तिम्रा पदचापहरु

अनिल विरही
तिमी सहिद भएको
स्वीकार्न सक्दैन समयले
तिम्रा पदचापहरु नियाल्दै
‘म यो गोरेटो हिड्थेँ’
र ‘अहिले यहाँ छु’ भन्ने
कुनै हस्तरेखा वा पदचिन्ह
यतैकतै असरल्ल छन् ?
जसरी नियन्डरथलले गुफामा छोडेथे ।
म यो क्षण पनि
सुन्न चाहन्छु तिम्रा पदचापहरु
कोलाजमा प्रतिध्वनित
तिम्रो प्रीय आवाज
चुरेका तरेलीमा
प्रतिध्वनित भइरहेको सुन्छु ।
तिम्रो अभावमा
उ त्यो परको सुकुमवासी बस्ती
मलिन–मलिन छ
र ह्दयमा कोलम्बस खोज्छ
पर क्षितिजतिर
आगाका झिल्काहरु छन्
यो विभ्रम होइन
यो विभ्रम त हुँदै होइन कान्छा ।
धेरै पहिले
बासु लामिछानेहरु गए
भोगट रायहरु गए
अजवहअरु, गणेशहरु गए
एक साँझ फेरि
निन्याउरो बस्तीभित्र
व्वासो पस्यो
र कुमारलाई झम्ट्यो ।
जसरी रामबृक्षलाई कांग्रेसले लग्यो
जसरी गंगालाललाई राणाहरुले लगे
तर कान्छ !
आँसुको भेलले संसार बदलिने छैन
हामी धेरै टाढा पुग्नु छ
रङ्गमन्चमा अनेक दृष्य देखिने छन्
तिमी थाक्नु हुन्न
किनकी सुकुमवासी त्रसित छ
भोक÷रोगको त्रासदी उस्तै छ
हामी थाक्नु हुँदैन
अघाएका मान्छेका गीत धेरै सुन्नु हुँदैन
लखनदेहीको डिएनए सामु उभिएर
सपथ खानुपर्छ
अझै धेरै टाढा जानुपर्छ ।