ट्रान्सफर्मर खरिद प्रकरणमा पाच कर्मचारी पक्राउ
काठमाडौ , २१ साउन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएका पाँच कर्मचारी र ठेकेदार कम्पनीका दुई प्रतिनिधिलाई पक्राउ गरेको छ । आयोगले आइतबार पाँच कर्मचारी र दुई ठेकेदार प्रतिनिधिलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको हो । २०६४ सालदेखि २०६८ सालसम्म खरिद गरिएका करिब ७ अर्ब रुपैयाँ बराबरका ४ हजार ६ सय ट्रान्सफर्मर गुणस्तरहीन भएको र सो खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरेको थियो । प्राधिकरणद्वारा आव ०६७/०६८ मा हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी चीनमार्फत खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएकालाई अख्तियारले हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको हो ।
ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका उनीहरूसँग यसअघि अख्तियारले पहिलो चरणको बयान लिइसके पनि अहिले भने हिरासतमै लिएर अनुसन्धान अघि बढाएको छ । यस प्रकरणमा दोषी देखिएका अन्य कर्मचारी तथा कम्पनीका अधिकारीहरूलाई समेत हिरासतमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाउन लागिएको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्राधिकरणका सहायक प्रबन्धकद्वय सुरेन्द्रप्रसाद पनेरू र मदनराज चापागाईं, सह–निर्देशक हरिशबहादुर पाल, इन्जिनियर प्रज्ज्वल पाण्डे र भण्डार प्रमुख भरत रूपाखेतीलाई आइतबार हिरासतमा लिइएको छ । त्यसैगरी, ठेकेदार कम्पनी हुवेईका यु झेङ कुइङ र जोउ ऊ तियानलाई पनि हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ । चिनियाँ नागरिकद्वयलाई थापाथलीबाट तथा प्राधिकरणका पाँच कर्मचारीलाई प्राधिकरण र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिएर हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।हुवेईमार्फत प्राधिकरणले दुई पटकमा १६ लाख २ हजार डलरमा १ हजार २ सय ६० ओटा ट्रान्सफर्मर खरिद गरेको थियो । १४ भदौ २०६९ मा हुवेईमार्फत ल्याइएका ट्रान्सफर्मर लैनचौरस्थित वर्कसपमा परीक्षण गर्ने क्रममा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि ट्रान्सफर्मर प्रकरण चर्किएको हो । त्यसपछि प्राधिकरणका तत्कालीन सञ्चालकद्वय मुकेश काङ्खले र डा.केपी दुलालका दुई छुट्टाछुट्टै प्रतिवेदनले २०६४ सालपछि खरिद गरिएका ट्रान्सफर्मर गुणस्तरहीन देखाएको थियो । सो प्रतिवेदनअनुसार थप परीक्षण भएपछि भ्रष्टाचार छताछुल्ल भएको हो ।गुणस्तरहीन ट्रान्सफर्मरको कारणबाट प्राविधिक चुहावट बढ्न गई बर्सेनि करिब २ अर्ब घाटा बेहोर्नुपरेको प्राधिकरण स्रोतले जनाएको छ । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा संलग्न कर्मचारीहरूबारे छानबिन गर्न प्राधिकरणले गठन गरेको तत्कालीन प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्तको प्रतिवेदनले तत्कालीन प्राधिकरण प्रमुख महेन्द्रलाल श्रेष्ठ, अहिलेका प्रमुख रामेश्वर यादवसहित ३३ कर्मचारीहरू दोषी रहेको प्रतिवेदन दिएको थियो । तर, अख्तियारले अनुसन्धानका क्रममा ट्रान्सफर्मरको भुक्तानीमा संलग्न भएको भन्दै थप कर्मचारीहरूसँग पनि बयान लिएको छ ।