आदरणीय कमरेड वीरजङ्गप्रति

ज्ञानु केसी २०८० असार १८ गते, सोमबार

मेरो वीरजङ्गसित २०६३ सालपछि शान्तिकालमा सामान्य चिनजान भएको थियो । भेटघाट परिचय भएको थियो । म त्यतिबेला माओवादी पक्षीय नेपाल बुद्धिजीवी सङ्गठनमा जिल्ला सदस्य रहेर काम गर्ने मौका पाएकी थिएँ । पछि बुद्धिजीवी सङ्गठनमा जिल्ला समिति हुँदै केन्द्रीय समितिमा चयन भएर काम गरेकी थिएँ । घनश्याम पाठक, नवराज पुरी, सीताराम रसाइली, अम्बिका कँडेललगायतका साथीहरू त्यस बुद्धिजीवी सङ्गठनमा आबद्ध थिए । उक्त बुद्धिजीवी सङ्गठनको बैठक हुँदा वीरजङ्ग प्रायःजसो उपस्थित हुने गर्नुहुन्थ्यो । उहाँँको सरल स्वभावले हामी सबैलाई प्रभावित पार्दथ्यो । शान्तिवार्तापछि शान्तिप्रक्रियामा आएको माओवादी पार्टी धेरै लामो समयसम्म एक ठाउँमा रहन सकेन । पार्टीमा अनेक प्रकारमा वैचारिक, सैद्धान्तिक, सांस्कृतिक तथा राजनीतिक मतभेद हुन थाले । क्रमिकरूपले क्रान्न्तिकारी धार र संशोधनवादी धारबाट अलग हुन पुग्यो । क्रान्तिकारी धारको नेतृत्व मोहन वैद्यले गर्नुभएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ पनि विद्रोह गरेर मोहन वैद्यका साथमा रहनुभएको थियो । तर केही समयपछि विप्लवले मोहन वैद्यबाट सशस्त्र क्रान्तिको नेतृत्व हुन सक्ने सम्भावना कम देखेर त्यसबाट पनि विद्रोह गरेर छुट्टै नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । त्यसमा वीरजङ्ग पनि सामेल हुनुहुन्थ्यो ।

विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीमा प्रतिबन्ध लगाउनुभन्दा पहिले वीरजङ्ग पार्टीका हरेक खुलामञ्चमा पनि सक्रियतापूर्वक लाग्नुभएको थियो । उहाँँकै अध्यक्षतामा बुटवलमा पनि कैयौँ खुल्ला कार्यक्रम सम्पन्न भएका थिए । तर पछि सत्तापक्ष विप्लवको नेतुत्वप्रति संसदवादी दल र तिनका नेतृत्वमा बनेको सरकारले विप्लवका नेतृत्वमा हुने पार्टीका शान्तिपूर्ण कार्यक्रममाथि पनि निर्मम दमनको नीति अवलम्बन ग¥यो । अन्ततः अनुदार सत्ताले विप्लवको नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगायो । यस स्थितिमा वीरजङ्गले फेरि दस बर्से जनयुद्धको बेलामा जस्तै कठोर भूमिगत शैली अपनाउनुपर्ने अवस्था सिर्जना भयो । उनी वर्गबैरीका आक्रमणमा निशाना बनिरहे । भूमिगत अवस्थामा नै तानाशाही सत्ताले वीरजङ्गलाई पक्राउ गरेर बन्दी बनायो । उहाँँमाथि शारीरिक र मानसिक यातना दिइयो । पक्राउ परेको अवस्थामा उहाँँ शारीरिकरूपले रोगग्रस्त हुनुहुन्थ्यो । अनेक रोगले उहाँँको शरीर ग्रस्त भइसकेको थियो, शिथिल भइसकेको थियो । तथापि उहाँँ कहिल्यै निराश देखिनुभएन । सङ्घर्षमय जीवनमा कहिले हरेस खानुभएन । उहाँँ निरन्तर क्रान्ति, देश र जनताको मुक्ति–सङ्घर्षको महान् कार्यमा समर्पित रहिरहनुभयो । उहाँँलाई कुनै पनि प्रतिक्रियावादी सत्तामा कठोर दमन र यातनाले गलाउन सकेन । ढलाउन सकेन । उहाँँ सतिसालजस्तै आफ्नो पथमा डटिरहनुभयो । हिमालजस्तै अटल रहेर आफ्नो कर्तव्यपथमा खटिरहनुभयो ।

