाउँछ
मान्छे विचारले चलाउँछ
तर
खास विचार बोकेको मान्छेले
जब बोक्छ बन्दुक
त्यसपछि त्यो
आफैँ एउटा विचार बन्न पुग्छ !