सरकारी आम्दानी र खर्च हरेक दिन थाहा पाइने

२०७० जेष्ठ २८ गते, मंगलवार


काठमाडौ, जेठ २८ – आउदो आ.ब.देखि सरकारको खर्च र आम्दानीको बिबरण हरेक दिन थाहा पाउन सकिने भएको छ ।अहिले ६० जिल्लामा लागु भएको एकल कोष खाता साउन १ गतेदेखि ७५ वटै जिल्लामा लागु हुने भएपछि दिनभरी सरकारी खाताबाट हुने खर्च र राजस्व मार्फत हुने आम्दानीको बिबरण बेलुका कार्यालय समय सकिने बित्तिकै थाहा हुने भएको हो ।
साउनदेखि सरकारको राजस्व र खर्चको बिबरण एकैपटक थाहा पाउन सकिने कार्यबाहक महालेखा नियन्त्रक अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।थोरै कारोबार हुने १५ जिल्लामा मात्रै एकल कोष खाता लागु हुन बाँकी रहेकोले अहिले पनि झण्डै ९५ प्रतिशत हिसाब दैनिक आउँछ । एकल कोष खाता भनेको सरकारी रकमको कारोबार गर्ने देशभरिका कोष तथा लेखा नियन्त्रण कार्यालयको नाममा रहेको खाताको राष्ट्र बैङ्कमा हुने एउटै खाता हो ।
यस्तै महालेखा नियन्त्रकको कार्यालयले देशको सरकारी खर्चको ब्यबस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन गृहकार्य तीव्र बनाएको छ ।कार्यबाहक महालेखा नियन्त्रक पोखरेलका अनुसार सरकारी खर्चको दुरुपयोग हुन नदिन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सार्बजनिक बित्तीय ब्यबस्थापनको तुलना गर्न सकिने गरि सुधारका काम अघि बढाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]