अब जुवाडेको जितौरिमा पनि कर लाग्ने

२०७० श्रावण ८ गते, मंगलवार

काठमाडौ, ८ साउन । सोमबारदेखि लागू भएको क्यासिनो व्यवस्थापन नियमावली–०७१ ले पहिलोपटक क्यासिनोमा जितेको रकमबाट २५ प्रतिशत आकस्मिक आयकर लाग्ने प्रावधान लागू गरेको छ ।अबदेखि क्यासिनोमा जुवा खेल्दा जित्नेले सरकारलाई २५ प्रतिशत कर तिर्नुपर्ने भएको छ। क्यासिनोलाई व्यवस्थापन गर्न पहिलोपटक नियमावली लागू गर्दै सरकारले विभिन्न कडा प्रावधान ल्याएको छ । नियमावलीको दफा २५ मा क्यासिनोमा तिरेको रकमको २५ प्रतिशत आकस्मिक कर लाभअन्तर्गत कट्टी गर्नुपर्ने हुन्छ ।क्यासिनोमा नेपाली प्रवेश गरे इजाजत नै खारेज हुनेसम्मको प्रावधान नियमावलीमा छ । क्यासिनोमा प्रवेश गर्ने प्रत्येकको रेकर्ड राख्नुपर्ने तथा क्यासिनोमा जुवा खेल्नेलाई सापटी दिन नमिल्नेसम्मका प्रावधान पनि नियमावलीमा छन् ।क्यासिनोको मनपरी रोक्न कडा प्रावधानसहित नियमावली ल्याइएको पर्यटन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए । ‘क्यासिनोहरू मनपरी तरिकाले चल्दै आएका थिए,’ सापकोटाले भने, ‘व्यवस्थित गर्न हामीले नियमावली ल्याएका हौँ ।’ क्यासिनो व्यवसायीहरूले भने नयाँ नियमावलीले कुनै पनि क्यासिनो सञ्चालन हुन नसक्ने बताउँदै विरोध गरेका छन् ।सरकारले हालै क्यासिनोले तिर्ने रोयल्टी रकममा पनि वृद्धि गरेको थियो । आर्थिक अध्यादेशमा क्यासिनोले वार्षिक चार करोड तथा मिनीक्यासिनोले तीन करोड रोयल्टी बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि क्यासिनोले वार्षिक दुई करोड तथा गेमिङ सेन्टरहरूले ५० हजार बुझाए पुग्थ्यो ।
त्यस्तै, क्यासिनोको इजाजत लिनकै लागि सरकारलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भएको छ । हाल सञ्चालन भइरहेका क्यासिनाले पनि चार महिनाभित्र नियमावलीअनुसार इजाजत नलिएमा स्वत: खारेज हुनेछन् । निवेदन दस्तुर नै पाँच लाख रुपैयाँ तोकिएको छ । इजाजतसँगै एक वर्षको रोयल्टी बैंक ग्यारेन्टीका रूपमा राख्नुपर्नेछ । नवीकरण गर्दा इजाजतको आधा रकम बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु