आयो मङ्सिर चार !

ताराबहादुर बुढाथोकी २०७९ श्रावण २३ गते, सोमबार



घुमिफिरी रुम्जाटार
आयो फेरि मङ्सिर चार ।
दशैँमा भन्दा मजाले खान पाइने,
तिहारमा भन्दा बढी घुम्न पाइने ।
मछे मेलामा भन्दा बढी मात्न पाइने,
एकादशी बजारमाभन्दा बढी तात्न पाइने ।
बटुकामा पनि थपी–थपी पाइने
पटुकामा पनि थपी–थपी पाइने,
पाँच वर्ष सुकेका नसा फुलाउन,
निर्वाचनको घुम्ने झार,
आयो फेरि मङ्सिर चार ।

साधुहरु सिसीमुनि हुने,
चोरहरु ऋषिमुनि हुने,
लोभीहरु दानी हुन्छन््,
देश बेचुवाहरु स्वाभिमानी हुन्छन्् ।
कोही चुच्चे नक्साको कुरा झिक्छन््,
कोही बुच्चे नक्साको कुरा झिक्छन्् ।
मलको अभाव चढाउने र
पेट्रोलको भाउ बढाउने पनि
मूल्यवृद्धि रोक्छु भन्छ,
एमसीसीमा औंठाछाप ठोक्ने पनि
जंगेपिल्लार काँधैमा बोक्छु भन्छ ।
आहा बलिराजको हुकुमले
सबै अघाउने, दुःख बगाउने,
निर्वाचन हे अपरम्पार
आयो फेरि मङ्सिर चार ।

पाठ्यक्रम विकास केन्द्र
पाठ्यपुस्तकको सट्टा मतपत्र छाप्छ,
शैक्षिक शत्र सकिँदा
विद्यार्थीको हातमा पुस्तक नपुगे पनि,
मतदान केन्द्रमा नामावली पुग्छ ।
नागरिकता बेच्ने पनि
भोट माग्न आउँछ ।
नागरिक बेच्ने पनि भोट माग्न आउँछ ।
नागरिक बेच्ने र नागरिकता बेच्ने,
दुवै असल हुँ भन्छन्् ।
कुन असल हो छुट्याउन गाह्रो हुन्छ ।
डबकाको जाँड र कचौराको चोक्टा
जसले धेरै दिन दिन्छ,
जसले धेरै किन्दिन्छ, उही असल हो ।
तानिन्छ तोङ्बा, हानिन्छ छाप,
जनता जनार्दन तेरा बाप,
तँ चोइटोको म मूलधार,
फेरि आयो मङ्सिर चार ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु