नेपाल कालोसूचीमा पर्नबाट जोगियो
काठमाडौं, ७ असार- वेलैमा कानुन निर्माण गरेकाले नेपाल कालोसुचीमा पर्नबाट जोगिएको छ । नर्वेको ओस्लोमा जारी फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटिएफ) को वैठकले नेपाललाई ग्रे एरियामा यथावत राखेको छ । ३० देशका प्रतिनिधि उपस्थित एफएटिएफको वैठकले शुक्रबार नेपाललाई ग्रे एरियामा यथावत राखेको हो । नेपाललाई कालोसुचीबाट जोगाउन कानुन सचिव भेषराज शर्मा, राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र सम्पति सुद्धिकरण निवारण विभागका महानिर्देशक सूर्यप्रसाद आचार्य ओस्लो वैठकमा गएका थिए । नेपालले अन्तर्राष्ट्रिय समूदायसँग गरेको प्रतिवद्धता अनुसार, सम्पति जफत रोक्का तथा नियन्त्रण ऐन र सम्पति सुद्धिकरण दोस्रो शंसोधन ऐन निर्माण गरेपछि कालोसुचीमा पर्नबाट जोगिएको हो । नेपालले चार महिनाअघि पेरिसमा भएको एफएटिएफको वैठकमा यि कानुन निर्माण गरेर मात्र भाग लिन आउने जानकारी गराएको थियो । यदि नेपाल कालोसुचीमा परेको भए विश्वका सरकारहरुले नेपाली निकाय, संस्था वा नागरिकसँग वित्तीय वा अन्य कारोवार गर्दैन थियो । उनीहरुले उच्च सतर्कतापूर्वक मात्र गर्न निर्देशन दिने, नेपालका निकायहरु राष्ट्र बैंक, बैंक र कुटनैतिक नियोग लगायतका विदेशका बैंकमा रहेका खाता बन्द गर्न सक्छन् ।