भारतिय सवारी साधनको मूल्य घट्ने
काठमाडौं – अन्तरिम बजेटमा अन्तःशुल्क कटौती भएपछि भारतीय गाडी निर्माता कम्पनीले धमाधम आफ्ना उत्पादनको मूल्य घटाउन थालेका छन् । टाटा, फोर्डलगायत चारपांग्रे सवारी साधन निर्मातादेखि यामाहा र टीभीएस जस्ता मोटरसाइकल बनाउने कम्पनीले सस्तोमा बेच्न थालेका छन् ।टाटाले बस ट्रकजस्ता उत्पादनमा भारतीय रुपैयाँ १ लाख ५० हजार रुपैयाँसम्मको मूल्य कटौती हुने जनाएको छ । कम्पनीले साना कारको मूल्य मोडलअनुसार ६ हजार ३ सयदेखि ६९ हजार भारतीय रुपैयाँसम्म घटाएको छ । व्यावसायिक सवारीको मूल्य भने मोडलअनुसार १५ हजारदेखि १ लाख ५० हजारसम्म घटेको हो । मारुती सुजुकीले आफ्ना कारको मूल्य ८ हजार १ सय रुपैयाँ देखि ३५ हजार रुपैयासम्म कम गरेको छ । महिन्द्रा एन्ड महिन्द्राका उत्पादनको मूल्य पनि १३ देखि ४९ हजार भारतीय रुपैयाँ कम भएको छ ।हुन्डाईले आफ्नो भारतीय बजारमा इओनको मूल्य १० हजार घटाएको छ । सान्टाफीमा सबैभन्दा बढी ३५ हजार ३ सय रुपैयाँ कम भएको छ । होन्डा कारको मूल्य पनि १४ हजार ६ सय ५० देखि ४४ हजार ७ सयसम्म कम भएको छ । फोर्ड इन्डियाले पनि आफ्ना उत्पादनको मूल्य १ लाख ७ हजार भारतीय रुपैयाँसम्म कम गरेको छ । कम्पनीको फिगोको मूल्य भारतीय रुपैयाँ २३ हजार ४ सयले घटाएको छ । फिएस्टाको मूल्य ३३ हजार र इडेभ्युरको मूल्य १ लाख ६ हजार ८ सय रुपैयाँ घटेको छ ।
यामाहा मोटर इन्डियाले आफ्ना उत्पादनमा ३ हजार ६६ रुपैयाँसम्म मूल्य कम गरेको छ । कम्पनीले १ हजार ३३ देखि ३ हजार ६६ रुपैयाँसम्म आफ्ना उत्पादनको मूल्य घटाएको हो । टीभीएसले पनि आफ्ना उत्पादनको मूल्य ३५ सय भारतीय रुपैयाँसम्म कम गरेको छ ।- एजेन्सी