जनयुद्ध र सांस्कृतिक पतनको प्रक्रिया

शोभा दुलाल २०७९ श्रावण २ गते, सोमबार

सङ्कटकाल लगाएपछि विशेषगरी सहरी क्षेत्रमा सर्च गर्ने, गिरफ्तार गर्ने कार्यलार्ई सरकारले तीव्र पा¥यो । दमन बढाएर लगिसकेपछि माथिल्लो स्तरका नेताहरू सहरको बसाइ अन्त्य गर्दै ग्रामीण क्षेत्र अझ आधारइलाकातिर सरक्क सरे । त्यसमा पनि भेला, बैठक, भेटघाट सबैका लागि आधार क्षेत्रमा गएर गर्ने अनि योजना कार्यान्वयन सहरमा गर्ने हुन थाल्यो । काठमाडौँँ उपत्यका केन्द्रीय राज्यसत्ताको मुख्यालय भएकाले त्यस ठाउँमा विद्रोही गतिविधिले थोरै मात्र गति लिँदा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय महŒव हुने भयो । फौजी कार्य भयो कि त्यसको तरङ्ग साम्राज्यवादीहरूको मुख्यालयसम्म थर्कने स्थिति थियो । त्यो महŒवलार्ई प्रतिक्रियावादी राज्यसत्ताले जति छर्लङ्ग अरू कसले बुझ्न सक्थ्यो र ! त्यसपछि रह्यो कुरा विद्रोही माओवादी पार्टीको, ऊ झन् बढी बुझ्ने भई नै हाल्यो । त्यसैअनुरूप एकले अर्कोलार्ई निषेध गरेर आफ्नो प्रभाव जमाउने प्रतिस्पर्धामा पुरानो राज्यसत्ताका ठेकेदार, पहरेदारहरू आफ्नो मात्र शक्तिले नपुगेर विस्तारवादी, साम्राज्यवादीहरूसँग भिख मागेर भए पनि प्रतिक्रियावादी सत्ताको चुरीफुरी देखाउनैपर्ने बाध्यता थियो । उता माओवादी पार्टीलार्ई पनि मुख्य केन्द्रलार्ई छोडेर वरिपरि जति नै कब्जा गरे पनि त्यसको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव भने त्यति ठूलो पर्ने थिएन । त्यसैले जसरी पनि आफ्नो दह्रो उपस्थिति र प्रभावकारी कारबाहीहरू अब उपत्यका क्षेत्रमै गर्नुपर्ने बाध्यता थियो । तर राज्यले दमनलार्ई चारैतिर तीव्र बनाएको थियो । घरधनीहरूलार्ई कोठामा बस्नेहरूको नागरिकता, फोटोसहित फारामै भरेर वडा प्रहरी कार्यालयहरूमा बुझाउनुपर्ने बाध्यात्मक उर्दी नै जारी गरिएको थियो । मुख्य क्षेत्रीय, केन्द्रीय सदस्यहरूका नाममा त ‘टाउको झोलामा, पैसा बोरामा’ भनिएथ्यो । फोटो, नाम, छोपुवा नाम, हुलियासहित रेडियो, टेलिभिजनमा समेत यसलार्ई भेटेमा प्रशासनमा बुझाउनुहोला अथवा गोप्य रूपमा सूचना दिनुहोला । यसरी सूचना दिनेलार्ई इनाम, यति लाख उति लाख दिइनेछ भन्दै सूचना जारी गरिएकाले नाम–थर लुकाएर, परिचय नदिईकन भाडामा बस्न पाइने अवस्था पनि थिएन । त्यसैले कतिपय नेता–कार्यकर्तालार्ई ग्रामीण इलाकातिरैको जिम्मेवारीमा सरुवा गरियो । उनीहरू त्यहीँको जिम्मेवारी बहन गर्न थाले । अरू जो बाँकी क्रियाशील कार्यकर्ता थिए । जो कुनै पेसामा आबद्ध भएर आंशिक पार्टीको काम गर्थे, उनीहरूलार्ई पनि अब घरमा बसेर आफ्नो पेसा, व्यवसाय समालेर पार्टीको काम गर्नसक्ने स्थिति अन्त्य भयो । उनीहरू त्यसरी बसेमा प्रशासनले कुनै पनि बेला गिरफ्तार गर्नसक्ने र मुद्दा लगाउनसक्ने भयो । जो त्यसरी घरमै बसे, उनीहरूलार्ई गिरफ्तार गरेर जेल हाल्न थालेपछि बर्सौंदेखि फुर्सदमा मात्र राजनीति गर्ने, अरू समयमा आफ्नो घरपरिवार, पेसा, व्यवसाय समालेर बसेका कार्यकर्ताहरू अब प्रशासनको दबाबले घर छोडेर पूरै समय पार्टी कार्यकर्ता भएर हिँड्न थाले । त्यसैले कार्यकर्ता दिन दुगुनाका दरले बढेका थिए । अनि नेताका परिवारलार्ई पनि त्यही कुरा लागू भयो । नेताहरू जसले आफ्नी श्रीमतीलार्ई घर चलाउन लगाएर आपूm नेतृत्व गरी हिँडेका थिए, उनीहरू अब आफ्नो आवश्यकताअनुसार घरमा जान नपाउने भए किनभने कार्यक्षेत्रमा कति मेहनत गर्दा नभेटिएका नेता उनीहरूको घरमा ढुकेर बसेपछि सजिलै उसलार्ई गिरफ्तार गर्न सक्थे । उस्तै परे दोहोरो भिडन्तको बहाना बनाएर मारिदिन सक्थे । त्यसैले उनीहरूको दोहोरो जिन्दगीको बिस्तारै अन्त्य हुँदै थियो । यसले नेता–कार्यकर्तामा एउटै बाटो, एउटै उद्देश्य अनि एउटै डुङ्गामा दुईटा खुट्टा हुन्थ्यो नत्र दुईटा डुङ्गामा एक–एक खुट्टाजस्तो स्थितिमा नेताहरू पार्टी चलाईरहेका थिए ।

सङ्कटकाल लगाएपछि विद्यार्थी, महिलालगायत सम्पूर्ण जनवर्गीय सङ्गठनका भेला, सम्मेलन, बैठक सबैलार्ई प्रतिबन्ध लगाएयो । त्यसपछि कि प्रशासनमा आत्मसमर्पण गरी सम्पूर्ण राजनीति त्यागेर घर बस्नुपर्ने कि भने सम्पूर्ण रूपमा प्रतिबद्ध भएर पार्टी काममा जहाँ पार्टीले खटाउँछ त्यहीँ गएर गर्नुपर्ने स्थिति आयो । यो स्थितिमा आफ्नो–आफ्नो सोचाइ, बुझाइ र जिम्मेवारीबोधअनुसार कार्यकर्ताले निर्णय गरे । कतिपय नेतृत्वमै भएकाले पनि आत्मसमर्पण गरेर बसे भने कतिपय नयाँ भर्खर सम्पर्कमा आएकाहरू पूरै समय पार्टीको कार्यकर्ता भएर काम गर्न थाले । पार्टीको घनीभूत उपस्थिति भएको ग्रामीण इलाका थियो । त्यहाँ पुराना कार्यकर्ता कम थिए । तिनीहरू जनयुद्ध घनीभूत हुँदै जाने क्रममा लामबद्ध हुँदै आएकाहरू नै महŒवपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका थिए । तिनीहरूले तत्कालीन कार्य, स्वार्थ, कामको विषयलार्ई बुझेका थिए । तर दीर्घकालीन पार्टीको उद्देश्यदेखि पार्टीको सिद्धान्त पनि उही प्रशिक्षणमा सुनेर जति घोकेका छन्् त्यति मात्र बुझेका हुन्थे । त्यसैले होला सहरी क्षेत्रबाट आएका नेतालार्ई त होइन, कार्यकर्तालार्ई भने यी सहरी क्षेत्रमा मरिन्छ भनेर भागेर आएका त हुन् भन्ने खालको बुझाइ हुने गथ्र्यो जब कि पार्टीको आदेशबिना कुनै पनि कार्यकर्ता एक ठाउँबाट अर्को ठाउँमा जाने अनुमति थिएन । त्यसो गरियो भने खतराले पर्खिएको हुन्थ्यो । पार्टीले त्यो घटनाको जिम्मेवारी लिने पनि थिएन । यस्तो स्थितिमा उनीहरू कसरी, के आधारमा व्यक्ति आफैँ आफ्नो इच्छाले त्यो इलाकामा पुगेको जस्तो गरेर आरोप लगाउँथे । एकातिर उनीहरूप्रति घृणा हुन्थ्यो भने अर्कोतिर उनीहरूको लघुसोचाइप्रति दया लागेर आउँथ्यो । त्यतिखेर उपत्यका क्षेत्रमा प्रशासनिक दमन कति धेरै बढ्यो भने साङ्गठनिक काम प्रायः गर्नै नसकिने जस्तो भयो । त्यसपछि पार्टीले छुट्टै टोली बनायो जसलार्ई विशेष कार्यदल (एस.टी.एफ.) भनिन्थ्यो । उनीहरू आवश्यकीय प्रशिक्षण, आदेश, योजना लिनका लागि उही रिङ क्षेत्रमा जाने, लिएर फर्कने र काम गर्न थाल्थे । उपत्यका कार्यदलमा काम गर्नेहरू अति प्रतिबद्ध, कुशल, छिटोछरितो अनि आफैँ निर्णय गर्नसक्ने, अझ कतिपय योजनाहरू बनाएर निर्णय गराउन पनि सक्ने शक्तिशाली टोली उपत्यकामा परिचालन गरिएको थियो । त्यो टोलीले गरेका हरेक कारबाहीहरू सफल भएका थिए र त्यसले प्रतिक्रियावादी सत्तालार्ई एकपछि अर्को जोडदार धक्का दिँदै गइरहेको थियो । त्यसै क्रममा एकजना टोलीको मान्छे उनीहरूको कब्जामा परेछ र त्यसलार्ई उनीहरूले आफ्नो कब्जामा लिएको कुरा सार्वजनिक नगरीकन विभिन्न प्रलोभन देखाएर आफ्नो पक्षमा काम गराउन थालेछन्् । ऊ एक दिन, दुई दिन बिराएर ‘रिङ’ क्षेत्रमा भएका नेतृत्वसँग सम्पर्क गर्ने अनि यता अरू त ठीकै छ तर तपाईंहरूलार्ई अझै खतरा हुनसक्छ । अहिल्यै नआउनुहोला भन्ने गरिरह्यो । त्यतिबेला जति नेता उपत्यका आए, सबैलार्ई प्रशासनले बल्छीमा आएको माछालार्ई जसरी एकपछि अर्कोलार्ई गिरफ्तार ग¥यो । त्यो कुरा थाहा पाउन पार्टीलार्ई ठूलो मूल्य चुकाउनुप¥यो ।

उपत्यकामा कार्यरत टोली उपत्यका पस्ने योजनासहित मकवानपुरको एउटा गाउँ जुन बागमतीकिनारमा अवस्थित छ (जहाँ माझीहरूको बसोबास छ, जसलार्ई बगेरी भनिन्छ) त्यो गाउँमा भेला थियो । सबैको राय–विचार लिने साथै माथिको योजना दिने पनि भयो । त्यही बैठकमा हो ठूलो जिम्मेवारी हुनेहरूलार्ई यसरी प्रशंसा गरियो कि ऊ त कुनै दन्त्यकथाको अलौकिक चमत्कारी पात्र नै हो र उसले चाहेमा गर्न नसक्ने कुनै काम यो संसारमा छैन । अरूहरू भनेकाचाहिँ झिनामसिना हुन्, तिनीहरू हुँदा राम्रै हुन्छ । नहुँदा पनि खासै ठूलो फरक केही पर्दैन भन्नेजस्तो आशयले उद्घोषण भयो । मेरो बोल्ने पालो आयो, मैले बोल्ने बेला जसरी अरू ठूलो पद हुनेलार्ई ठूलै खालको सम्मानजनक पदसहितको उच्चारणसहित सम्बोधन गरिरहेका थिए, मैले एक मुठ्ठीमा धेरै ठूला ठूला, मझौला अनि साना कमरेडहरूलार्ई एकसाथ सलाम भनेँ । त्यसपछि सबैजना विशेषतः नेता–बुद्धिजीवीहरूले गललल्ल हाँसेर उडाए । कम्युनिस्ट पार्टीमा ठूलो–सानो जिम्मेवारीमा मात्र हुन्छ तर चाकरी, चाप्लुसी, पदको घमण्ड, अनुभववादजस्ता चीजहरूबाट कम्युनिस्टहरू बाह्र हात पर बस्नुपर्छ भन्ने कुरा सिकेर आएकी मलार्ई त्यस्तो नेता–कार्यकर्ताकै बीचमा देखिएको विभेद पटक्कै पचेन । उनीहरूले भने त्यो कुरालार्ई एउटा रमाइलो चुट्किलाका रूपमा लिए । त्यही कुरा बढ्दै गएर पछिपछि नेतृत्व पूरै नोकरशाही हुँदै गयो । वर्गविभेद उत्पादन गर्ने कारखानाजस्तो पार्टी हुन थाल्यो । जो तल्लो स्तरको पदमा काम गथ्र्यो, उसको मूल्य कम हो जसरी बुझ्ने आमचलन नै पार्टी परिधिभित्रको पनि चलन बन्दै गयो । जुन पार्टी, क्रान्ति र जनता सबैको हितविपरीत थियोे । सबै कुरा मिलाएर लान सक्ने परिस्थिति त थिएन तर त्यस्तो कुरा बुझाउन नेताहरूले आवश्यक ठानेनन् । कतिपय अवस्थामा नेताहरू पनि त्यही खालको चिन्तनबाट ग्रस्त थिए जसले गर्दा व्यावहारिक कुराहरूलार्ई वास्तै गर्दैनथे वा त्यसबाट भाग्थे । त्यो उनै जानून् । एक त राजनीति त्यहीँमाथि कम्युनिस्ट राजनीति गर्नेहरू न परे । जुनसुकै कुरामा केही न केही ज्ञान हुने नै भयो । त्यसमाथि जहाँ, जतिखेर पनि दुई–तीनजना भेट भयो कि कुनै न कुनै विषयमा छलफल भई नै रहने गथ्र्यो । त्यति भए पनि कालोलार्ई सेतो र सेतोलार्ई कालो बनाउन सक्ने तर्क गरिहाल्थे । उसो त आफ्ना कमीकमजोरीहरूलार्ई सच्याउँदै फेरि नदोहो¥याउने प्रतिबद्धता जाहेर गर्दै आलोचना–आत्मालोचना गर्नुपर्ने कम्युनिस्ट नीति हुन्छ । त्यसलार्ई सबैले अनुसरण गर्नुपर्छ । तर त्यो सिद्धान्तमै सीमित राखेर जनयुद्ध हाँकिरहेको पार्टी अगाडि बढ्दै थियो ।

व्यवहार सच्याउनुपर्ने कुरा आउनासाथ एउटा–एउटा तर्क दिएर त्यसलार्ई पन्छाउने कुरा मात्र हुने गरेका थिए । जस्तो नेतृत्वले सुधार्नुपर्ने, बैठकको समापनपछि आलोचना र आत्मालोचना अनिवार्य गर्नुपर्ने ती कुरा व्यवहारमा छुटिरहेको थियो । माथिल्लो स्तरका नेताहरूले सहयोगी राख्ने, सहयोगीलार्ई पुँजीवादी, सामन्तवादीहरूले नोकर सम्झेजस्तो वा भनौँ नोकरलार्ई गर्नेजस्तै व्यवहार गर्थे । आफ्ना नितान्त व्यक्तिगत कामहरू पनि उनीहरूलार्ई गर्न लगाउने गर्थे । ‘स्टाफ’ नामधारी कार्यकर्तालार्ई लुगा धुन, आपूmले खाएका भाँडा माझ्न, शरीर मालिस गर्न लगाउँथे । कतिपय नेतृहरूले त भित्री लुगासम्म धुन लगाउने गर्थे । त्यस्तो देख्दा दिक्क लाग्थ्यो । कम्युनिस्ट पार्टीभित्र ठालुवाद हुर्किंदै थियो । माओवादीविरुद्ध जनता र नेताविरुद्ध कार्यकर्ताले आलोचना गर्न सक्ने भौतिक वातावरण थिएन । भन्न त ‘प्रतिक्रान्ति रोक्न जनताकोे हस्तक्षेपकारी भूमिकालार्ई सुनिश्चित गर्ने’ भनिएको थियो । समाजमा प्रतिक्रान्तिकारी प्रवृत्ति रहेको हुन्छ । त्यसलार्ई रूपान्तरण गर्नुपर्नेमा जनयुद्धको पछिल्लो अवधिमा नेताहरू नै पुरानै संस्कार, आचरण, व्यवहार र स्वार्थमा ढल्किँदै जान थाले । नेताहरूले समाज रूपान्तरण गर्नुपर्नेमा पुरानो समाजले नेतालार्ई ढाल्दै लग्यो र त्यो शैली तलसम्म झ¥यो । त्यो प्रक्रिया भैँसीपूजासम्म झ¥यो । यस्ता व्यवहारको विरोध गर्नेहरूलार्ई वर्गीय दुस्मनजस्तो मौका मिलेमा कारबाही गर्न पछि नपर्ने कम्युनिस्ट पार्टीका नेता बन्न उत्सुक हुने, खुसी हुने तर कम्युनिस्ट पार्टीका सदस्यले अपनाउनुपर्ने मूल्य–मान्यता भने अनुसरण नगर्ने यस्ता थुप्रै व्यवहारहरू त्यतिखेर देखिन्थे । अवसर पाउँदा विरोध गरियो, नपाउँदा त्यसलार्ई सहेर हिँडियो । श्रमिक जनताको माओवादी पार्टीप्रति अपार विश्वास थियो । उनीहरू माओवादी भनेपछि असाध्यै माया गर्थे । साँच्चै भन्ने हो भने उनीहरू आफ्नो गाँस काटेरै भए पनि माओवादीलार्ई खाना खुवाउँथे । बास दिन्थे । तर गाउँमा जो टाठाबाठा शोषक, सामन्त थिए, तिनका नजिकका चम्चाहरू थिए । उनीहरूसँग स्रोत, साधन पर्याप्त हुन्थ्यो । तर सकेसम्म खाना खुवाउन, बस्न दिन मान्दैनथे । अनेक बहाना बनाउँथे । कतिपय बेला त माओवादी आएको थाहा पाएपछि अन्न लुकाउने अनि छैन पनि भन्थे । नेतालार्ई भेटे भनेचाहिँ बाटोमा भेटे पनि मुखमा चिप्लो घस्दै बोलाउँथे । यस्ता कुराहरूमा माओवादी नेतृत्वहरूले गम्भीरतासाथ विचार नगरेजस्तो लाग्थ्यो । एकपटक हाम्रो समूह चालीसजना जतिको थियो । त्यसमा जिल्ला सेक्रेटरी, इन्चार्ज, क्षेत्रीय सदस्य र केन्द्रीय सदस्यसम्मका जिम्मेवार नेतृत्वहरू थिए । साना बच्चा बोकेका महिला बिरामीहरू पनि थिए । हामी पूर्वपञ्च जसले साना टोली हुँदा खाजा पनि खुवाउँदैनथे त्यो टोलीमा उच्च नेतृत्व भएको थाहा पाएर आफ्नै घरमा बस्न अनुरोध पनि गरे । ठिक्क बास बस्ने बेला पनि भइसकेकाले त्यहीँ बस्ने कुरा भयो । जब टोली उसको घरमा रोकियो नेतृत्व टोलीलार्ई मात्र उसले भित्र बोलाएर लग्यो । त्यही टोलीका एकजना नेतालार्ई मैले किन भित्र लग्यो त्यो फटाहाले ? भनेर सोधेँ । ती नेताले भने, ‘अलिकति दूध रहेछ, सबैलार्ई नपुग्ने । त्यसैले हामीलार्ई मात्र दिएको रे’ भने । मैले यी साधारण जनता मात्र थिए भने त हो पनि, यी त फटाहा, प्रतिक्रियावादी मान्छे हुन् अनि तपाईंहरूले खानुभयो ? भन्दा सबैलार्ई नपुग्ने भएर हो रे भनेका थिए । मैले ‘तपाईंहरूलार्ई उसले जाँचेको हो । तपाईंहरू आफ्ना कार्यकर्ताप्रति कति जिम्मेवार हुनुहुन्छ ? कति माया गर्नुहुन्छ ? अनि तपाईंहरूलार्ई राम्रो, मीठो चीजसँग साट्न सकिन्छ कि सकिँदैन ? भनेर’ भनेँ । ती नेता त झनक्क रिसाएर ‘यस्ता झिनामसिना कुरा गर्नुहुन्छ । नपुग्ने अवस्थामा केही कमरेडहरूले मात्र खानुभयो त यसलार्ई धेरै ठूलो बनाउन के आवश्यक ?’ भने ।

मैले भनँे, ‘उसले लिएको जाँचमा तपाईंहरूको नेतृत्व टोली नै अनुत्तीर्ण भयो ।’ ‘कसरी ?’ उनले भने । त्यसपछि मैले भनेँ, ‘यो टोलीमा साना बच्चाहरू पनि छन्् । बिरामीहरू छन्् । साठी वर्षभन्दा माथिका रोगी वृद्धहरू छन्् । यस्तो थोरै किम्ती चीज (दूध, जो त्यो इलाकामा हत्तपत्त कतै पाइँदैनथ्यो) उनीहरूलार्ई पहिलो प्राथमिकता दिन मन लागेन ?’ उनले ‘ह्या ! वाहियात कुरा गरेर के साध्य ?’ भन्दै कुरा गर्न चाहेनन् । यस्ता प्रवृत्तिहरू जुन इलाकामा पनि हुन्थ्यो । आफ्ना झोलाहरू बोकेर उकालो–ओरालो, रात–दिन, साँझ–बिहान हिँड्नुपर्ने, खानाको ठेगान नहुने, मीठो–मसिनो भनेजस्तो खाना खान नजुर्ने कुरा सबै माओवादीमा लागेर हिँडेकाहरूलार्ई लागू हुन्थ्यो । थकानका साथै शरीरले पोसिलो–रसिलो खाना माग्ने नै भयो । त्यसमा नेताहरूको टोलीले प्रायः जहाँ पुग्यो उहीँ कि भाले काटेर खाने, कि त्यस्तै शोषक–सामन्तको मेजमान खाने गर्थे । त्यसो गर्दा आफ्नो सिद्धान्त र नैतिकतामा असर परिरहेको कुरा उठ्दा त्यसको प्रतिवाद गर्ने वा त्यसको सीधै विरोध गर्ने गर्थे । त्यसो गर्नु भनेको सिद्धान्तअनुसार व्यवहार नगरेको र अझ कम्युनिस्टहरूले गर्नुपर्ने आचरण नगरेको समेत पुष्टि हुन्थ्यो । यस्ता कुरालार्ई सबै सदस्यले उठाउन सक्ने भएनन् । जसले सक्थ्यो ऊ पनि नेताको आँखाको कसिङ्गर पो भइने हो कि भनेर बोल्ने आँट गर्दैनथ्यो ।

युद्ध लडिरहेको पार्टीको नेता जो थियो उसको पार्टीभित्र–बाहिर जताततै दबदबा हुने नै भयो । मान्छेहरू सङ्घर्ष भन्नासाथ तर्सिन्छन््, जसरी राजनीतिदेखि तर्सिन्छन्् । सम्झन्छन्् साधारण मान्छेको पहुँचभन्दा त्यो परको कुरा हो । तर के बिनाराजनीति, बिनासङ्घर्ष यो दुनियाँमा कुनै पनि जीव जीवित रहने आशा गर्न सकिन्छ ? अझ मान्छे त झन् मान्छे भइहाल्यो । यो ब्रह्माण्डका सबै जीवहरूमध्ये पनि सर्वश्रेष्ठ जो कहलाएको छ । बाँच्न सङ्घर्ष गर्दैन भने ऊ जीवित रहन सक्दैन । रह्यो कुरा राजनीतिको । त्यो पनि उसले गरिरहेकै हुन्छ । त्यति हो उसले त्यो सचेत रूपमा गर्छ कि असचेत रूपले गर्छ भन्नेसम्मको मात्र फरक हो । असचेत रूपमा हुने राजनीतिलार्ई राजनीति नमाने त हो । फेरि नमान्दैमा त्यो राजनीति हुँदैन भन्ने हुन्छ र ! सचेत रूपमा राजनीति गर्नेहरू समाजमा थोरै मात्र हुन्छन्् । त्यसैले पनि होला समाजलार्ई अग्रगतितिरको यात्रामा छिटो–छिटो पाइला चाल्ने उनीहरू नै हुन्छन्् । यसरी राजनीति पनि किसिम–किसिमका हुन्छन्् । कोही पश्चगमनकारी, कोही अग्रगमनकारी, कोही बीचौले, कोही क्रान्तिकारी त्यो सबैमा आ–आफ्नो पृष्ठभूमि परिवार, समाज, अनुभव, सिकाइअनुसार उनीहरू बाँडिएका हुन्छन्् । जति नयाँ र क्रान्तिकारी राजनीतिमा लाग्यो त्यति धेरै अवसरसँगै चुनौती पनि साना भने हुँदैनन् । त्यसैले क्रान्तिकारी राजनीति गर्न आममान्छेहरूलार्ई त्यति धेरै रुचि हुँदैन ।

आमजनताको चेतना र अपेक्षा पनि अनौठो हुँदोरहेछ । उनीहरू सुधारवादी तरिकाद्वारा क्रान्तिकारी परिणाम खोज्दा रहेछन्् । शान्तिपूर्ण, वैधानिक र पश्चगामी तथा यथास्थितिवादी संविधानभित्र रहेर क्रान्तिकारी प्रणालीको खोजी हुन्छ । संशोधनवादले जनताको त्यही प्रवृत्तिलार्ई दुरुपयोग गरिरहन्छ । समाजवादको नारा दिइन्छ र दलाल, पुँजीवाद पस्किइन्छ । सामान्य समयमा क्रान्तिकारी सिद्धान्तलार्ई मान्नु, अनुसरण गर्नु र युद्धको समयमा क्रान्तिकारी बन्नुमा कति धेरै फरक हुन्छ ! त्यो अनुमान पुरानाभन्दा पुराना क्रान्तिकारीहरूले पनि गरेका हुँदैन रहेछन्् भन्ने कुरा माओवादी पार्टीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गर्दै नोकरशाही संसदीय व्यवस्थाको विरुद्धमा कारबाही गरेपछि जसरी घटना हुन थाले तब जतिसुकै सबै कुरा जान्दछु भनी घमण्ड गर्नेहरूले पनि आपूmबाट कति ससाना कुराहरू सिक्न छुटिरहेको रहेछ भन्ने प्रत्यक्ष अनुभव गर्दै नयाँनयाँ परिस्थितिहरूको सामना गर्दै अघि बढ्दै गर्नुप-यो ।

जनयुद्धको भट्टीमा सबै नेता, कार्यकर्ता, फटाहा, लुच्चा, जनता सबैको एकैसाथ क्रमशः हवन भइरहेको थियो । जो राम्रो थियो ऊ झन् राम्रो भएर निस्कन्थ्यो । जो अलिकति राम्रो अलिकति नराम्रो थियो, ऊ कि राम्रो भएर निस्कन्थ्यो कि नराम्रो । तर जो नराम्रो थियो ऊ त्यहीँ भष्म हुन्थ्यो । उसलार्ई निखारिने, तिखारिने कुनै अवसर प्राप्त हुँदैनथ्यो । पार्टीहितको अगाडि व्यक्तिहितको कुरा साह्रै गौण थियो तर व्यक्ति–व्यक्तिहरूको समूह नै पार्टी भएकाले व्यक्तिहित एकमुष्ठमा गएर फेरि पार्टीहितमै मिसिन्थ्यो । त्यसैले प्रत्येक सदस्यले आफ्नो स्वाभिमानसँगै पार्टीको स्वाभिमानको ख्याल नगरीकन आफ्नो मात्र हितका विषयमा सोच्नै सक्दैनथ्यो ।

प्रतिक्रियाहरु

[anycomment]