मेरो एउटा साथी छ

बलराम तिमल्सिना २०७८ पुष ४ गते, आईतवार


यो तस्करहरू हिड्ने बाटो हो भन्छ
तस्करहरू असती प्राणी हुन पनि भन्छ
तस्करहरूलाई प्रेम गर्न सकिन्न पनि भन्छ
यो बाटो हिडेपछि
असल मान्छे पनि तस्कर बन्छन् भन्छ
तर लुखुर लुखुर त्यही बाटो हिडिरहन्छ !
यिनीहरूले मार्क्सवाद पोलेर खाए भन्छ
यिनीहरूले देश पनि बेच्न सक्छन् भन्छ
यिनीहरू कम्युनिष्ट त हुदैहोइनन्
सामान्य वामपन्थी पनि होइनन् भन्छ
मलाई एता यसो भन्छ
र,तुरुन्तै अघि गाली गरेको बाटो हिड्दै
तिनै गाली गरेका मान्छेहरू भेट्न पुग्छ
उनीहरूसँग कानेखुसी गर्छ
र, पेट मिचिमिची हाँस्न थाल्छ !
मलाई ऊ
मार्क्सको वल प्रयोगको अपरिहार्यता
लेनिनको सङ्गठनात्मक सिध्दान्त
र माओको सर्वहारा सांस्कृतिक क्रान्ति सिकाउँछ
जीवनमा भने ऊ
ख्रुश्चेभी शान्तिपूर्ण संक्रमण
व्लाँकीको अराजकता
र लिउ साओ चीको
विरालो कालो भए पनि सेतो भए पनि
विरालोको काम मुसा मार्नु हो भन्ने
महाजनमुखी कुराको पछि लाग्छ !
मलाई ऊ
चेग्वेभाराको उदात्तता
स्टालिनको लौह-ब्यक्तित्व
होचिमिन्हको सादगी जीवन
एङ्गेल्सको आदर्श मित्रता
जेनीको क्रान्ति-निष्ठा
र रोजा लक्जम्वर्गको आलोचनात्मकता पढाउँछ
दैनिक जीवनमा भने ऊ
एलेन मस्कलाई आदर्श मान्छ !
मेरो साथी
हरेक दिन मलाई घच्घच्याउँछ
र उत्तम विकल्प सोचौं भन्छ
कैयन गुप्ती भेलाहरूमा पुगेर
विकल्प खोजेको कुरा पनि गर्छ
‘विकल्प खोज्नुको विकल्प छैन’
हरेक दिन ऊ मलाई यसो भन्छ
तर अर्को दिन बिहान ऊ
पुरानौ बाटो हिडिरहेको हुन्छ
र मलाई भन्छ-
‘उभिनुभन्दा हिड्नु सही हो,
गन्तव्यको चिन्ता गरेर के साध्य !’
मेरो एउटा साथी छ
त्यसो त ऊ तपाईको झनै जिग्री होला
ऊ दु:स्वप्नझैं वेला वेला आइरहन्छ
र मलाई निद्राबाट ब्युँझाइरहन्छ !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार