राष्ट्रिय औद्योगिक व्यापार मेला आजवाट
काठमाडौं ,९ माघ।राष्ट्रिय औद्योगिक व्यापार मेला आजवाट कास्कीको पोखरामा सुरु हुँदैछ । ‘लगानीको सम्वर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीवारवाट सुरु हुन लागेको हो ।मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि, विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरूका गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ता कपडाका गरी २७० वटा स्टल राखिने आयोजकले जनाएको छ । पोखरालगायत मुलुकभरका औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।
मेलाको थप आकर्षणमा युगल जोडी नृत्य प्रतियोगिता, पोखराका उत्पादनहरूको प्रदर्शनी तथा बिक्रीका लागि गरिएको पोखरा मण्डप र मुक्तिनाथ एयरबाट तीन हजार पाँचसयमा सात मिनेटको पोखरा दृश्यावलोकन व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । मेला आगामी २० गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा चल्नेछ ।