बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

अनिल शर्मा

पुरानो मेडिकल कलेजको आकस्मिक कक्षमा थिएँ । प्रहरी नियन्त्रणमा उपचार भइरहेको थियो । सादा पोसाकको एकजना प्रहरीले सोधेका थिए, “एस.पी.साप्ले जिप्रका वा सरकारी अस्पताल कहाँ रहेर उपचार गर्ने हो सोध्नु, मेडिकल कलेजमा राख्न मिल्दैन भन्नुभएको छ । कता जानुहुन्छ ?” । “तिम्रो हाकिमले जे आदेश गरेको छ, त्यही गर” भनिदिएको थिएँ । साँझपख भरतपुर अस्पताल पु¥याए । त्यहीबेला कार्यालय पोसाकमा कोही महिलाको चिरपरिचित आवाज सुनेँ । अम्बिका रहिछन् । “तपाईं को ? किन ?? यहाँको कर्मचारी हो ???” उनीमाथि सादा पोसाके प्रहरीहरूका शिकारी प्रश्नहरू ओइरिए । तन्नामा पोको पारेर, चार जनाले झुण्ड्याएर मलाई आकस्मिक वाहनमा राखे । हेर्नेको भिडमा अम्बिका पनि देखेँ । अरू कोही थिएन । पार्टीमा सूचना त जाने भयो भनेर खुसी लाग्यो । अबेर भरतपुर अस्पतालको आकस्मिक कक्षमा लगेछन् । ढोकामा स्ट्रेचर रोकेर भर्ना प्रक्रिया सुरु गरे । तर घण्टौँ ढोकामा नै राखे । एकजना चिकित्सकले ‘खाली छैन’ भनेको सुनियो । ढोकामा नै सादा पोसाकको एकजनाले मुचुल्कामा सही गरिदिनुस् भन्यो । पढ्न सक्ने अवस्था थिएन । उसले पढेर सुनायो, “विष्फोटक पदार्थमा प्रयोग हुने २ वटा छर्रा” । “के लेखेको यो ? माटो र छर्रा पनि चिन्दैनौ ? सही गर्दिनँ” मैले झर्केर भनिदिएँ । “विधि विज्ञान प्रयोगशालामा पठाउछौँ । होइन रहेछ भने ठिकै भो नी, सही गर्नुस्” उसले भन्यो । “मेरो झोलाको सामान फालेर त्यस्तै आकार–प्रकारको विष्फोटक पदार्थ प्रयोगशालामा पठायौ भने के गर्ने ? मेरो झोलाको सामान जिप्रका, जिल्ला अदालत हुँदै विधि विज्ञान प्रयोगशालासम्म र त्यहाँबाट फेरि अदालतसम्म ल्याउँदा ठिक साँचो प्रक्रिया पुरा गरे नगरेको पारदर्शिताको आधार के हो ?” मैले भनेको थिएँ । “प्रहरीले त्यसो गर्दैन” उसले भन्यो । सुनसरीको एउटा इप्रकाले उमा भुजेल र सुमनलाई फोन, कागजपत्र नष्ट गर्ने अवसर दिएछ । त्यसकारण उसले षड्यन्त्र नगर्ला भन्ने उनीहरुले सोचे होलान् । तर जिप्रका पुग्दा मुचुल्काको खाली स्थानमा हस्ताक्षर लिइसकेपछि ‘एक थान घरेलु पेस्तोल’ लेखिएको रहेछ । कागज र मोबाइल फाल्न दिएर हतियार बरामद लेखियो । दाङमा चन्द्रबहादुर चन्द, सुभाससहितको टोलीविरुद्ध अदालतमा झोलाबाट खन्द्रङ्ग गर्दै पेस्तोलहरू टेबलमा झारियो । जनयुद्धकालमा विभिन्न जिल्लामा वर्षौँसम्म सबैलाई एउटै पेस्तोल देखाएर हात हतियार मुद्दा लगाइन्थ्यो । ‘होलटाइमर पेस्तोल’ भनिन्थ्यो त्यस्ता हतियारलाई । सुनसरी बालग्रामबाट गिरफ्तार भएका लक्ष्मण पौडेलको सन्दर्भमा सर्वोच्च अदालतको रिट आदेशबाट नै प्रहरी र सरकारको मण्डले चरित्र बुझ्न सकिन्छ । सर्लाहीका नेकपाका नेता कुमार पौडेलका हत्याराहरू गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी प्रमुख सर्वेन्द्र खनाल र उनीहरूको अपराधी समूहले प्रशिक्षित गरेको प्रहरी बलको नैतिक धरातल र विश्वशनीयताको दाबी आफैँमा हास्यास्पद थियो । ‘सही नगर्न पनि सकिन्छ’ भन्दै त्यो मान्छे गयो । त्यो प्रहरी मुद्दा फाँटको कुनै सिकारी हुँदो हो ।

राती कतिबेला हो कसैले खाना ल्याइदिएको थाहा भयो । खाना ल्याउने विज्ञान भाञ्जा रहेछन् । भेट्न दिएका थिएनन् । थोरै खाना खाएँ । तर तुरुन्तै वान्ता भयो । “औषधीको चक्कीसमेत नपग्लेकै अवस्थामा निस्क्यो । कसरी रात काट्नु हुन्छ ?” प्रहरी भन्दै थिए । नर्सले सलाइन चढाइन् । ‘पेन किलर’ दिइन् । दुःखाइ कम हुन थालेपछि चिसो लाग्यो । वैशाखको महिना थियो । चितवनको उखरमाउलो गर्मी । यस्तो समयमा चिसो ! शरीर छामँे । पिसाबथैली फुटेर घाँटीसम्म भिजेको रहेछ । आकस्मिक कक्षको वातानुकूलित तापक्रमले पिसाब चिसिएर जाडो भएछ । प्रहरीलाई ‘झोलामा कपडा छ कि हेरिदिनुस् न’ भनँे । प्याण्ट रहेछ । फेरेँ । लिँडे हवल्दारले माथिको कपडा फेरिदिन मानेन । पिसाबले भिजेको शरीर छुन उसलाई घिन लागेको हुँदो हो । ‘पिसाबले भिजेको कपडा लगाएर कसरी बस्छ !’ अर्को भन्दै थियो । कालो छाला भएको त्यो प्रहरी असईले कमिज फेरिदियो । त्यत्ति लुगा फेर्दा पनि निकै आनन्दानुभूति भयो । सुख, खुसी, आनन्द पनि सापेक्षिक विषय न हुन् । असई गरिब परिवारका रहेछन् । पहाडीमूल र गोरो छाला भएकाले पहाडीमूलकालाई सहानुभूति देखाउँछन् र मधेसी या कालोछाला भएकाले पूर्वाग्रह राख्छन् भन्ने कुरा मेरो भोगाइमा गलत साबित भएको थियो ।

अर्को दिन बिहान असहज महसुस भयो । नर्स बोलाउन लगाएँ । स्वचालित यन्त्रले शरीरमा ग्लुकोजको मात्रा नापिन् । शरीरमा ६० मिलिग्रामभन्दा तल ग्लुकोज तह घट्नु खतरनाक मानिन्छ । ४४ मिलिग्राममा झरेको रहेछ । अघिल्लो दिन बिहानैदेखि केही खाएको थिइनँ र साँझ वान्ता भएको थियो । नर्स आत्तिएर डाक्टरलाई खबर गरिन् । प्रहरीलाई चकलेट ल्याउन भनिन् । तर टेरेनन् । “यस्तो बिरामी ल्याउने, भनेको नसुन्ने” नर्स रिसाइन् । नर्सले चर्को स्वरमा कसैसँग चकलेट भए दिनुस् भनिन् । बल्ल प्रहरी पसलतिर लखर–लखर गर्दै गए । कसैले दिएको चकलेट ल्याएर नर्सले दिइन् । सलाइन चढाएको हुनाले मात्र ‘हाइपर ग्लुकोज’ हुनबाट बँचेको रहेछु । चिकित्सकका अनुसार शरीरमा ग्लुकोजको तह न्यूनतम्भन्दा तल झरेर शरीरका तन्तुहरूमा अक्सिजन अभाव भइ बेहोस हुने अवस्थालाई ‘हाइपर ग्लुकोज’ भनिँदोरहछे । त्यस्तो अवस्थामा बिरामीलाई तत्काल गुलियो पदार्थ दिएर खतरामुक्त गर्न सकिन्थ्यो ।

बिहान कति बजे हो, एक हुल मान्छे आए । जसमा डाक्टर भोजराज अधिकारी, नर्स, पत्रकारहरू सूर्य बराल, प्रकाश ज्ञवालीलगायत थिए । दुर्घटनामा पर्दा आँखामा पनि दबाब परेको कारण राम्ररी देखेको थिइनँ । धूमिल भइरहेको थियो । सबैलाई चिनिनँ । “म डाक्टर भोजराज दाइ !” उनले भनेका थिए । एकजना पत्रकारले “सुरक्षा र उपचारको अधिकार खोस्न पाइन्न भनेर दबाब दिएका छौँ । उपचारपछि रिहाइको आवाज उठाउँछाँै” भन्दैथिए । डा. भोजराजले उपचारको कोणबाट जानकारी गराए । क्याबिनमा सार्ने व्यवस्था मिलाए । औषधि परिवर्तन गरिदिए । उपचार प्रक्रिया बल्ल सघन भयो । प्रहरीले पत्रकारहरूलाई बोल्न रोक्दै थिए । त्यसपछि भने शारीरिक र मानसिक रूपमा ऊर्जा थपिएको महसुस भयो ।

तेस्रो दिन फेरि स्ट्रेचरमा एक्सरे, ईसीजी प्रयोगशाला ओहोर–दोहोर गर्दागर्दै हैरान भएँ । पुरानो मेडिकल कलेजका कागजपत्र प्रहरीले उतै गायब गरिदिएको थियो । पुरानो मेडिकल कलेजबाट पक्राउ गरेको प्रमाण नै नष्ट गर्न चाहन्थे उनीहरू । अपरान्ह म्याद थप्न लगे । साँझपख गिरफ्तार गरेको कागज बनाएका रहेछन् । लासजसरी स्ट्रेचरमा सुताएर न्यायाधीशसमक्ष पेस गरे । अदालतमा पनि त्यही मट्याङ्ग्रा देखायो कसैले । प्रहरी पोसाक नलगाएको हुनाले त्यो मान्छे प्रहरी हो कि साइकल चोर हो बुझ्न सकिनँ । प्रहरीले मुचुल्कामा दस्तावेज बरामद भएको लेखेको थियो । मैले अस्वीकार गरेको थिएँ । दस्तावेज भएको भए स्वीकार नगर्नुपर्ने कारण थिएन । मैले भतिज उमेशलाई भनेर शोभामार्फत ‘दस्तावेज’को अर्थ हेर्न लगाएको थिएँ । नेपाली बृहद् शब्दकोशका अनुसार “कुनै राजनीतिक पार्टी वा सामाजिक संघ संस्थाद्वारा आफ्नो नीति र कायत्र्रmम स्पष्ट झल्किने गरी प्रकाशित प्रतिवेदन र विधान दस्तावेज हो” भनिएको छ । प्रज्ञा प्रतिष्ठानको परिभाषा प्रतिकूल अर्थ लगाउनु आफैँमा गैरकानुनी कार्य हो । किनकि प्रज्ञा प्रतिष्ठान पनि सरकारकै अङ्ग हो । मसँग किताब, विज्ञप्ति, लेख, समाचार, कविताका पाण्डुलिपि मात्र थिए । कागजका हरेक टुक्रालाई दस्तावेज देख्ने ‘फोबिया’ अर्थात् मानसिक रोग प्रहरीमा सधैँ रहिआएको छ । बिहारबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएका हुन् कि मानसिक रोगी ? प्रहरीको बुझाइ र व्यवहारले प्रश्न उब्जिन्थ्यो ।

तेस्रो दिन अबेर पातलो, गहुँगोरो, चरिचुच्चे बाहुन केटो कोठामा अरू चारजनासहित आएर कुर्सीमा बस्दै “म इन्सपेक्टर सुभास भट्ट, तपाईंको मुद्दा हेर्ने अधिकृत” भन्यो । अर्को दिन एक हलु मान्छे कोठामा पसे । बयान लिन सुरु गरे । सुतेरै बोलिरहेँ । उनीहरू पार्टीको आन्तरिक मामलामा खेल्न खोज्दै थिए । जनयुद्धमा प्रचण्ड पक्षधर कि बाबुराम ? नेताहरू विदेशमा बसेर मस्ती गर्ने, तिमीहरू दुःख गर्ने ? यस्ता विषय उठाउँथे । नेता र कार्यकर्ताका बीचमा अविश्वास सिर्जना गर्ने, अन्तरविरोध बढाउने र अन्तरध्वंशको षड्यन्त्र गर्ने उनीहरूको राणनीति हुनेगर्छ । मसँग त्यही मिति गुज्रेको औषधि प्रयोग गर्न खोज्दैथिए । तर हात केही नलाग्ने भएपछि विषयान्तर गरे ।

अबेर भइसकेको थियो । दोस्रो दिनबाट रगतमा चिनीको मात्रा अत्याधिक बढेको थियो । सुतेर बोल्दा पनि थाकिसकेको थिएँ । मुख सुक्यो । पानी खाएँ । बयान रोकेर नर्सले रगत झिकिन् । दैनिक ४ पटक रगत जाँच गर्दा ८ पटक रगत झिक्थे । “दाइ, रगत झिकेको नहेर्नुस् न ! के गर्ने हात प्वालै प्वाल भइसक्यो । यो नर्सको जात पनि कस्तो पापी हुन्छ है दाइ !” केशरबाग घर भएकी नर्स संगिता चौधरी भन्थिन् । उनैले ‘दाइ गाह्रो भयो’ भनी प्रश्नभन्दा माया प्रदर्शन गर्दै रगत झिकेर गइन् । प्रहरीले फेरि बयान लिन सुरु गरे । कमरेड कञ्चनको पुस्तक निकाल्दै “देशको संविधान र कानुनविरुद्ध जनसेना बनाउन, हतियार राख्न, सत्ता पल्टाउन पाइन्छ ? यो कार्य गैरकानुनी भएन ?” प्रश्न गरे । मैले त्यो पुस्तक मेरो नभएकोले मैले जवाफ दिन सक्दिनँ । अर्कोतिर पुस्तकको विषय सैद्धान्तिक विषय हो । नेपालको संविधानले संविधानकै विरुद्ध जनमत निर्माण गर्ने अधिकार दिएको छ । अभिव्यक्ति स्वतन्त्रता संविधानभित्र कैद हुँदैन । नेपालको संविधानले राष्ट्रपतीय प्रणालीको परिकल्पना गरेको छैन । तर संसदमा नै त्यसको पैरवी भइरहेको छ । के राष्ट्रपतीय प्रणालीको माग गरेर चालु व्यवस्थाप्रति अनास्था सिर्जना गर्ने सांसदमाथि प्रहरीले कारवाही गर्न सक्छ ? मेरो प्रश्न हुन्थ्यो । बहस सुनिरहेका असइ धामी ‘यो सैद्धान्तिक विषय हो’ भन्दै मरिमरि हाँस्थे ।

पहिलो दिनमै बयान सकिने कुरा भएन । अर्काे दिन मेरो पृष्ठभूमि लिए । मैले पनि जीवनी लेखाएझैँ लेखाइदिएँ । मेरो पृष्ठभूमि अदालतमा पेस गरेर उनीहरू मलाई पेशेवर अपराधी ठहर गराउन चाहँदा हुन् । वर्ग वैरीबाट मलाई गोरखा दक्षिणबाहु थाप्नु पनि थिएन । प्रधानमन्त्री रहेका केपी ओलीसमतेको निर्देशनमा २०२८ सालमा झापाका धर्मनाथ ढकालको टाउको काटिएको थियो । अष्ट्रेलियाबाट अध्ययनकै बीच बिदामा घर आएका अबोध कलिला विद्यार्थी तथा ढकालपुत्रलाई विषय खुल्न सक्छ भनेर हत्या गरेका थिए । धर्मनाथको छोरो हुनु नै उनको मृत्युको कारण भयो । त्यो स्तरको अपराध त इतिहासमै भेटिन्न । काँग्रेसले २००७ सालपछिकै कुरा गर्दा २०४२ सालमा जनकपुरमा राजा महेन्द्रमाथि बम हानेको थियो । काँग्रेसको बमचाहिँ सयपत्रीको थुंगा हो र ? प्रचण्डले १० हजारको मृत्युको जिम्मा लिन्छु भनेकै छन् । पञ्चायती व्यवस्था त विश्वसमुदायको आँखामा हत्या, आतंक र असभ्य शासनको रूपमा बदनाम छँदैछ । राणा र शाह वशं रगतको भेलमा पौडी खेलेर ठडिएको हो । शासकको अनुहारमा भोका, नाङ्गा र देशभक्त जनताको आँशु, पसिना, पीडा र रगतको छिर्का लतपतिएको देख्न सकिन्छ । तिनै शासकका चम्चाहरू मसँग कानुन र शान्तिका कुरा गर्दै थिए । नैतिक बल र आत्मविश्वास नभएका कनिष्ठ हाकिमहरू दोहो¥याइरहन्थे, “के गर्ने, हामी त अह्राएको गर्ने, आदेश मान्नै पर्ने मान्छे ।” लाग्थ्यो विवेकहीन यन्त्रमानवसँग बहसको कति अर्थ हुन्छ ! बहस सकेर जानेबेला प्रहरी निरीक्षक भट्ट भन्दैथिए, “मैले वीन–वीन होस् भन्ने चाहेको छु ।” त्यो भनाइभित्र धम्की, लालच, कपट, विभ्रम सबै थियो । दुवैको जित होस् भनेर सबैको साखुल्ले बनेर आपूmले जित्ने गुलियो विष खुवाउन चाहन्थे भट्ट । “कि तिमीहरूले जित्नेछौ कि त म जित्नेछु” म भने त्यसरी सोच्दैथिएँ ।

चितवन जिल्ला अदालतले उपचारमा बाधा–व्यवधान नपु¥याउनु भन्ने आदेश र जनदबाब समेतको कारण प्रहरीले भेटघाटमा कडाइ गर्न सकेको थिएन । कृष्ण खनाल, विजय सुवेदी, कृष्णभक्त पोखरेल, बद्री तिम्ल्सिना, इन्द्रजीत परियार, कपिल भट्ट, इन्द्रप्रसाद गौतम, अम्बिका मुडवरीलगायत नेताहरूसँग छलफल हुन्थ्यो । उपचार र सुरक्षामा मद्दत भइरहेको थियो । लामो समय छलफल गरेको भन्दै एकजना असई र पत्रकार सूर्य बरालको एक दिन झगडा प¥यो । मलाई इच्छयाइएको अस्पतालबाट प्रहरीले अपहरण गरेर आपूm अनुकूलको अस्पतालमा लग्नु र म सरकारको नियन्त्रणमा भएको कारण निःशुल्क उपचार हुनुपर्छ भन्ने मेरो माग र दाबी थियो । सरकार तयार थिएन । अस्पतालका ‘मेसु’ श्रीराम तिवारी सरकारको मतियार बनेका थिए । जनदबाब, अस्पतालका अध्यक्ष भोजराज अधिकारी, विजय सुवेदी, कमल पाठकसहितको सकारात्मक पहल र सरकारले उपचार नगरे आमरण अनसन बस्ने चेतावनीसमेतको कारण भरतपुर अस्पतालमा भएको सेवा निःशुल्क गराउन प्रहरी र अस्पताल तयार भए । कोभिड–१९ को महामारी उत्कर्षमा रहेको समयमा पनि छलफल, भेटघाट भइरहेको थियो । हिरासतमा नै धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ र मकरध्वज गुरुङसँग फोनमा छलफल भएको थियो । गुरुङसँगको त्यो भेट नै अन्तिम भयो । मुटु रोगी गुरुङ कोरोनाको कारण बित्नुभएछ । चिकित्सकहरू प्रकाश खतिवडा र श्रवणकुमार थापाको मद्दत अविस्मरणीय थियो । पदम गुरुङ, डिलबहादुर अधिकारी, नारायण शर्मा ‘विपिन’को छलफलले हिरासत बिर्साउँथ्यो । सञ्चारकर्मीहरू किशोर श्रेष्ठ, सूर्य बराल, दीपेन्द्र अधिकारी, प्रकाश ज्ञवाली, निमकान्त पाण्डे, भीम चापागाईँ, प्रकाश डुम्रे, नारायण नेपालआदिसँग छलफल भइरहन्थ्यो । जसको कारण चितवनको हिरासत सरकारले चाहेकोजस्तो थिएन ।३ तर चितवनबाट अरू जिल्ला लगेपछि भने परिस्थिति प्रतिकूल हुने निश्चित थियो ।

गिरफ्तार भएको पच्चिसौँ दिन चितवन जिल्ला अदालतमा बयान र थुनछेक आदेश थियो । जिल्ला न्यायाधीश रावलसँग मेरो लेख र कविताहरू फिर्ता दिलाइदिन माग गरेँ । कविता चोर्नेले सुन पनि चोर्छ । संविधानले बौद्धिक सम्पत्तिको रक्षा गरेको छ । तर प्रहरीले चोर्ने, अदालत हरिरहने गर्न मिल्दैन भनेको थिएँ । एसपी नान्तीराज गुरुङलाई पनि भन्न छोडिनँ । न्यायाधीश केही बोलने न् भने गुरुङ ‘मुचुल्कामा राखे होलान् कि !’ भन्दै बिरालो चालमा कोठाबाट लुसुक्क निस्किएर अलप भएका थिए । धनुषा र काठमाडौँका सरकारी दूतहरू भरतपुर अस्पताल वरपर घुमिरहेको सूचना प्राप्त हुन्थ्यो । सांसद अपहरण गर्ने गिरोह सरकारको नेतृत्वमा रहेको बेला मलाई कुनै पनि बेला अपहरण गरेर कतै लैजान सक्थे । तर बाघको बच्चाले भोक लाग्दैमा घाँस खाँदैन ।

चितवनको हिरासतमा मधेसीमूलका जवानहरू अरूभन्दा सकारात्मक रहेको अनुभूति भएको छ । एउटा असल श्रमिकलाई अर्को श्रमिकबाट अलग गर्ने, एकता हुन नदिने सबै तत्वहरू– भाषा, धर्म, जाति, लैङ्गिकता, रङ्ग, क्षेत्र, परम्परा सबै–सबै त्याज्य छन् । शोषण र उत्पीडनको पीडा सबैलाई उस्तै हुन्छ । प्रतिक्रिया मात्र फरक हुने त हो । शरीर र मनको प्रत्यक्षसम्बन्ध हुन्छ भन्छ भौतिकवाद । तर शारीरिक बल कमजोर हुँदैमा मानसिक शक्ति वा साहस कमजोर नहुने रहेछ । लक्ष्य र लक्ष्यप्रतिको नैतिक बल पर्याप्त छ भने शारीरिक दुर्बलता भएपनि साहसको कमी नहुँदो रहेछ ।

भदौ आधाबाट चितवनमा कोभिड–१९ महामारी उत्कर्षमा थियो । अस्पतालको मूल ढोकामा प्रहरीहरू बस्थे । उचित कारणबाहेक अस्पताल प्रवेश गर्न दिँदैनथे । म बसेको भवनको तल्लो तलामा कोभिड–१९ का बिरामी हुन्थे । हरेक दिन डरलाग्दा पासाक लगाएका प्रहरी र सेनाले मृतकहरुलाई लैजान्थे । त्यो दृश्यसँगै अनेकथरि हल्ला भयावह बन्दै फैलिन्थ्यो । भदौ दोस्रो साता तला भरीमा ममात्र भएँ, सुनसान भयो । नर्स र महिला सहयोगीहरू अस्पतालभित्रै तर्सिन, डराउन थाले । अस्पतालमा भूत–प्रेतका अनेक कथाहरू सुनाउँथे । मसँग भतिज उमेश थिए । उनको चिनियाँ विश्वविद्यालयको पढाई लेप्टोमार्फत हुँदै थियो । म उठबस गर्न सक्ने भएपछि घर जान भनेको थिएँ । उनी गएनन् । दिदीसँग ‘अङ्कललाई छोडेर जानै सक्दिनँ’ भन्थे रे । भरतपुर अस्पतालको बिरामी कुरुवा भनेपछि होटले ले अनेक बहाना गरेर खाना नदिने, आफन्तहरू भेट्न डराउने, कल्पनै गर्न नसकिने त्रासदी र अनुभूतिबीच पढाइ र सङ्क्रमण पचाएर उनले मेरो सेवा गरे । बाहिरी संसारसँग मलाई जोडे । मेरो समाचार सार्वजनिक गरेकाले बेला–बेला उनलाई प्रहरीले धम्काउँथे । अध्ययन, सिद्धान्त, राजनीतिक ज्ञान र लेखनमा विकास गर्दै गरेको युवा हुनाले सजिलै तर्सिदैनथे । म अध्यात्मवादमा विश्वास गर्ने मान्छे भएको भए ईश्वरले कृपा गरेर मेरो उद्दार गर्न पठाइदिएको ‘ईश्वरको दूत’ ठान्थेँ होला । चितवनको हिरासतमा रहँदाको एउटा दुलर्भ सुःखद क्षण के भयो भने विद्यार्थी राजनीति गर्दाका मेरा सहयोद्धा तथा अधिवक्ता गोपिलाल देवकोटाले प्रहरीले मुचुल्कामा राखेका मेरा सम्पूर्ण लेख तथा कागजपत्रको छायाँप्रति उपलब्ध गराइदिए । जसमा मैले एक वर्षभन्दा बढी र तीनपटकसम्म पुर्नलेखन गरेको अर्थ राजनीतिक विषयको लेख पनि थियो । जुन अझैसम्म प्रकाशित गरेको पनि थिइन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार