रोजगार बचत पत्र पाँच गुणा बढी बिक्री

२०७० श्रावण ३ गते, बिहीबार

काठमाडौं, ३ साउन । सरकारले जारी गरेको वैदेशिक रोजगार बचत पत्रमा विदेशमा कार्यरत नेपालको आकर्षण उल्लेख्य बढेको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच गुणा बढी रकमको बचत पत्र बिक्री भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।गत असार ३० गते बाँटफाँट भएको बचत पत्रमा ४ करोड २८ लाख ५५ हजार रुपैयाँको बिक्री भएको छ । २०७५ सालमा सावाँ फिर्ता हुने ५ वर्षे बचत पत्रमा सरकारले वाषिर्क १०.५ प्रतिशतको ब्याज प्रदान गर्ने जनाएको छ ।बचतपत्र खरिदकर्ताले ६/६ मा ब्याज प्राप्त गर्नेछन् । बीचमा रकम आवश्यक पर्ने व्यक्तिले बचत पत्र धितो राखेर बैंकबाट सहजै ऋण लिन पनि सक्छन् ।
वैदेशिक रोजगारमा गएका नेपालीलाई बचतको लागि प्रोत्साहन गर्न र उनीहरुको आम्दानी विकास निर्माणमा उपयोग गर्नका लागि सरकारले चार वर्षदेखि बचतपत्र जारी गर्दै आएको छ ।सरकारले सुरु वर्ष ९.७५ प्रतिशत ब्याजमा ४० लाख रुपैयाँ, दोस्रो वर्ष १०.५ प्रतिशत ब्याजमा ३३ लाख ८० हजार र तेस्रो वर्ष १० प्रतिशत ब्याजमा ८६ लाख ६० हजार रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो । सरकारले साधारण ऋणपत्रको तुलनामा वैदेशिक रोजगार बचतपत्रमा बढी ब्याज दिने गरेको छ ।नेपालमा रेमिटान्सको वृद्धिदर वाषिर्क २० प्रतिशतभन्दा माथि रहेको छ । यस वर्ष ११ महिनामा ३ खर्ब ८८ अर्बको रेमिटान्स भित्रिसकेेको छ । त्यस आधारमा बचत पत्रमा लगानी भएको रकम अत्यन्तै न्यून हो । सरकारले १ अर्ब रुपैयाँको बचत पत्र जारी गरेको थियो ।जनचेतनाको अभाव र प्रचारप्रसारको अभावले न्यून बचत पत्र बिक्री हुने गरेको हो । यस पटक नेपाली रोजगारकर्मीमा बढेको चेतना, डलरको मूल्यमा भएको वृद्धि र उच्च ब्याज दरको कारण गत वर्षको तुलनामा बचतपत्रको बिक्री उल्लेख्य बढेको राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो ।
सरकारले गत आर्थिक वर्षमा ३८ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिए पनि खर्च गर्न नसकेका कारण १९ अर्ब रुपैयाँ मात्र उठाएको थियो । अन्य ऋणपत्र संस्थागत र व्यक्तिगत दुई थरी हुन्छन् भने वैदेशिक रोजगार बचत पत्र विदेशमा काम गर्ने नेपालीको आम्दानीबाट मात्र किन्न सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]