विश्व बैंकद्वारा चार अर्ब सहयोग

२०७० भाद्र २६ गते, बुधबार

काठमाडौँ, २६ भदौ । विश्व बैंकले नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजना कार्यान्वयन गर्न चार अर्ब रुपैयाँ (तीन करोड ९० लाख अमेरिकी डलर) प्रदान गर्न सहमति जनाएको छ । सन् २०१५ को जुलाईसम्ममा पूरा गरिसक्नुपर्ने उक्त परियोजनाका निम्ति प्रदान गरिने उक्त रकममध्ये २० लाख डलर अनुदान सहयोग हो भने बाँकी रकम ऋण सहायता हो ।
सुक्खायाममा नेपालमा विद्युत्को चरम अभाव हुने भएकाले भारतबाट खरिद गरिने विद्युत् तथा भविष्यमा यहाँबाट निर्यात गर्न आवश्यक पर्ने प्रसारण लाइन बनाउन बैंकले ऋण तथा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । उक्त रकम चार सय केभी ढल्केवर–मुजफ्फरपुर, हेटौँडा–ढल्केबर–दुहबी तथा दुई सय २० केभी हेटौँडा–भरतपुर र भरतपुर–वर्धघाट प्रसारण लाइन निर्माणमा खर्च गरिनेछ ।
सन् २०११ मा उक्त बैंकको सहयोगमा सुरु भएको उक्त परियोजनाका लागि सोही बैंकले नौ करोड ९० लाख अमेरिकी डलर प्रदान गरिसकेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र यहाँस्थित विश्व बैंकका प्रबन्धक ताहसिन सैयदले हस्ताक्षर गरे । त्यस अवसरमा प्रबन्धक सैयदले विद्युत् अभावमा नेपालका उद्योगधन्दा प्रभावित हुँदा अर्थतन्त्रमा प्रतिकूल असर परेकाले आर्थिक गतिविधि बढाउन तथा १८ घण्टा लामो विद्युत्भार कटौती घटाउन बैंकले सहयोग गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]