शोकमग्न शिवगढी : मृत्युञ्जयी योद्धा

खोमा तरामु मगर २०८० असार ४ गते, सोमबार

दसैँँको असरल्ल चहल–पहल थियो गाउँँभरि । पाखाभरि कोदो झुलेका थिए । काँक्रा, फर्सी, चटेलाहरू लटरम्म थिए बारीभरि । पखेरामा रातै टिमुर पाकेका थिए । हामी छुट्टी लिएर गाउँँ फर्किएका थियौँ । अर्थात् गुल्मीको सुदूरपूर्व ठूलो लुम्पेक गाउँँ । बिहान घाम आँगनमा बिस्कुनजस्तै पोखिएको थियो । म बोइलाई भान्सातिर काम सघाउँदै थिएँ । बिहानको ८ बजेतिर मोबाइल हेर्दा विषम सर, प्रज्वलन सर, ईश्वरी दाइ र पारस भान्जाको मिसकल देखेँ । अब फोन रिप्लाई गर्छु भनेर किबोर्डमा औँला थिच्दा थिच्दै ईश्वरी दाइको फोन फेरि आयो । “वीरजङ्ग सरको दुःखद् घटनाको समाचार आयो, वास्तविकता के रहेछ ?” दाइको आवाज सुन्नेबित्तिकै मनमा निकै चिसो पस्यो । मैले फेसबुक खोलेँ । फेसबुकको भित्ताभरि वीरजङ्ग सरको फोटोमा शोक श्रद्धाञ्जलीका शब्दहरूको लस्कर थिए । म असाध्यै निस्तब्ध भएँ । सपना कि विपना, दिन कि रातजस्तै असाध्यै बेचैन र पीडाबोध भयो । मैले श्रद्धाञ्जलीका शब्दहरू लेख्नै सकिनँ । “उफ्, कस्तो सहनै नसकिने अप्रिय समाचारको सामना गर्नुप¥यो !” म लामो सास फेरेर खाटमा उत्तानो पल्टिएँ । केहीबेरमा पारस भान्जा हस्याङ–फस्याङ गर्दै आइपुग्नुभयो । पारसले मतिर मलीन आँखाले हेर्दै सुनाउनुभयो, “वीरजङ्ग सरको निधन भएछ !” हामी एकछिन् हेराहेर ग¥यौँ । हामीसित कुनै शब्द थिएनन् । शब्दहरू तुरिएको चरम अनुभूत भयो । पार्टी र क्रान्तिको अभिभावक गुमाउनुपर्दाको अजश्र पीडाबोध कस्तो हुन्छ ? अनुभूत ग¥यौँ हामीले ।

कमरेड वीरजङ्गसितका स्मृतिबिम्ब

हामी बिदा सकेर कार्यक्षेत्र फर्कियौँ । कात्तिक ५ गते रूपन्देहीमा महासचिव विप्लवको राजनीतिक प्रशिक्षण लियौँ । महासचिव विप्लवको उपस्थितिले विस्तारित बैठक जति उद्वेलित र उत्साहपूर्ण थियो; वीरजङ्ग कमरेडको निधनको आलो स्मृतिले उत्तिकै स्तब्ध र शोकाकूल थियो । बैठक हल धेरैपटक भावविह्वल बन्यो– कमरेड वीरजङ्गको स्मृतिमा । सबै कमरेडहरूको आँखाबाट अश्रुधारा बगे । जतिबेला कमरेड वीरजङ्गका प्रसङ्गहरू दोहोरिए, हलमा सन्नाटा छाउँथ्यो र उत्तिकै दोहोरिएर भक्कानिन्थ्यो । विगतका बैठकहरूमा वीरजङ्ग सरले दिएका राजनीतिक प्रशिक्षणहरू, बैठकहरू, सहिद परिवारसितका भेटघाट, हाँसोठट्टाहरू, उहाँँसितका अन्तरङ्ग र सामिप्यताहरू उसैगरी हाम्रो मानसस्मृतिमा मदानीजस्तै फनफनी घुमिरहे । सबै कमरेडहरूको हृदयमा वीरजङ्ग कमरेडको स्मृति रेल बनेर गुडिरह्यो । खासगरी, पार्टी पुनर्गठनपछि क्रान्तिकारी पार्टी निर्माणका क्रममा, पार्टीमाथि दक्षिणपन्थी नवसंशोधनवादको प्रहार, प्रतिबन्धको कठोर समयमा दुश्मनको घेराबन्दी, धरपकड, गिरफ्तारीदेखि १२ जना सहयोद्वा कमरेडहरूको बलिदानसम्मका दिनहरू स्मृतिमा दोहोरिए ।

पार्टी पुनर्गठन भएपछि हामीले बुटवलको ट्राफिक चोकमा पाका, पुराना र नयाँ पुस्ताका कविहरूलाई बटुलेर कविगोष्ठी गरेका थियौँ । रक्तरञ्जित सांस्कृतिक परिवारले सांस्कृतिक प्रस्तुति देखाएको थियो । उहाँँ त्यो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यो कार्यक्रममा उहाँँले क्रान्तिका लागि सांस्कृतिक सेनाको आवश्यकतामा जोड दिनुभएको थियो । उहाँँकै प्रत्यक्ष निर्देशनमा हामीले त्यो गोष्ठीमा प्रस्तुत गरिएका सिर्जनाहरूलाई बटुलेर ‘झुल्केघाम’ साहित्यिक पत्रिका प्रकाशित गरेका थियौँ । पार्टीको लुम्बिनी ब्युरो इन्चार्जको हैसियतबाट उहाँँले झुल्केघामलाई शुभकामना दिनुभएको थियो । झुल्केघामको दोस्रो अङ्कमा हामीले उहाँँको लेख प्रकाशित गरेका थियौँ । उहाँँले जनयुद्धमा सहादत प्राप्त गर्नुभएकी शिवगढीस्थित चम्किलो सांस्कृतिक परिवारका जनकलाकार क. आरतीको जीवन सङ्घर्ष र उहाँँसितको राजनीतिक सानिध्यताबारे लेख्नुभएको थियो । उहाँँले जनयुद्धमा लुम्बिनीमा सांस्कृतिक क्षेत्रबाट सहादत प्राप्त गर्ने डीबी थापा, चुनु गुरुङ, रक्षा सारू मगर, मनोज तरामुलगायत कलाकार एवम् सांस्कृतिक योद्वाहरूको जीवनसित जोडिएका फोटा, सिर्जना एवम् अन्य सामग्रीहरू सङ्कलनका लागि निर्देशन दिनुभएको थियो । ‘झुल्केघाम’ को दुई अङ्क प्रकाशन पनि उहाँँको देन थियो । पार्टीमाथि प्रतिबन्धपछि म काम विशेषले उहाँँको सेल्टरमा धेरैपटक पुगेको थिएँ । यसक्रममा उहाँँले जनकलाकार आरतीको बारेमा जानकारी गराउने गर्नुहुन्थ्यो । कमरेड आरतीको लेखको पाण्डुलिपि लिन म उहाँँको सेल्टरमा पुग्दा उहाँँले जनयुद्धका सहिदहरू क. अशोक, क. विकल्प र क. पृथ्वीबारेमा निकै रूचिपूर्वक स्मृतियाद गर्नुभएको थियो र उहाँँहरूको बारेमा ‘झुल्केघाम’ को तेस्रो अङ्कमा लेख्ने बताउनुभएको थियो । तर, ‘झुल्केघाम’ को तेस्रो अङ्क हामीले निकाल्न सकेनौँ र उहाँँको त्यो सपना पनि पूरा हुन सकेन ।

पार्टी स्कुलमा मलाई उहाँँले नै जोड्नुभएको थियो । पार्टी स्कुलमा जोडिएपछि आवश्यक अध्ययन सामग्री र अन्य समस्याका बारेमा सोधिरहनुहुन्थ्यो । पार्टीमाथि प्रतिबन्धपछि उहाँँ जेल छँदा समाचारहरू पठाउनुहुन्थ्यो । उहाँँ चितवन छँदा मैले ‘सपनाको भन्ज्याङतिर’ निबन्ध र केही पुस्तक पठाएको थिएँ । पछिल्लोपटक म कोभीडले थलिएपछि सबैभन्दा धेरैपटक फोन गरेर समस्याबारे सोधपुछ र सान्त्वना दिइरहनुभएको थियो । उहाँँको शालिन व्यक्तित्व, वैचारिक र व्यावहारिक जीवन, सरल र निडर व्यक्तित्वबाट म सुरुदेखि नै प्रभावित थिएँ नै । उहाँँ क्रिमसन अस्पतालमा आफैँँँ थलिएर गम्भीर भई भर्ना हुँदासमेत कार्यकर्ताको बारेमा चिन्ता लिने शैलीबाट म निकै प्रभावित भएको थिएँ । उहाँँप्रतिको श्रद्धा सबैभन्दामाथि मेरो शिरमा थियो । २०७३ मङ्सिर १७ गते रूपन्देही जिल्ला पार्टी कार्यालय रातोघर, पुष्पलाल पार्कस्थित पुष्पलालको प्रतिमा र सहिदपार्कमाथि केही भिजिलान्तेहरूद्वारा एकैपटक आक्रमण हुँदा वीरजङ्ग सरलगायत हामी सबै कार्यालयभित्र नै थियौँ । घटनापछि मैले यसविरुद्ध लुम्बिनी दैनिकमा कविता लेखेको थिएँ । कविताको मुख्य लाइन हटाएर प्रकाशित गरेपछि मैले लुम्बिनी दैनिकको पाहुर विशेषाङ्कको संयोजकलाई भेटेर आपत्ति जनाएको थिएँ । त्यो कविता वीरजङ्ग कमरेडले पढिसक्नुभएको रहेछ । उहाँँले मलाई रातोघरको छतमा बोलाएर धन्यवाद दिनुभएको थियो । उहाँँले जहिल्यै हामीलाई विचार र व्यवहारको संयोजन गर्न निर्देशन दिनुहुन्थ्यो । लाल र निपूर्ण भएपछि मात्रै कम्युनिस्ट भइने बताउनुहुन्थ्यो । उहाँँको निष्ठता, प्रतिबद्धता, वैचारिक र साङ्गठनिक नेतृत्व हाम्रा लागि पछ्याइरहने आदर्श थिए ।

शिवगढी आँसुको सागरमा डुब्यो

कात्तिक १० गते नेकपाले कमरेड वीरजङ्गको स्मृति र सम्मानमा देशभर श्रद्धाञ्जली सभा गर्ने निर्णय ग¥यो । ‘लालदिशा’ का सम्पादक डा. शिवशङ्कर बस्याल र म कपिलवस्तुको श्रद्धाञ्जली सभामा सहभागी भयौँ । हामी शिवगढी पुग्दा उहाँँको घरनजिकै स्कुलको खुल्लाचौरमा सभाको तयारी भइरहेको थियो । सभामा नेकपाका महासचिव विप्लव, उहाँँकी ९४ वर्षीय आमा आशिकादेवी चन्द, वीरजङ्ग सरकी मेडम, घरपरिवार, पार्टीका केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू, आफन्त शुभचिन्तकलगायत निकै ठूलो सङ्ख्यामा जनताको सहभागिता थियो । सबैका आँखाहरू रसाएका थिए । सभाको वातावरण असाध्यै शोकाकूल, भावविह्वल र संवेदित थियो । हामीले कमरेड वीरजङ्गको तस्बिरमा श्रद्धाञ्जलीका पूmलहरू चढाएर लाल सलाम टक्र्यायौँ । श्रद्धाञ्जली चढाएर फर्किनेहरू कसैको आँखा ओभानो थिएनन् । अर्थात् हामी सबै भावविह्वल थियौँ । लामो समयपछि भेट भएका कमरेडहरूबीच पनि प्रफुल्लित हाँसो र खुसी थिएन । जनदीर्घातिर सबैको अनुहारमा शोकको सागर थियो । आदरणीय र जनप्रिय नेताको आकस्मिक यात्राले धाँजा फाटेका थिए सबैका हृदय । मृत्युशोकको पीडाले हायल–कायल बनाएको थियो सबैलाई । शोकको गहिरो आँसुसँगै आक्रोशको तुफान पनि उर्लंदो थियो । ती महान् योद्धालाई कसले चुँडायो यति चाँडै ? हजारौँ प्रियजनहरूको खुसी कसले खोसिरहेछ ? सबैका अनुहारमा बेचैनी र आक्रोश मडारिएको थियो । सिङ्गो शिवगढी आदरणीय अभिभावक गुमाएको अजश्र पीडाले शोकमग्न थियो । शिवगढी आँसुको सागरमा चुर्लुम्म डुबेको थियो । अर्थात् शोकसन्तप्त थियो । गीतकार एवम् सङ्गीतकार चिरन पुनको शब्दमा शिवगढी ‘पूmल झरेको रित्तो बगैँचा’ जस्तै भएको थियो । साथी छुटेको खल्लो पंक्षीजस्तै थियो । मुटु झिकेर तड्पी–तड्पी बाँचेजस्तै थियो । आदरणीय कमरेड वीरजङ्ग जति बाँच्नुभयो, अनन्त बाँच्नुभयो । एक निर्भीक योद्वा बिदा हुनुभयो, क्रान्तिका बाँकी जिम्मेवारी हामीलाई सुम्पेर ।

हिमालभन्दा गह्रौँ मृत्यु

मृत्यु अन्तिम सत्य हो मान्छेको । क्रान्ति योद्वाको आकस्मिक यात्राले हामीलाई पूmलबिनाको बगैँचाजस्तो बनायो । कमरेड वीरजङ्गको सपनालाई पूरा गर्ने दायित्व हाम्रो काँधमा आएको छ । नेकपा महासचिव विप्लवले भन्नुभएको छ, “उहाँँ जनताका सेवक हुनुहुन्थ्यो । जनतासित मिल्ने सरल जीवन, उहाँँमा कुनै लोभलालच थिएन । उपचार नपाएर उहाँँको असामयिक निधन भयो । कमरेड वीरजङ्गको निधनले क्रान्ति कमजोर हुँदैन, यसले वर्गदुश्मनप्रति घृणा र क्रान्तिप्रति तागत पैदा गर्छ । उहाँँले हिंडेको बाटो हामीले पूरा गर्छौं ।” नेकपाका तत्कालीन केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले भन्नुभएको छ, “कमरेड वीरजङ्ग कहिल्यै नझुक्ने योद्धा हुनुहुन्थ्यो । उहाँँको असामयिक निधनले मर्माहत र भावविह्वल बनाएको छ । जीवन भनेको आँसु र हाँसोको द्वन्द्ववाद हो । जीवन र जगत्लाई हेर्ने दृष्टिकोणबाट हामी विचलित हुनुहुँदैन । राज्यसत्ताको लापरवाहीका कारण उहाँँको निधन भएको छ । हामीले शोकलाई शक्तिमा बदल्नुपर्छ । उहाँँको सपनालाई वैज्ञानिक समाजवादमार्फत् पूरा गर्नुपर्छ ।” नेकपा सचिवालय सदस्य सन्तोष बुढा मगरले भन्नुभएको छ, “कमरेड वीरजङ्गको मृत्यु स्वाभाविक होइन, प्रतिक्रियावादी राज्यसत्ताले समयमा नै उपचार नगरेर हत्या गरेको छ । उहाँँको निधनले क्रान्तिलाई निकै ठूलो क्षति पु¥याएको छ ।” नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भन्नुभएको छ, “हामी एउटै स्कुल पढेका साथी हौँ । उहाँँ क्रान्तिप्रति दृढ, इमानदार, मिलनसार र प्रतिबद्ध हुनुहुन्थ्यो । राज्यले उचित ध्यान नदिएर बेवास्ता गरेकै कारण कमरेड वीरजङ्गको निधन भयो ।” नेकपा केन्द्रीय सदस्य आस्थाले कमरेड वीरजङ्ग जनताको नेता भएको भन्दै पार्टीलाई सुदृढ गर्न र सङ्घर्षको नेतृत्व गर्न सक्ने नेता भएको बताउनुभयो । वाम बुद्धिजीवि बिनबहादुर कुँवरले मान्छेको मृत्यु स्वाभाविक भए पनि कमरेड वीरजङ्गको मृत्यु स्वाभाविक नभएर राज्यसत्ताले गरेको हत्या भएको बताउनुभएको छ ।

हामीसित जनताका महान् सपना छन्, त्यो यात्रामा आदरणीय कमरेड वीरजङ्गलाई गुमाउनुपर्दा हामी असाध्यै गहु्रङ्गो पीडाको पहाडले थिचिएका छौँ । उहाँँको मृत्यु हिमालभन्दा अग्लो छ, सागरभन्दा गहिरो । कुनै मृत्यु निकै गौरवशाली हुँदो रहेछ । निकै गहु्रङ्गो हुँदो रहेछ । कमरेड वीरजङ्ग कहिल्यै नमर्ने मृत्युञ्जयी योद्धा हुनुहुन्छ । अन्त्यमा फेरि गीतकार एवम् सङ्गीतकार चिरन पुनको यो गीतमार्फत् कमरेड वीरजङ्गप्रति आदरपूर्ण श्रद्धाञ्जलीका शब्द चढाउँछु–

तिमीले हिँडेको बाटो कहिल्यै भुल्न दिनेछैनौँ,

तिमीले रोजेको आदर्श कहिल्यै मर्न दिनेछैनौँ !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु