औद्योगिक व्यवसाय ऐन ल्याउन माग
काठमाडौँ । उद्योगी व्यवसायीहरुको छाता नेतृत्वमा रहेका पदाधिकारीहरुले उद्योगिक व्यवसाय ऐन तत्काल अध्यादेशमार्फ् ल्याउन सरकारसँग माग गरेका छन् । उद्योगमन्त्रीसमेत रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरी उनीहरुले धराशयी हुन लागेका उद्योगधन्दा जोगाउन र ट्रेड युनियनको समस्यालाई व्यवस्थित गर्न ऐन आवश्यक भएकोमा जोड दिए । उनीहरुले उद्योग चल्न नसक्ने अवस्थामा बन्द गर्ने अधिकार पनि ऐनमा सुरक्षित गर्नुपर्ने माग गरे । रुग्ण अवस्थामा पुगेका उद्योगको उत्थान गर्ने परम्परा बस्ने हो भने नेपालका हरेक उद्योगले त्यस्तो अवस्था भोग्नुपर्ने बताउँदै उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले त्यसको समयमै प्रतिरक्षा खोज्नुपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्नेतले पर्याप्त गृहकार्य गरी सवै क्षेत्रलाई समेट्ने किसिमको ऐन ल्याउनुपर्ने बताए । सो अवसरमा नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष सुरेश प्रधान, महिला उद्यमी महासंघका अध्यक्ष छायाँ शर्माले ऐन सवैले स्वीकार्ने खालको हुनुपर्ने बताए । उद्योग सचिव कृष्ण ज्ञवालीले प्रस्तावित ऐन उद्योगको प्रवर्द्धनका लागि भएकाले त्यसको स्वामित्व सरोकारवालाहरुले लिनुपर्ने बताए । उद्योगमन्त्री शंकरप्रसाद कोइरालाले उद्योग व्यवसायीहरुको सामूहिक आवाजलाई ऐनले सम्बोधन गर्ने विश्वास दिलाउँदै निजीक्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए । उनले ऐनलाई सशक्त र प्रभावकारी बनाउन पर्याप्त गृहकार्य गरिएको र व्यवसायीका गुनासा भए समयमै सच्याउन आग्रह गर्दै केही दिनमै अध्यादेशमार्फ् ऐन ल्याउने आश्वासन दिए ।