काठमाडौँ पस्दा दुश्मनको धरापमा

शोभा दुलाल २०७९ श्रावण ९ गते, सोमबार

दोस्रो वार्ता भङ्ग भएलगत्तै काठमाडौँ उपत्यकामा पुरानो राज्यसत्ताको दमनचक्र कसरी बढाइयो भने जस्तो असार–साउनमा खहरेमा बाढी आउँछ । उनीहरूले वार्ता अवधिभर विद्रोही पक्षका कार्यकर्ता र नेताहरूको पूरै सातपुस्ते खोजबिन गरेर दमनका लागि ठिक्क पारिरहेका रहेछन्् । वार्ता भङ्ग हुनासाथ दमन सुरु भयो । अझ वार्ताअगाडि जो जेल परेका थिए, उनीहरूलार्ई झन् धेरै निशाना बनाएको भेटियो । उपत्यकामा दमनको तीव्रता बढेपछि पार्टीको योजनामा काठमाडौँवरिपरिको जिल्लाको संरचना बन्यो । त्यसले भेटघाट, बैठक र योजना कार्यान्वयनमा सजिलो बनाएको थियो । यहाँका नेता–कार्यकर्तालार्ई डढेलोले खाएझैँ प्रतिक्रियावादी शासकहरूले एकपछि अर्को गर्दै डढाउन थालेपछि नयाँ योजना निर्माणका लागि उपत्यकाका जिम्मेवार टाउकाहरू सबैजसो ललितपुरको पहाडी क्षेत्र हुँदै पैदलै मकवानपुर पुगेका थिए । त्यहाँको साङ्गठनिक स्थिति अलि राम्रो र अलि सडक सञ्जालले नजोडिइसकेको भएर होला माओवादीलार्ई त्यो भूमि अलि सुरक्षित स्थल साबित भएको थियो । त्यहाँ पनि एउटै क्षेत्रमा धेरै दिन धेरैजना बसिरहन सक्ने स्थिति थिएन । आज एक गाउँ त अर्को दिन अर्को गाउँ । जोगी एकै गाउँ वा दुई दिन नघुमेजस्तो माओवादीको दिनचर्या हुन्थ्यो । त्यता गएको केही समयपछि योजनासहित उपत्यकामा फर्कने कुरा भयो । त्यही टोलीमा हामी पनि थियौँँ । उपत्यकाको जिम्मेवार टोली एकै ढिक्काजस्तो भएर मकवानपुर जिल्लाको बगेरीबाट हिँडियो । त्यसमा महिला–पुरुष दुवै थिए । कोही जनसेनाका थिए । कोही सङ्गठनका थिए । सबै जोस र जाँगर भने ओजपूर्ण थियो । अब उपत्यकामा काम गर्ने भनेको कुनै पनि बेला बलिदान हुने हो भन्ने मनोविज्ञान सबैमा व्याप्त थियो । केही आतङ्क, केही रोमाञ्चक अनि धेरै गर्व गर्दै हामी बगेरीबाट हिँडेका थियौँँ । त्यहाँबाट उकालो जङ्गल हुँदै बेतिनीको डाँडा उक्लेर फेरि ओर्लेर कहिले सगरमाथाको जस्तो उकालो कहिले ओरालो तर बाग्मतीको किनारै–किनार हामी हिँडिरहेका थियौँँ । कहीँ चौतारीहरूमा एकछिन् सुस्तायो । फेरि गन्तव्यको सम्झना आउनासाथ दुःखेका गोडाहरू तन्काउँदै झोला बोक्यो । हिँड्यो । यसरी हिँडिरह्यौँ । हिँडिरह्यौँ ।

टोलीमा तीन महिनादेखि मकवानपुरकै दुर्गम क्षेत्र मानिएको राङ्सिराङमा तीन महिना काम गरेर फर्केका विद्यार्थी नेता अब भूगोलमा सरुवा भएर काम गरेर फर्किएका साधुराम देवकोटा र कौशिल्या पोखरेल पनि हुनुहुन्थ्यो । कौशिल्या र मेरो भेट एउटा सहिद श्रद्धाञ्जली कार्यक्रममा भएको थियो । उनको जोश देख्दा लाग्थ्यो एउटा बाघ आफ्नो सिकारका लागि हतारिएको छ । जुन छिटोभन्दा छिटो