तारा एयरको नयाँ विमानले आजदेखि उडान भर्ने

२०७० आश्विन २१ गते, सोमबार

काठमाडौं ,२१ असोज, । निजी क्षेत्रको आन्तरिक वायु सेवा प्रदायक कम्पनी तारा एयरले नयाँ ‘डोर्नियर डिओ २२८ एयरक्राफ्ट’ थप गरेको छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको एयरक्राफ्टले आजदेखि नियमित उडान प्रारम्भ भर्ने बताइएको छ । तारा एयरले हाल क्यानाडामा निर्मित ४ वटा ‘डिएचसि ६-३०० ट्वीनअटर’ र जर्मनमा निर्मित ३ वटा ‘डोर्नियर डिओ २२८-२१२ एयरक्राफ्ट’बाट सेवा सञ्चालन गर्दै आएको छ ।
डोर्नियर ‘डिओ २२८-२१२’ मा १८ सिट क्षमता रहेको छ । यो जहाज सानो धावनमार्गमा पनि सजिलै उडाउन र ल्याण्डिङ गर्न सकिने सुविधा भएकोले लुक्ला र जोमसोमजस्ता उच्च स्थानहरुमा रहेका धावनमार्गका लागि उपर्युक्त भएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो विमान फिलिपिन्सको एक विमान कम्पनीबाट खरीद गरिएको थियो ।
यस विमानमा २ वटा शक्तिशाली इन्जिनहरु टिपिइ ३३१-१० रहेका छन् । जमीन नजिक आउँदा संकेत गर्ने अत्याधुनिक प्रणाली (ईजीपीडब्ल्यूएस) र सम्भावित ट्राफिक दुर्घटनाका सम्बन्धमा जनाऊ दिने नवीनतम प्रणाली (टिकास २) जडान गरिएको हुँदा विमान अत्यन्तै सुरक्षित रहेको कम्पनीको दाबि छ । साथै, नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरे अनुसारको सम्पूर्ण मापदण्डहरु यस विमानमा रहेका छन् ।
‘विशेष रुपमा देशको ट्रेकिङ्ग व्यवसायलाई सघाऊ पुर्‍याउन तथा नेपालका दुर्गम भेगहरु जहाँ हामीले मात्रै नियमित रुपमा हवाई सेवा पुर्‍याउँदै आएका छौं, ती स्थानहरुको यातायात सेवा विस्तार गर्न, खाद्यान्न आपूर्ति कार्यलाई सहज बनाउन नयाँ विमान खरीद गरि सञ्चालन गर्न लागिएको हो’ तारा एयरका बजार प्रबन्धक रोशन रेग्मीले भने ।
तारा एयर यति एयरलाइन्सको भगीनी संस्था हो । काठमाडौंबाट यसले लुक्ला, फाप्लु, लामीडाँडा, रुम्जाटार, रामेछाप र भोजपुरका लागि आफ्ना उडानहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै, पोखराबाट जोमसोमका साथै नेपालगन्ज र सुर्खेतबाट डोल्पा, जुम्ला, बाजुरा, सिमिकोट, रारा, रुकुम र बझाङ्गमा समेत हवाई सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु