समाजवादका लागि साँस्कृतिक अभियान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत सामना कलाकारले समाजवादका लागि साँस्कृतिक अभियान सुरु गरेको छ । सामना कलाकारका संयोजक आरोहले गीत, नृत्य, संगीत, अपेरा, नाटक लगायतका कलाका माध्यमद्वारा जनजागरण सिर्जना गर्ने उदेश्यले अभियान सञ्चालन गरेको गरेको बताए । उनले भने- “देशमा अहिले आर्थिक राजनीतिक संकट र चुनौती थपिएका छन्, जनतामा असन्तुष्टि, आक्रोश र पीडा छ, समस्याहरुको मसिनो विश्लेषण गर्दा यसको अन्तरसम्बन्ध विद्यमान व्यवस्था र शासकहरुसंग जोडिएको प्रष्ट देखिन्छ। जनताले पटकपटक आन्दोलन र बलिदान गरे तर उनीहरुको दैनिकी र चुलो बदलिएन, खाली शासकहरुको शक्ति र सम्पत्ति मात्रै थपिदैछ, के यो अवस्था बदलिनु पर्दैन ?”
संयोजक आरोहले युवाहरुको विदेश पलायनता, महङ्गी, भ्रष्टाचार, बेरोजगार, अराजकता र कुशासन अहिलेको दलाल पुँजीवादी उत्पादन सम्बन्धको गलत परिणाम भएकोले यसको विकल्प अपरिहार्य भएको बताउदै अब पुरानो व्यवस्थाबाट देश चल्न नसक्ने र नेपाली विशेषताको समाजवादको लागि नागरिकलाई सुसूचित गर्नुपर्ने अहिलेको आवश्यकता भएको ठोकुवा गरे ।
संयोजक आरोहले समाजवादबिना देशमा विकास, निकास र स्थायित्व असंभव हुने र त्यसका लागि कलाको माध्यमबाट देशव्यापी कार्यक्रम गरि व्यवस्था परिवर्तनको पक्षमा जनमत निर्माण गर्नु अभियानको उदेश्य भएको बताए ।
संयोजक आरोहका अनुसार समाजवादका लागि सामना सांस्कृतिक अभियान अन्तर्गत प्रदेश न १ इलामको इलामचोक बजार, झापाको बिर्तामोड र हिमालीचोक, मोरङको विराटनगर, सुनसरीको इटहरी तथा उदयपुरको गाइघाट र कटारीमा कार्यक्रम सम्पन्न भैसकेका छन् ।
अभियानमा पूर्वमन्त्री तथा वरिष्ठ जनवादी कलाकार मणी थापा, वरिष्ठ श्रस्ठा माइला लामा, कलाकार रमण थामी लगायत गायक र नृत्यकारहरुको सहभागिता रहेको छ ।
सांस्कृतिक कार्यक्रममार्फत देशको समस्याको प्रमुख कारण नेपालमा पश्चिमा शैलीको संसदीय व्यवस्था भएको, नेपालको मौलिकता, विविधता र आवश्यकता अनुसारको लोकतन्त्र स्थापना हुन नसकेकोले अब समाजवादमार्फत उक्त खाँचो पूरा गर्न प्रगतिशील शक्ति र व्यक्तिबिच सहकार्य र एकतामा जोड दिइएको छ ।