आयल निगम आइओसीको बक्यौता तिर्दै
काठमाडौं, २६ फागुन। आयल निगमले भ्याट फिर्ताको एक अर्ब रुपैयाँ पाएपछि सोमबार पाँच अर्ब रुपैयाँ इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई पठाउने भएको छ। निगमले पेट्रोलियम पदार्थ ल्याएबापत ८ अर्ब रुपैयाँ आइओसीलाई बुझाउन बाँकी छ।’हामीले भ्याट फिर्ताबापतको एक अर्ब रुपैयाँ पाएपछि सोमबार तीन अर्ब १० करोड भारु आइओसीलाई पठाउँदैछौ,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने, ‘अझै तीन अर्ब रुपैयाँ बुझाउन बाँकी छ।’ निगमले भ्याट फिर्ताको रकम ४७ करोड पाउन बाँकी छ। आइओसीको बक्यौतासँगै तेल आपूर्ति कम हुने आशंकामा उपभोक्ताले बढी भण्डारण गर्दा केही दिन अभाव देखिएको थियो। अहिले भने तेलको आपूर्ति विस्तारै सहज बन्दै गएको छ। निगमले तेल आपूर्तिमा समस्या पर्ने भन्दै नोक्सानीबापतको रकम उपलब्ध गराउन वाणिज्य मन्त्रालयलाई आग्रह गरेको थियो। वाणिज्यले आवश्यक रकम उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो। अघिल्लो सरकारले पठाएको रकम अहिलेसम्म कुनै निर्णय भएको छैन। निगम स्रोतका अनुसार अर्थ मन्त्रालयका अधिकारीहरुले ऋण मात्रै दिएर धान्न नसकिने भन्दै अस्विकार गरेपछि समस्या बढेको हो। स्रोतका अनुसार नयाँ सरकार आएपछि निगमको अवस्थाबारे जानकारी गराइसकिएको छ।
‘हामीले निगमको वस्तुस्थितिबारे जानकारी गराइसकेका छौं। तर अहिलेसम्म कुनै निर्णय भएको छैन,’ निगमका एक अधिकारीले भने, ‘रकम नपाउने हो भने समस्या जटिल बन्छ।’ अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा निगमको मासिक नोक्सानी डेढ अर्बभन्दा बढी छ। आइओसीले मार्चमा पठाएको मूल्यअनुसार निगमको नोक्सानी १ अर्ब ७० करोड नोक्सानी छ। अन्तर्राष्ट्रिय बजारमा ग्यासको माग कम भएपछि मूल्य घटे पनि डिजेलको मूल्य बढ्दा निगमको नोक्सानी घट्न सकेन। पछिल्लो मूल्यअनुसार निगमलाई पेट्रोल, मट्टितेल र हवाई इन्धनमा मात्रै नाफा छ।
निगमलाई पेट्रोल, डिजेल र मट्टितेलमा क्रमशः २ रुपैयाँ ८२ पैसा, ५ रुपैयाँ ६७ पैसा र २८ रुपैयाँ ४ पैसा नाफा छ। निगमलाई डिजेल एक लिटरमा १० रुपैयाँ ३० पैसा र ग्यास एक सिलिन्डरमा ८ सय ६४ रुपैयाँ नोक्सानी छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ९ अमेरिकी डलर हाराहारी छ। डलरको मूल्य पनि एक सयभन्दा तल छ। तर अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलकै मूल्य बढेकोले नोक्सानी घट्न नसकेको निगमका निर्देशक सुशील भट्टराईले बताए।
‘रुस र युक्रेनको तनावले प्रशोधित तेल (फिनिस तेल)को मूल्य बढ्यो,’ उनले नागरिकसँग भने, ‘यसले हाम्रो मूल्यमा समेत प्रभावित बनायो।’ रुस विश्वकै दोस्रो ठूलो तेल उत्पादक र निकासीकर्ता मुलुक हो। रुसमा युरोपेली र अमेरिकाले आर्थिक नाकाबन्दीले समेत तेल बजार प्रभावित बनाएको छ। यसबाहेक युरोपेली मुलुकमा रुसबाट युक्रेन हुँदै प्राकृतिक ग्यासको पाइपलाइन जान्छ। युक्रेनमा सुरु भएको तनावका कारण युरोपेली मुलुकले डिजेलको उपभोग बढाएकोले समेत मूल्यमा चाप परेको उनले बताए।
‘रुस र युक्रेनको तनावले मूल्य माथि उचाल्न सहयोग गर्योय,’ उनले भने, ‘तनाव जारी रहे तेलको मूल्य भन्न सकिँदैन।’ यसबाहेक पछिल्लो समयमा भेनेजुयलाको आर्थिक मन्दीले समेत तेल बजारलाई समस्या पार्ने देखिएको छ।