मैले जाने–बुझेअनुसार उहाँँ अत्यन्त मिलनसार मृदुभाषी सहृदयी तथा अत्यन्त सरल स्वभावका व्यक्ति हुनुहुन्थ्यो । जनताको लागि उहाँँ आँखाको नानी हुनुहुन्थ्यो भने वर्गबैरीको लागि आँखाको कसिङ्गर । जनताको लागि उहाँँ आशा र भरोसाको केन्द्र हुनुहुन्थ्यो भने दुश्मनको. लागि बाटाको काँडा । सत्रुको सामुन्ने बाघ भएर गर्जिने वीरजङ्गलाई रोगले पनि दिन–प्रतिदिन झन््–झन्् आक्रान्त पार्दै गयो । सत्रुले गलाउन नसकेको वीरजङ्गलाई रोगले भने गलाउन थाल्यो । कमजोर बनाउन थाल्यो । शिथिल बनाउँदै गयो । वीरजङ्गलाई राज्यसत्ताद्वारा गिरफ्तार गरी विभिन्न जेलमा राखियो । जिल्ला–जिल्लाका जेलमा घुमाइयो । त्यसरी जेलमा डुलाउनेक्रममा नवलपरासी जेलमा राखेको बेला बिरामीले छटपटाउँदासमेत हस्पिटलमा उपचार गराउनसमेत नदिएको खबर सुनी बुटवलबाट दिल साहनी, बिनबहादुर कुँवर, पद्म कार्की र मसमेत नवलपरासी पुगेका थियौँ । तर, हामी नपुग्दै त्यहाँबाट चितवन पइठाएको कुरा प्रकाश डुम्रे भाइबाट जानकारी पाई हामी बुटवल फर्केका थियौँ ।

जीवनको पछिल्लो चरणमा प्रतिक्रियावादी सत्ताविरूद्धको युद्धमा खरो उत्रे पनि रोगविरुद्धको युद्धमा भने उहाँँ कमजोरजस्तो देखिनुभयो । तथापि उहाँँ रोगले ग्रस्त भएको बेलामा पनि मानसिकरूपले दह्रै देखिनुहुन्थ्यो । नेपालमा उहाँँको उपचार सम्भव नभएपछि उहाँँलाई उपराचार्थ दिल्ली जानुप¥यो । दिल्ली जाने बेलामा उहाँँले मलाई फोन गर्दै भन्नुभएको थियो, “अहिले म उपचारार्थ दिल्ली जाँदैछु । फर्केर आएपछि तपाईंसित भेट गरौँला ।” मलाई लागिरहेको थियो– दिल्लीबाट उपचार गरेर उहाँँ छिट्टै नेपाल फर्किनुहुनेछ । फेरि उहाँँ देश र जनताको हक–हितमा सङ्घर्षको मोर्चामा जोशजाँगर र उत्साहको साथमा जुट्नुहुनेछ । जनताको मुक्तियुद्धमा समर्पित हुनुहुनेछ तर त्यसो हुन पाएन । दिल्लीको उपचारले पनि उहाँँलाई रोगबाट छुटकारा दिलाउन सकेन । उपचारकै क्रममा नै उहाँँको असामयिक दुःखद मृत्यु भयो । वीरजङ्गजस्ता साहसी, सङ्घर्षशील, त्यागी, निःस्वार्थी, निष्ठावान्, जुझारु, प्रतिबद्ध कम्युनिस्ट नेताको मृत्यु सिङ्गो कम्युनिस्ट आन्दोलनको लागि नै अपूरणीय क्षति हो । कम्युनिस्ट आन्दोलनमा वीरजङ्गजस्ता योद्धा पाउन कठीन छ । म यिनै शब्दद्वारा नेपाली कम्युनिस्ट आन्दोलनका एक महान् योद्धा कमरेड वीरजङ्गप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु