सञ्चय कोषमा एक खर्ब चालिस अर्ब सञ्चित

२०७० जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौ, कर्मचारी सञ्चय कोषमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा सञ्चयकर्ताको रु एक खर्ब ४० अर्ब सञ्चित भएको छ।दस वा दसभन्दा बढी कर्मचारी काम गर्ने सरकारी कर्मचारीको मासिक तलबबाट कोष रकम कट्टी गरी कोषमा जम्मा गराउन सक्ने गरी विसं २०१९ मा कर्मचारी सञ्चय कोषको स्थापना भएको हो। सुरुको वर्षमा ३० हजार सञ्चयकर्ता रहेकामा हाल सञ्चयकर्ताको सङ्ख्या चार लाख ७० हजार पुगेको छ। सुरुका वर्षमा वार्षिक रु ४३ लाख ४१ हजार ४९६ सञ्चयकोषमा रकम जम्मा हुने गरेको थियो।
हालका वर्षहरूमा बर्सेनि रु १६ अर्बभन्दा बढी रकम कोषमा थपिने गरेको छ। कोषमा संवैधानिक निकाय र विकास समितिसमेत निजामतीका ९१ हजार नेपाली सेनाका ९८ हजार, नेपाल प्रहरीका ९० हजार र सार्वजनिक र निजी संस्थानका एक लाख पाँच हजार र ८७ हजार शिक्षकशिक्षिका सञ्चयकर्ता रहेका छन्। कर्मचारी सञ्चयकोषले सञ्चयकर्ताका लागि विशेष सापटी, घर सापटी कार्यक्रम, शैक्षिक ऋण कार्यक्रम र सरल चक्र कर्जा कार्यक्रम सञ्चालन गरेको छ।
विशेष सापटी कार्यक्रममा सञ्चित रकमको ९० प्रतिशत रकम भुक्तानी, घर सापटी कार्यक्रममा सुरु तलव स्केलको हिसावले १० वर्षको तलब रकमसम्म, शैक्षिक ऋण कार्यक्रममा स्वदेशमा रु नौ लाख र विदेशमा रु १२ लाखसम्म र सरल चक्र कर्जा कार्यक्रममा रु २० लाखसम्म भुक्तानी दिने गरिएको छ।
कोषले सञ्चालन गरेको सरल चक्र कार्यक्रम परीक्षणका लागि हाल काठमाडौँ उपत्यकामा मात्रै सञ्चालन भएको र पछि अन्य शाखाहरूमा पनि सञ्चालन गरिने बताइएको छ। कोषले सुरुका वर्षहरूमा सरकारको जमानतमा संस्थाहरू र कर्मचारीलाई सापटीमा लगानी गर्ने गरेकोमा पछिल्लो समयमा मुद्दती निक्षेप र ऋण तथा बचत पत्रहरूमा लगानी गर्न थालेको छ। विसं २०५० देखि कोषले संस्थागत ऋण, कन्सोटियम ऋण, परियोजना कर्जा, बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरी लगानी विविधिकरण गरेको छ। ठूला विद्युत् परियोजना एवम् सुरक्षित पूर्वाधार विकास आयोजनामा लगानी गर्ने नीति कोषले लिएको छ।
परियोजना कर्जातर्फको लगानी २०६९ असार मसान्तसम्ममा रु १० अर्ब ७३ करोड रहेको छ। जुन कूल लगानीको नौ प्रतिशत रहेको छ। कोषले राष्ट्रिय महत्वको माथिल्लो तामाकोसी जलविद्युत् योजनामा रु १० अर्ब र चिलिमे जलविद्युत् कम्पनीबाट प्रवर्द्धित चार जलविद्युत् आयोजनामा गरी रु १६ अर्ब लगानी गर्ने निर्णय गरिसकेको छ। ठूला विद्युत् परियोजनामा सञ्चयकर्ता कर्मचारीको सेयर लगानी हुने व्यवस्थासमेत कोषले मिलाएको छ।

प्रतिक्रियाहरु

[anycomment]