काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त पारिने
काठमाडौं, ६ फागुन। काठमाडौं उपत्यकालाई सौर्य ऊर्जामार्फत एक वर्षभित्र लोडसेडिङ मुक्त गर्ने दाबीका साथ नेपाल ह्वाइट पावर प्रालि र दक्षिण कोरियाको हुबिकन कम्पनी प्रालिबीच सम्झौता भएको छ । नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण हुने यो सौर्य ऊर्जा आयोजना ४९ मेगावाट क्षमताको हुनेछ । काभ्रेस्थली र साङ्ला गाविसमा निर्माण गरिने यस आयोजनाले ७२० रोपनी क्षेत्रफल ओगट्ने जनाइएको छ । यसले काठमाडौंको ऊर्जा अभावलाई पूर्णरूपमा पूर्ति गर्ने विश्वास दुवै कम्पनीको छ । सम्झौतामा सोमबार नेपाल ह्वाइट पावरका अध्यक्ष विजयप्रकाश मिश्र र हुविकनका अध्यक्ष ह्याउङ मो सुङले हस्ताक्षर गरेका हुन् ।
तीन सय वाटको एक लाख ६३ हजार ३५० सोलार प्यानलको प्रयोग गरिने यस आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपछि राष्ट्रिय रूपमा दुई घन्टा र काठमाडौंलाई पूर्णरूपमा लोडसेडिङ मुक्त गर्न सकिने ह्वाइट पावरका अध्यक्ष मिश्रले बताए । हुबिकनका अध्यक्ष सुङले विकोसोन्मुख र अल्पविकसित राष्ट्रमा लगानी बढाउँदै जाने कोरिया सरकारको नीतिअन्तर्गत आफूहरूले नेपालमा सौर्य ऊर्जामा लगानी गर्न लागेको बताए ।
सार्वजनिक निजी साझेदारीमा निर्माण हुने यो आयोजनाको प्रतिकिलोवाट ब्याकअप सिस्टम राख्दा अमेरिकी डलर तीन हजार तीन सय र ब्याकअप सिस्टम नराख्दा दुई हजार दुई सय लागत पर्ने अनुमान गरिएको छ । योजनामा ५१ प्रतिशत हुबिकनको र बाँकी नेपाली पक्षको लगानी रहनेछ । विद्युत् खरिद सम्झौता (पीपीए) भएको १५ महिनामा आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत उत्पादन सुरु हुने जनाइएको छ ।