राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट आह्वान
काठमाडौँ । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान गरिएको छ । शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा हुन लागेको उक्त महोत्सवमा सहभागीताका लागि इच्छुक व्यक्ति,संघ,संस्था,नाट्य समूह,विद्यालय लगायतलाई नाटकको स्कृप्ट दर्ताका लागि आह्वान गरिएको हो ।
शैली थिएटरले हरेक वर्ष जस्तै यो बर्ष पनि राष्ट्रिय बाल नाटक महोत्सव गर्न लागेको छ । जसका लागि नाटकको स्कृप्ट पुस २० गतेसम्म बुझाउन सकिने महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् ।
विगत १६ वर्षदेखि शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्दै छ । कोरोनाको समयमा समेत भर्चुअल रूपमा यो महोत्सव सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै १७ औँ महोत्सव आयोजनाको संघारमा आईपुग्दा खुशीको सिमा नरहेको शैली थिएटरका महासचिव सविन न्यौपानेले बताए ।
अर्का आयोजक ओजस थिएटरका प्रमुख सागर कार्कीका अनुसार, महोत्सवका लागि छनौट भएका स्कृप्टलाई पुस २५ गते सार्वजनिक गर्ने तालिका रहेको छ । यो महोत्सव सात दिनसम्म रुसी सदन,कमल पोखरीमा सञ्चालन हुनेछ ।
नाटकको स्कृप्ट रूसी सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटर तथा ओजस थिएटरमा बुझाउन सकिने छ । अथवा इमेल ठेगाना shailee.script@gmail.com मा इमेल पनि गर्न सकिनेछ । थप जानकारीका लागि ९८४१२५६५८३ वा ९८६३८००९३८ मा फोन गरेर बुझ्न सकिनेछ ।
नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न नपाउने नियम आयोजकले बनाएको छ ।
त्यस्तै नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्मको समूह सहभागी हुन पाइने जनाइएको छ ।
२०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटक महोत्सवमा पहिलो वर्ष ६ वटा नाटकहरू समावेश रहेका थिए । त्यस्तै, २०६७ सालमा १० ओटा नाटक मञ्चन भएका थिए भने, २०६८ सालमा ८ वटा, २०६९ सालमा १४ वटा, २०७० सालमा १० वटा नाटक समावेश रहेका थिए । त्यस्तै, २०७१ सालमा १५ वटा, २०७२ सालमा १२ वटा, २०७३ सालमा १५ वटा, २०७४ सालमा १५ वटा, २०७५ सालमा २० वटा, २०७६ सालमा १८ वटा तथा, २०७७ सालमा १२ वटा, २०७८ सालमा १० वटा नाटक मञ्चन भएका थिए । रूसी सदन कमल पोखरीमा आयोजना भएको २०७९ सालको महोत्सवमा २९ वटा नाटक मञ्चन भएका थिए ।
महोत्सवमा उत्कृष्ट नाटकलाई अवार्ड, प्रमाणपत्र सहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।
