मूल्यवृद्धि नौ प्रतिशत
काठमाडौँ, ३० फागुन। आर्थिक वर्ष २०७०/७१ को सात महिना सूचकले मूल्यवृद्धि सीमाभन्दा बाहिर नगएको देखाएको छ । अघिल्लो वर्ष दोहोरो अङ्कमा वृद्धि दर पुगेको मुद्रास्फीति चालू आवको सात महिनामा सीमाभन्दा बाहिर नगएको हो । दोहोरो अङ्कभन्दा कम रहेको मुद्रास्फीतिलाई नियन्त्रणभित्रैको अधिकारीहरूले औँल्याउने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाको स्थितिमा चालू आवको सात महिनामा मुद्रास्फीति आठ दशमलव आठ प्रतिशत रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.१ प्रतिशत रहेको थियो भने अघिल्लो महिनासम्म पनि मूल्यवृद्धि झन्डै दोहोरो अङ्क नजिक थियो ।
मूल्यवृद्धि केही घट्न थालेपछि सर्वसाधारणले केही राहत पाउन सक्ने देखिएको छ । तथ्याङ्क अनुसार खाद्य तथा पेयपदार्थको मूल्य सूचकाङ्क वृद्धिदर १०.८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर छ दशमलव नौ प्रतिशतले वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मूल्य सूचकाङ्क क्रमशः १०.७ प्रतिशत र नौ दशमलव छ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहका सुर्तीजन्य पदार्थ उप–समूहको मूल्य सूचकाङ्कको वृद्धिदर सबैभन्दा बढी अर्थात् २५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप–समूहको मूल्य सूचकाङ्कमा ११.४ प्रतिशतले वृद्धि भएको थियो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी तराईमा नौ दशमलव चार प्रतिशतले मूल्य सूचकाङ्कमा वृद्धि भएको छ भने पहाडमा आठ प्रतिशत पाँच प्रतिशत र काठमाडौँ उपत्यकामा आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्ता मूल्य सूचकाङ्कको वृद्धिदर तराईमा १०.६ प्रतिशत, पहाडमा नौ प्रतिशत र काठमाडौँ उपत्यकामा १०.२ प्रतिशत रहेको थियो ।