आ व २०७०–७१ को मौद्रिक नीति सार्वजनिक
काठमाडौँ , ६ साउन । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०–७१ को लागि तर्जुमा गरिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरलाई हासिल गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो पारेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०–७१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर युवराज खतिवडाले आइतबार सार्वजनिक गर्नुभएको मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा कर्जा बढाई आर्थिक वृद्धिमा सहयोग पु¥याउने कार्यदिशा अवलम्बन गरिएको छ । मूल्य वृद्धिलाई वाञ्छित सीमाभित्र ल्याउन आपुर्तिजन्य र संरचनागत कारणहरुलाई सम्बोधन गरिने भएको छ ।वित्तिय सुशासनका लागि जोखिम न्युनिकरण मौद्रिक नीति अभिमुख रहेको छ । मौद्रिक नीतिमा बैंकहरुको अनिवार्य नगद मौज्दात अनुपात सीआरआर एक प्रतिशतले घटाइएको छ । नयाँ मौद्रिक नीति अनुसार क वर्गका वाणिज्य बैंकहरुको सीआरआर दर ६ प्रतिशतबाट घटाएर पाँच प्रतिशत कायम गरिएको छ ।
त्यसैगरी ख वर्गका विकास बैंकहरुको सीआरआर ४ दशमलब ५ कायम गरिएको छ भने ग वर्गका वित्तीय संस्थाहरुको सीआरआर ४ प्रतिशत कायम गरिएको छ । त्यसैगरी तरलता अनुपात क वर्गका बैंकहरुलाई लाई १२ प्रतिशत कायम गरिएको छ भने ख वर्गका विकास बैंकलाई ९ प्रतिशत र ग वर्गका वित्तीय संस्थाहरुलाई ८ प्रतिशत वैधानिक तरलता कायम गरिएको छ ।