अब मेसिनले पढ्ने चेक

२०७० कार्तिक १० गते, आईतवार


काठमाडौं- राष्ट्र बैंकले असोज मसान्तभित्र मेसिनले स्वचालित रुपमै पढ्न सक्ने चेक प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन पालन नभए पछि तीन महिना समय थप गरेको छ। असोजभित्र बैंक तथा वित्तीय संस्थाले मेसिनले पढ्न सक्ने चेक प्रयोगमा ल्याउन नसकेपछि पुस मसान्तसम्मको समय दिइएको हो। समयमै चेक राफसाफ गर्नका लागि राष्ट्र बैंकले सामान्य चेक प्रचलनबाट हटाएर मेसिनले पढ्न सक्ने चेक प्रयोगमा ल्याउन लागेको हो। सामान्य चेक प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले असारपछि म्याग्नेटिक इन क्यारेक्टर रिडर (एमआइसिआर) चेक प्रयोगमा ल्याउनु पर्ने हुन्छ।
नयाँ प्रविधिको चेक स्क्यान गर्नेबित्तिकै मेसिनले सबै तथ्यांक पढ्ने छ। मानिसले आफ्नो हातले टिप्नुपर्ने तथ्यांक मेसिनले पढिदिने भएकाले गल्ती हुने सम्भावना निकै कम हुन्छ। यसबाट तुरुन्तै चेक राफसाफ भएर समयको पनि बचत हुने छ।
एमआइसिआर चेक अहिलेसम्म लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्डलगायत मुस्किलले एक दर्जन बैंकले मात्र प्रयोगमा ल्याएका छन्। विकास बैंक र फाइनान्स कम्पनीले अझै पनि प्रयोगमा ल्याउन सकेका छैनन्। त्यही भएर राष्ट्र बैंकले तीन महिना समय थपिदिएको हो।
विद्युतीय प्रविधिमार्फत चेक राफसाफ गर्ने सेवा सुरु भइसकेकाले एमआइसिआर चेक आवश्यक पर्छ। अहिले मानव संशाधन प्रयोग गरी सामान्य चेकका तथ्यांक प्रणाली (बैंकको सिस्टम)मा टिप्ने काम भइरहेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बाट विद्युतीय प्रणालीमार्फत चेकको राफसाफ सेवा सुरु भइसकेको छ।एमआइसिआर चेकमा बैंक तथा वित्तीय संस्थाको शाखा ठेगाना, ग्राहकको नाम, ठेगाना र खाता नम्बर मेसिनले आफैं पढ्ने छ। ग्राहकले मितिसहित हस्ताक्षर र रकम पछाडि भर्ने भएकाले यसलाई भने पढ्न सक्दैन। रकम कर्मचारीले प्रणालीमा अद्यावधिक गर्नु पर्छ।
बैंक तथा वित्तीय संस्थाले यस्तो चेक छाप्न थालिसकेका छन्। सामान्य चेकको भन्दा एमआइसिआरको मूल्य महँगो पर्छ। महँगो भएको कारण यस्तो चेक प्रयोगमा ल्याएका बैंकहरुले केन्द्रीय कार्यालयमार्फत चेक जारी गर्ने छन्। शाखाबाट चेक चाहनेले मागेको केही दिनपछि मात्र पाउने गरेका छन्।
मेसिनले अधिकांश तथ्यांक पढिदिने भएकाले चेक राफसाफ गर्न सजिलो हुन्छ। साधारण चेकमा विद्युतीय प्रणालीबाट पढ्न सक्ने गरी (एटिएम कार्डमा जस्तै) एउटा कालो लाइन कोरिएको हुन्छ। यो लाइनमा ग्राहकको विवरण र चेक जारी भएको शाखाको नाम उल्लेख हुन्छ।
अहिले एउटा चेकको सबै विवरण प्रणालीमा अद्यावधिक गर्न कम्तीमा ६ मिनेट लाग्छ। यो चेकबाट सुरु भएपछि डेढ मिनेटमा चेकको विवरण प्रणालीमा पुग्ने छ। अहिले विद्युतीय प्रविधिमार्फत बैंक तथा वित्तीय संस्थाको दैनिक १२ हजार ५ सयभन्दा बढी चेक राफसाफ हुन्छन्। विद्युतीय प्रविधिबाट चेक राफसाफ गर्न एनसिएचएलको सदस्यता लिनुपर्छ।
एनसिएचएलमा ३२ वटै वाणिज्य बैंकसहित सयभन्दा बढी वित्तीय संस्था सदस्य भएका छन्। अहिले काठमाडौं, वीरगन्ज र विराटनगरबाट चेकको विद्युतीय प्रणालीबाट राफसाफ सेवा सञ्चालनमा छ। वैशाखसम्म नेपालगन्ज, पोखरा, जनकपुरलगायतका ठाउँबाट पनि चेक राफसाफ सुरु हुने छ।
अहिले काठमाडौं, वीरगन्ज र विराटनगरबाहेक बाँकी स्थानमा राष्ट्र बैंकले मानव संशाधनमार्फत चेक राफसाफ गर्दै आएको छ। विद्युतीय प्रविधिबाट एकै दिनमा चेकको राफसाफ हुने गर्छ। यसअघि चेकको राफसाफ हुन तीन दिन लाग्थ्यो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु