मुस्ताङबाट ६० हजार भेडा च्याङ्ग्रा निर्यात हुँदै
६ असोज, पर्वत । दसैँ र तिहारको आगमनसँगै हिमालपारिको जिल्ला मुस्ताङबाट भेडा च्याङ्ग्रा निर्यात हुन सुरु भएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि दसैँ तिहारका लागि मुस्ताङ जिल्लाबाट म्याग्दी, पर्वत, बागलुङ र कास्कीलगायतका जिल्लामा भेडा च्याङ्ग्रा भित्रिन सुरु गरेका छन् ।
यस वर्ष मुस्ताङ जिल्लाबाट मात्रै करिब ६० हजार भेडा च्याङ्ग्रा निर्यात हुने पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा गुरुप्रसाद ठकुरालले जानकारी दिनुभयो । डा ठकुरालका अनुसार यस वर्ष ५५ हजार ९२६ वटा च्याङ्ग्रा र चार हजार ७५३ वटा भेडा मुस्ताङ जिल्लामा बिक्रीका लागि तयार भएका छन् । गत वर्षको तुलनामा भेडा च्याङ्ग्रा बिक्री १२ हजारभन्दा बढीले कमी आएको ठकुरालले जानकारी दिनुभयो । गत वर्ष तिब्बतबाट समेत गरी करिब ७२ हजार भेडा च्याङ्ग्रा निर्यात भएकामा यस वर्ष तिब्बतबाट मुस्ताङमा भेडा, च्याङ्ग्रा भित्रन पाएका छैनन् । भदौ महिनाको सुरुदेखि नै मुस्ताङ जिल्लाका पशुमा खोरेत रोग लागेका कारण तिब्बतबाट भेडा, च्याङ्ग्रा भित्रिन नपाएको डा ठकुरालले बताउनुभयो ।
गत वर्षको तुलनामा यस वर्ष भेडा च्याङ्ग्राको मूल्यमा भने भारी वृद्धि भएको छ । गत वर्ष आठ हजारमा भेडा र १० हजारमा च्याङ्ग्रा बिक्री गर्दै आएका मुस्ताङका कृषकले यस वर्ष १२ हजारमा भेडा र १५ देखि १६ हजारसम्ममा च्याङ्ग्रा बिक्री गर्न सुरु गरेका छन् । यसले गत वर्षको तुलनामा झण्डै ३५ प्रतिशतभन्दा बढी मूल्य वृद्धि हुने डा ठकुरालले जानकारी दिनुभयो । रासस