सिकार गर्ने समय आओस् भन्ने कामना गरिरहेको भान हुन्थ्यो । ज्यान त उनको पातलो थियो । मान्छे धेरै अग्ली त हैनन् तर पातली भएकाले अग्ली लाग्थिन् । गोरी थिइन् । उनी र साधुरामले विवाह गरेको भर्खर–भर्खरै थियो । उपत्यकाबाट त्यस दुर्गम भेगमा साधुरामलार्ई पठाउँदा उनलार्ई पनि साथै पठाइएको थियो । अब उनीहरू दुवैलार्ई फेरि उपत्यकाकै महŒवपूर्ण जिम्मेवारीसहित त्यहाँबाट ल्याइएको थियो । हामी बाटोमा जहाँ–जहाँ सुस्ताउनका लागि यसो बस्थ्यौँ उहीँ बलिदान हुनका लागि तयार भएरै जानुपर्छ र दुश्मनका योजनाहरूलार्ई करौँतीले जसरी काट्नुपर्छ भन्ने हुन्थ्यो । टोलीमा १४ जना थियौँँ । सबैजनामा एउटा उल्लास थियो । गएर कतिखेर काम गर्ने, त्यसको परिणाम देखाउने भन्ने हतारो थियो । त्यसैले हाम्रा थकानहरू सबै हार मानेर कता–कता लुप्त भएका थिए । हामीले झोला बोकेका थियौँँ । सामान्य फेर्ने एकजोर कपडा, ब्रस, टुथपेस्ट, काइँयो बस्, अरू हाम्रो झोलाभित्र केही थिएन । त्यतिखेर त्यो नै हाम्रो सबैभन्दा महŒवपूर्ण सम्पत्ति थियो । तौलको हिसाबले भन्ने हो भने ४÷५ किलोग्राम थियो होला । अप्ठ्यारो बाटो उकालो, ओरालो, जङ्गल अनि दिनभरिको हिँडाइ । त्यसले हाम्रा झोलाहरूलार्ई गह्रौँ बनाएको थियो । तर घडीको सुई नरोकिईकन हिँडेको हिँड्यै गरेझैँ हामी पनि लगातार हिँडिरहेका थियौँँ । बगेरीबाट हिँडेपछि हामी प्युटारमा बास बस्यौँ । त्यसपछि बिहान ५ बजे नै त्यहाँबाट हिँडेका थियौँँ । बीचमा माल्टा भन्ने गाउँमा खाना खाएर फेरि हिँड्न थाल्याँै । कोही छिटो छरितो हिँड्ने कोही ठीक्क, कोही विस्तारै हिँडिरहेका थियौँँ । त्यसै टोलीमा क. निश्चल र क. सुचेन्द्र पनि हुुनुहुन्थ्यो । उहाँहरू दुवै पार्टी प्रवेशको हिसाबले नयाँ तर काम, अनुभव अनि आन्दोलनको आवश्यकताअनुसारको चातुर्यको हिसाबले चाहिँ आपूmभन्दा ४–५ तह माथिको हुनुहुन्थ्यो । उहाँहरू पार्टीमा भर्ती भएको छोटै समयमा आफ्नो कौशल देखाउन सक्षम योद्धाहरू हुनुहुन्थ्यो जसले गर्दा दसकौँ पार्टी काम गरेका तर समय, परिस्थिति र सिद्धान्तअनुसार, आवश्यकताअनुसार आपूmलार्ई विकास, रूपान्तरण गर्न असफल मान्छेहरू उनीहरूको सफलताबाट साह्रै चिढिन्थे । तर उनीहरूको कामको जुन वेग थियो त्यसले गर्दा चुँ गर्नसक्ने स्थिति थिएन । त्यसैले उनीहरूलार्ई चुक्ली गर्ने कुन, कता, चर भेटिन्छ भनेर तीखा तीखा आँखाहरू उनीहरूकै वरिपरि घुमिरहेका हुन्थे । उनीहरू कहिले एकजनापछि कहिले अर्को जना गरेर छिटो हिँड्न नसकेर पछि परेकालार्ई साथ दिइरहेका थिए ।

हामी जुन दिन काठमाडौँ उपत्यकामा छिनर््े नाकाको नजिक पुग्यौँ । हुनत अझै १२–१४ घन्टाको बाटो काट्न बाँकी नै थियो । नाकानजिकमा फेरि धेरैजना पनि छौँ । त्यसैले हामी राती हिँड्नुपर्छ भन्ने भयो । त्यसैअनुरूप हामी ४ बजेतिर खाना खाई हिँड्न थाल्यौँ । मंसिरको छोटो दिन हिँड्न थालेपछि एकैछिन्पछि अँध्यारोले छोप्यो । बाटो कति अप्ठ्यारो थियो भने भिरालो, गेगरेटो भएको, सानो, अलिकति चिप्ले पनि हामी सीधै बागमतीमा फ्यात्त खस्ने थियौँँ । बत्ती बाल्न पाउने कुराभन्दा पनि टाढाबाटै देखिने हुनाले बाल्ने कुरै भएन । लड्न त कति लड्यौँ, लड्दै, उठ्दै हामी रातभरि नै हिँडिरह्यौँ । बिहान तीन बजेको थियो होला नाका काट्दा अलि उज्यालो भएपछि काट्नुपर्छ भन्ने सल्लाह भइरहेको थियो । एकछिन् पाटीमा आराम गर्ने र त्यसपछि उज्यालोमा जानुपर्छ भनेर त्यहाँ हाम्रो टोलीले बिस्कुट ल्याएको रहेछ । एकएकवटा बाँडेका थिए । राती त्यहाँ खान मन लागि–लागि पनि पछि भोक लाग्दा खानुपर्ला भनी झोलामा राखेकी थिएँ । त्यो पनि कता खसेछ, हामीले आराम गर्ने भनेको दक्षिणकालीको तल बागमती नदीकिनारको पाटी एकदम जीर्ण थियो । तर छानो भने थियो । हामी शीतले भिजेका, निद्राले चुरचुर भएका अनि तीन दिनदेखि लगातार हिँडेको हिँड्यै गरेका थकित भरियाहरूको लामजस्तो लाग्यो । त्यस पाटीमा आराम गर्दा के ओछ्याउने भन्दा खेतमा पराल रहेछ, त्यही ल्याउने कुरा भयो । ल्याइयो पनि तर त्यो पनि हामीजस्तै शीतले भिजेर लत्र्याक–लुत्रुक्क भएको थियो । चिसो थियो । जति चिसो भए पनि सुस्ताउनकै लागि नबसी–नसुती भएन । तर चिसो बागमतीको स्याँठ र परालको शीतको चिसो अनि आफैँँ पनि शीतले पात रुझेझैँ रुझेका हामी जति थाके पनि निदाउन के सक्नु र ? खालि एकछिन् यसो बस्ने र पल्टने गरियो । हिँड्ने बेला भइहाल्यो । गोडा र जिउ दुःखेर मुढाजस्तो उठाउनै गाह्रो भइरहेको थियो । हिँड्दा बरु ज्यान तातै थियो । आराम गरेर उठ्दा त जिउ चलाउनै नसक्ने गरी दुखेको थियो । हिँड्नु त छँदै थियो । जब नाकाको छेउमा पुग्नै लागेको आभास भयो, हामी अलि छिटो आइपुगेका त होइनौँ । अझै अँध्यारो छ त भनेर मैले कुरा गरेँ । हिँड्दा–हिँड्दै तर त्यो जोसमा मेरो कुरालार्ई अरू कमरेडहरूले हावामा उडिरहेको धुलोलार्ई बराबर कुनै महŒव नदिईकन अघि बढिरहे ।

हामी देवीचौरबाट अघि बढेर फर्सिडोल भेट्नै लागेको बेला साथीहरू गुरुरु पछाडि फर्केर आए । सेना ‘क्राउलिङ’ गरेर बसेको रहेछ । हाम्रा साथीहरू दुईजना समातिए भन्ने सूचना दिए । अब तुरुन्तै जुन बाटो आएको हो त्यही बाटो हामी दौडन थालेका थियौँँ । त्यसैबेला म लडेँ । क. निश्चल मलार्ई उठाउन आए । उता हामीलार्ई लखेट्दै सेना र प्रहरी आएको भए भनेर मेरो दिमागमा झिल्का बल्यो । होइन, होइन जानुहोस् तपार्ईंंहरू म उठिहाल्छु भनेँ । नत्र जो दौडन सकेन, ऊ त परिहाल्थ्यो । जो उठाउन