भक्तपुरमा झन्डै आधा विद्युत चुहावट
भक्तपुर,५ फागुन। नेपाल विद्युत प्राधिकरण भक्तपुरका प्रमुख लुनार श्रेष्ठले जिल्लामा ४२ प्रतिशत विद्युत चुहावट (चोरी) भएको बताएका छन् ।दुई वर्षअघि ५१ प्रतिशतसम्म विद्युत चुहावट हुँदै आएकामा गत वर्ष ३८ प्रतिशतमा झरे पनि यसवर्ष फेरि विद्युत चुहावटमा वृद्धि भएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार चालु आवको चार महिनामा नलिञ्चोक फिडरमा ४५ प्रतिशत, ब्रिक (बजार) फिडरमा ४४ प्रतिशत, ब्यासी फिडरमा ४३ प्रतिशत, नगरकोट फिडरमा ४३ र इन्डस्ट्रिज फिडरमा १७ प्रतिशत विद्युत चुहावट भइरहेको छ ।
विद्युत् चुहावटमा वृद्धि भएपछि शाखाले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान सुरु गरेअनुसार अभियानको पहिलो चरण सम्पन्न भएको छ ।ग्राहकले विद्युत् चुहावट गरेको भेट्टाइएमा ‘विद्युत् चोरी तथा नियन्त्रण ऐन,२०५८ तथा विद्युत् चोरी नियन्त्रण नियमावली २०५९’ अनुसार दण्ड जरिवाना गरिने छ ।