पेट्रोलियम पदार्थको आपूर्ति सुचारु : निगम
काठमाडौं, २१ फागुन –नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति र वितरण सुचारु हुन थालेको जनाएको छ ।सार्वजनिक विदामा तेलको ढुवानी नहुँदा केही दिन अभाव जस्तो देखिएपनि मंगलबारदेखि सुधार भइसकेको निगमले बताएको छ । तेलको स्टक राख्ने क्षमता धेरै नभएकाले सार्वजनिक विदा अगाडि धेरै आपूर्ति गर्न समस्या हुने गरेकाले केही समस्या देखिएको निगमका वितरण प्रमुख सुशील भट्टराईले बताए ।
उनले निगमसँग तीन दिनलाई मात्र पुग्ने तेलको स्टक राख्ने क्षमता भएको र डिजेलको भने क्षमता धेरै भएकाले त्यसमा कुनै समस्या नआउने बताए ।हाल दैनिक साढे ५ लाख लिटर पेट्रोल वितरण गरिरहेको निगमले बताएपनि भाउ बढ्न सक्ने आशंकामा व्यवसायीले तेल लुकाएको हुन सक्ने अनुमान गरिएको छ ।
तर निगमले भने तत्काल पेट्रोलको भाउ नबढ्ने बताएको छ । अहिले काठमाडौं उपत्यकामा दैनिक साढे ३ लाख लिटर पेट्रोलको माग छ । निगमले इन्डियन आयल कर्पोरेसन आईओसीलाई रमक भुक्तानी नगरे आपूर्ति ठप्प हुने हल्ला निरर्थक रहेको पनि दाबी गरेको छ ।तेलको आपूर्ति मंगलबारदेखि सहज भएकाले वितरणमा समस्या नहुने निगमले प्रष्ट पारेको छ ।