थाल्यो, ऊ पनि पर्ला भन्ने चिन्ता मलार्ई लाग्यो । बिस्तारै उठेर म पनि दौडन थालेँ । जति दौडे पनि निद्रा, थकान, त्यहीँमाथि भोकले पनि डाम्न थालिसकेको । दौडेर छाती फुलेर पनि मर्ने नै हो । दुश्मनले भेटे पनि मर्ने नै हो भन्ने गरी सास बढ्यो । त्यसपछि बिस्तारै हिँडियो । तर दुश्मन हाम्रो पछि–पछि आएको भए हामीलार्ई उनीहरूले सजिलै भेट्थे । अब गाउँ आइपुगेको थियो । दुश्मनको छेउमै परेको अवस्थामा आपूm कमजोर भएर दुश्मनको कब्जामा पुग्नु परे पनि साथीहरू जो छिटो दौडन सक्थे उनीहरू नफसून् भन्ने पहिले दिमागमा आउने । कस्तो अचम्म त जसरी पनि आपूm बाँच्नुपर्छ नि । उनीहरूको सहयोग त मेरो पनि अधिकार हो नि भन्ने त्यस्तो केही आउँदैन रहेछ । कति उच्च विचार, कति उच्च व्यवहार, भातृत्व, वर्गीय आत्मीयता । समय कम छ भने आफ्नो कारण किन अर्कोलार्ई समेत दुश्मनको मुखमा पु¥याउने ? सकेसम्म, जानेसम्म हामी जोकोहीले पनि एकले अर्कोलार्ई बचाउनुपर्छ भन्ने प्रतिबद्धता व्यवहारमै देखाप¥यो । अलि पर चौबाटोमा पुगेपछि अरू साथीहरूसँग भेट भयो । क. निश्चलले चार दिनदेखि बोकेर ल्याएको कपडाको झोला अब भने बोक्न सकिन्न भन्ने भयो । किनभने दुश्मन पछिपछि आउँदै रहेछ भने हाम्रो धिमा गतिले उसले हामीलार्ई सजिलै भेट्छ भन्ने भयो । मैले राम्रै कपडा बरु बाटैमा राखिदिए । त्यो अरूले लाउलान् भनेँ तर उनले त्यसो गर्नु हामी हिँडेको बाटो देखाउनुजस्तै हुन्छ । त्यसैले बागमतीमै फाल्नुपर्छ भनेर फालिदिए । मलार्ई पनि त्यसमा कुनै मोह बाँकी रहेन किनभने एउटा झोला बोकेकै थियो । अतिरिक्त बोक्ने आँट सकिइसकेको थियो । हुनसक्थ्यो दुश्मन सेनाले यहीँ नै कब्जा गर्न सक्थ्यो । त्यसैले झोला फालेर अर्को दोबाटोमा हामी फर्केका जति भेट भयो । एकछिन् उभिई–उभिई केही सल्लाह भयो । त्यहाँ के भएको थियो भन्ने यथार्थ जानकारी सबैलार्ई थिएन । त्यसैले त्यहाँ दुश्मन सेना पूरै सुतेर ‘पोजिसन’ मा बसेको नजिकै पुगेपछि मात्र साथीहरूले देखे । बाक्लो हुस्सु लागेको थियो । त्यतिखेरसम्म उनीहरू उठेर सोधपुछ गर्न थाले । बुद्धि र कौशिल्यालार्ई उनीहरूले गिरफ्तार गरे भन्ने भयो । यतिसम्म कि क. साधुरामले कौशिल्याको हातै समातिरहेको तर कौशिल्या फर्किनासाथ उनीहरूको ध्यान पछाडि पर्ने । पछाडि त फेरि अरू साथीहरू थुप्रै भएपछि उनले त्यो हात छुटाएर उनीहरूले सोधेको जवाफ दिन थालेको अनि छोडेर साधुरामचाहिँ आएको बताए । अरूलार्ई बचाउन आपूm खुसीखुसी उनी मृत्युको मुखमा गइन् । साधुरामको अनुहार अँध्यारो थियो । चिन्तित पनि तर विकल्प के थियो र ? अनिलले सबैलार्ई मकवानपुर नै फर्कने भन्नुभयो । बाटोमा दुश्मनको हर्कतका विषयमा सही सूचना थिएन । बाटोको रेक्की पनि थिएन । काठमाडौँ उपत्यका पस्ने योजना खुल्यो । क्षति भयो । नेतृत्वले बनाएको योजना खुल्यो । आकस्मिक निर्णय गर्नुपर्ने भयो । त्यसैबेला नेतृत्वलार्ई सूचना दिएर नयाँ योजना बनाउने स्थिति थिएन । टोली यत्रतत्र छरिएको थियो । कुमार दाहालहरू तोरीबारीतिर दौडेको खबर त थियो । तर अवस्था अज्ञात नै थियो । तर क. निश्चल र क. सूचेन्द्रले ‘होइन, हामी अर्को बाटो अब दक्षिणकालीतिरबाट जान्छौँ, तपार्ईंंहरू फर्किनू । उनीहरू दुईजना परिसकेपछि केही सामानको व्यवस्थापन तुरुन्तै गर्नुपर्छ नत्र फेरि अरू थप क्षति हुन्छ’ भने । अनिल पनि सहमत हुनुभयो र हामी अब हिजो रातभरि हिँडेकै बाटोबाट फर्कन थाल्यौँ तर पाइला अघि सार्न खोज्यो रबर तन्केर फेरि पुरानै ठाउँमा फर्केजस्तो पछाडि नै तानिन्छ । हिँड्नै सक्दिनँ । उता दुश्मनको डर, यता पाइला नसारिएर चिन्ता । अब के गर्ने ? एकछिन् त यो के भएको ? केही सोच्न सकिएन । धेरै बेरपछि यो पक्कै पनि भोकको कारण भन्ने याद आयो । झोलामा केही खानेकुरा थिएन । वरिपरि बाटोमा कतै एउटा घर थिएन । के खाने ? ओहो ! भोकले मान्छेलार्ई यति धेरै कमजोर बनाउँछ भन्ने कुरा अझसम्म त केही अनुभवै रहेनछ मसँग । उकालोमा पाइला सा¥यो, सर्दैन । उता अनिल गाली गरिरहनुभा’छ किन अलि छिटो नहिँडेको ? उनीहरू पछिपछि आउन सक्छन्् भनेका छन्् । तर आफ्नो भने खुट्टा मरे अघि बढ्दैन । बल्ल–बल्ल एउटा गोठ भेटियो । त्यहाँ मान्छे पनि रहेछन्् । तर उनीसँग खानेकुराका नाममा मकैको जाँड मात्र रहेछ । हामी प¥यौँ शुद्ध माओवादी जाँडरक्सी खाने र बनाउनेलार्ई समेत उस्तै परे कारबाही गर्ने । भोकले पाइला चाल्न अति मुस्किल परेको बेला त्यही भए पनि खाने कि भन्ने दिमागमा आयो । तर फेरि ए बाबा अप्ठ्यारोमै हो नि परीक्षाको घडी भनेको । उत्तीर्ण–अनुत्तीर्ण हुने नै त्यही समयमा हो । हुन्न भनेर अघि बढियो । अब कुनै घर थिएन । बाटोभरि ज्यानले बाटैमा पल्टिने निर्णय लेलाजस्तो भइसक्यो । तर बिस्तारै भए पनि पाइला चाल्नचाहिँ छोडिनँ । अरू बेलामा हिँड्दा हामी त्यति बाटो २ घन्टामा हिँड्ने थियौँँ । त्यस्तै ४–५ घन्टामा हामी अरू बेला पनि जाँदा–आउँदा सुन्तला किनेर खाने गरेको घुसेल गाउँमा पुग्यौँ । प्रकृतिले लुकाएर राखेको वागमतीकिनारको तामाङको एउटा घरमा सुन्तला किनेर खाइयो । तर अहँ पटक्कै शक्ति बढेको होइन । मैले त्यो घरधनीलार्ई के खानेकुरा छ ? मलार्ई अलिकति दिनुस्, नत्र म हिँड्न सक्दिनँ भनेँ । उनले पाक्दै गरेको साग र अलिकति चिउरा दिइन् । त्यो खाएपछि अलि बल आएजस्तो भयो । अनि १०–१२ वटा सुन्तला झोलामा बोकेर हिँडियो । यति हुँदा पनि अब त हिँडिन्छ भनेर ठूलै आँट आयो । एकदुई घन्टा हिँडेपछि फेरि थाकियो । तर बिहानको जस्तो अन्तिम भने भएको थिएन । हामीसँग त्यहाँको सबै कुरा थाहा हुने कोही मान्छे साथमा थिएन । वरिपरि चिनेको कोही थिएन । बीचमा होटेल, पसल केही पनि थिएन । दिउँसो १२ बजेतिर होला, हामी माल्टा पुग्यौँ । त्यहाँ पसलमै पनि खाना बनाएर खान दिने चलन रहेछ । बेतिनी गाउँ आधारइलाकाजस्तै थियो । त्यहीँ सञ्चारको टावर राखिएको थियो । पर्खने समय त थिएन । त्यसैले चाउचाउ बनाउन लगाएर त्यही खाई हामी अघि बढ्यौँ । बाटो बिराउने हो कि भन्ने डर थियो । अघिल्लो रातमा हिँडेको बाटो, त्यो पनि बत्ती नबाली । उज्यालोमा ठम्याउन साह्रै मुस्किल । तर यता बाटो सोध्न सकिन्थ्यो । कतै सोद्धै कतै नसोधी हिँड्दै गरेर हामी फेरि बेतिनी पुग्याँै । त्यता पुगेर यताको खबर गर्नु त थियो नै । अब त्यता के गर्ने भन्ने प्रश्न पनि ज्वलन्त बन्यो । जब हामी बगेरी हुँदै फापरबारी पुग्यौँ हामीसँगसँगै जस्तो उपत्यका पसेका ३–४ जना समातिएको खबर आयो । त्यसमा उही क. सूचेन्द्र, क. निश्चल, क. यादवहरू थिए । त्यसपछि उपत्यकाका अरू कमरेड जो बाँकी हुनुहुन्छ (गिरफ्तारीमा नपरेका) सबैलार्ई रिङमै बोलाउनुपर्छ । अब अर्को नयाँ योजना नबनाई हुँदैन भन्दै केही कमरेडहरू बाँकी कमरेडहरूलार्ई बाहिर निकाल्न जानुभयो । ठोस परिस्थितिको ठोस विश्लेषण नगरी कुनै पनि योजना सफल हुन नसक्ने स्थिति त्यसबेलाको कटु सत्य थियो । तर कतिपय घटनाहरूमा भने त्यही ठोस परिस्थितिको ठोस विश्लेषणको अभावले गर्दाखेरि नै ठूलाठूला क्षतिहरू भएको सूची छ जसलार्ई पछि त्यस्तै खालका कमजोरी नदोहो¥याउने प्रतिबद्धतासहित रूपान्तरणको जुन प्रक्रिया थियो त्यसको कमी पाइलापाइलामा गर्न पाइन्थ्यो । उपत्यका ब्युरोका सबैजसो सदस्यहरू गिरफ्तार गर्न दुश्मन सफल भइरहेको थियो । यता उपत्यकाको कामकारबाही सीमित हुन पुगेको थियो । त्यहाँ काम गर्न तत्पर भएर फर्किरहेको टोलीमा रहेका दुईजना कमरेड जो कौशिल्या पोखरेल र बुद्धिबहादुर तामाङ हुनुहुन्थ्यो । उहाँहरू दुवैजनालार्ई प्रतिक्रियावादी सरकारले बेपत्ता बनायो । जसलार्ई आजको दिनसम्म पनि सार्वजनिक गर्ने आँट गर्नसकेको छैन । दुश्मनले त गिरफ्तार ग¥यो । बेपत्ता बनायो । यातना दियो । लाग्छ, उनीहरूलार्ई गैरकानुनी तवरबाट हत्या नै ग¥यो । तर जब जनयुद्धका नायक बनेकाहरू सरकारमा गएर प्रधानमन्त्री, गृहमन्त्री बनिसकेर पनि देशका लागि ज्यानको बाजी लगाएर लड्ने योद्धाहरूका बारेमा सत्य, तथ्य, यथार्थ सार्वजनिक गर्न नसक्ने स्यालहरू बने, जो खानका काल मात्र साबित भए र महान् जनयुद्धको बिसर्जनसँगै यिनीहरूको आत्मा पनि दलाल र जनताको दुश्मनका रूपमा फेरिइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार