क्यासिनोमा कडाइ
काठमाडौँ । मन्त्रिपरिषद्ले गत साता पारित गरेको ‘क्यासिनो नियमावली’ कार्यान्वयनमा आएसँगै तीनतारे होटलले क्यासिनो सञ्चालन गरेका मुलुकभर डेढ दर्जन मिनी क्यासिनो बन्द हुने भएका छन् । नयाँ ‘क्यासिनो नियमावली’ कार्यान्वयनमा आएसँगै तीनतारे होटलले क्यासिनो सञ्चालन गर्न पाउनेछैनन् । क्यासिनोसम्बन्धी नयाँ नियमावली लागू भएपछि मुलुकभर सञ्चालित डेढ दर्जन मिनी क्यासिनो बन्द हुने भएका हुन् । चार र पाँचतारे होटलमा मात्र क्यासिनो सञ्चालन गर्न पाउने गरी नियमावली तयार भएको मन्त्रालयका सहसचिव पूण्चन्द्र भट्टर्राईले बताए । सीमाक्षेत्रका तीनतारे होटलले स्तरोन्नति गरे पनि क्यासिनो सञ्चालन गर्न भने पाउनेछैनन् । नियमावलीअनुसार सीमा क्षेत्रको पाँच किलोमिटरभन्दा टाढा मात्रै क्यासिनो चलाउनुपर्नेछ । मुलुकभर सञ्चालित अधिकांश मिनी क्यासिनो पाँच किलोमिटरभन्दा नजिक छन् । भारतीय पक्षको अनुरोधमा दूरी निर्धारण गरिएको मन्त्रालयका एक अधिकारीले बताए । सीमाक्षेत्रमा क्यासिनो राख्दा अपराध बढेको भन्दै भारतीय पक्षले अनुरोध गरेपछि दूरी तोकिएको छ । हाल मुलुकमा फर्चुन सिटी र हृयाप्पी आवरका चेनका रूपमा मिनी क्यासिनोहरु सञ्चालनमा छन् । नेपालगन्ज, भैरहवा, जनकपुर, वीरगन्ज, विराटनगर, महेन्द्रनगरलगायतका सीमावर्ती सहरमा मिनी क्यासिनोका सञ्जाल फैलिएका छन् । क्यासिनो सञ्चालकहरुले भने नयाँ नियमावलीका विषयमा अध्ययन भइरहेको भन्दै प्रतिक्रिया दिन चाहेनन् । ‘हामी अहिले नयाँ नियमावली अध्ययनकै चरणमा छौँ, के गर्ने भन्नेमा सबैसँग छलफलपछि मात्र निर्ण्र् गर्नेछौँ,’ एक सञ्चालकले भने । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमिको पालामा मन्त्रीस्तरीय निर्ण्ाट मिनी क्यासिनोलाई अनुमति दिइएको थियो । उनीपछिका मन्त्री शरत्सिंह भण्डारीले यसलाई निरन्तरता दिँदै थप मिनी क्यासिनोलाई अनुमति दिएपछि यो विषय संसदीय समितिमा समेत विवादित बनेको थियो । मन्त्रालयले ५० हजार रूपैयाँ रोयल्टी लिएर तीनतारे होटलमा क्यासिनो सञ्चालनका लागि स्वीकृति दिएको थियो । व्यवसायीका अनुसार अहिलेसम्म मिनी क्यासिनोमा ५० करोडभन्दा बढी लगानी भइसकेको छ । सीमाक्षेत्रमा सञ्चालित यस्ता क्यासिनोमा भारतीय पर्यटकलाई लक्षित गरिए पनि नेपालीलाई खेलाएको आरोपमा सञ्चालकहरु पटक-पटक पक्राउ पर्दै आएका छन् । मुलुकमा क्यासिनो स्थापनाको ४० वर्षछि बनेको नियमावलीमा मिनी क्यासिनोको प्रावधान नै हटाइएको छ । ‘कम्तीमा पाँचतारे होटल वा सोसरहको डिलक्स रिसोर्ट परिसरभित्र क्यासिनो सञ्चालन गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ, ‘र, चारतारे होटलमा मात्र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल सञ्चालन गर्नुपर्नेछ ।’ क्यासिनो सञ्चालन गर्न कम्तीमा २५ करोड र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालन गर्न कम्तीमा १५ करोडको चुक्ता पुँजी हुनुपर्ने नियमावलीमा उल्लेख छ । नियमावलीमा ‘क्यासिनो सञ्चालन गर्न निवेदन दस्तुरबापत ५ लाख र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा २ लाख लाग्ने तथा क्यासिनोका लागि इजाजत दस्तुर २ करोड र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलका लागि १ करोड रूपैयाँ लाग्ने’ उल्लेख छ । सधैँजसो रोयल्टी विवादमा पर्दै आएका क्यासिनोबाट समयमै बक्यौता उठाउन एक वर्षो रोयल्टी रकमबराबरको बैंक ग्यारेन्टी पर्यटन मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ । सरकारका उच्च अधिकाररुले नै नेपालीलाई क्यासिनो प्रवेशमा प्रतिबन्ध फुकुवाको प्रयास गरे पनि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको असहमतिका कारण नियमावलीले प्रतिबन्धलाई यथावत् राखेको छ । नेपाली नागरिक क्यासिनो खेल्न र क्यासिनोस्थलमा प्रवेश गर्न नपाउने व्यवस्था रहेको सहसचिव भट्टर्राईले जानकारी दिए । क्यासिनोमा लगानी भने खुकुलो बनाइएको छ । विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सकिने व्यवस्था नियमावलीमा छ । क्यासिनो सञ्चालकले आकस्मिक लाभकर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था पनि नियमावलीले गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वबारे पनि नियमावलीले तोकेको छ । क्यासिनोले प्राप्त गरेको खुद आयको २ प्रतिशत शिक्षा, स्वास्थ, खेलकुदजस्ता सामाजिक कार्यका खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।