किसानका उखु बारी मै सुके

२०७० चैत्र १० गते, सोमबार


काठमाडौँ , १० चैत । किसानको उखु बारीमा हुँदै जिल्लामा रहेका चिनी उद्योगहरू बन्द भएपछि सुकेर खेर जान थालेका छन् । उखुको भुक्तानी नपाएको भन्दै नवलपरासीका किसानले मूल्य माग गर्दा चिनी उद्योगहरू उखु क्रसिङ नसकिँदै बन्द भएका हुन् । माघदेखि उखु क्रसिङ थाले पनि चिनी उद्योगहरूले मूल्य निर्धारण नभएको भन्दै किसानलाई भुक्तानी दिएका छैनन् ।
इन्द्रिरा सुगर मिल प्रतापपुर, बागमती खाँडसारी, लुम्बिनी चिनी मिल सुनवलमध्ये बागमती खाँडसारीबाहेकका सबै मिल बन्द भएका हुन् । उत्पादन भएको चिनी बजार नलगेसम्म किसानको उखुको भुक्तानी दिन नसक्ने चिनी मिल सञ्चालकहरूले अडान लिएपछि किसानले भुक्तानी पाउन नसकेका हुन् ।
इन्द्रिरा चिनी मिलले किसानको रु १९ करोड र बागमतीले पनि रु १९ करोड बराबरको उखु लिएका छन् । जिल्लाका मिलहरूबाट किसानले झन्डै रु ४४ करोड भुक्तानी पाउनुपर्ने बताएका छन् । लुम्बिनी, इन्द्रिरा र बागमती यहाँको ठूलो चिनी उद्योग हुन् । यसबाहेक भेली उद्योगहरूमा उखुको क्रसिङ हुने गर्छ । गत वर्षदेखि भुक्तानी किसान नपाएपछि यस वर्षको उखु बारीमा सुकाएका हुन् ।
उखुको मूल्य नतोक्दासम्म प्रतिक्विन्टल रु ४०० पेस्की दिने सहमति भएपछि किसानले चिनी मिललाई उखु दिएका थिए तर किसानको उखु नसकिँदै चिनी मिल बन्द भएपछि उनीहरू ठूलो मर्कामा परेका हुन् । अगुवा किसान प्रेमचन्द्र गुप्ताका अनुसार गत वर्ष २६ लाख क्विन्टल उखु खरिद गरेका चिनी मिलले २१ लाख क्विन्टल मात्र उखु खरिद गरेका छन् । अब बारीमा डेढ लाख क्विन्टल उखुु छ त्यो सुकेरै जाने भयो ।
उहाँले भन्नुभयो–“एक क्विन्टल उखुमा नौ केजी चिनी उत्पादन हुन्छ । उखुको उत्पादन घट्दोसँगै चिनी उद्योगको क्रसिङ पनि घट्नुपर्ने हो तर बढेको बढ्यै छ चिनी कहाँबाट आएको छ सरकारले खोज्नुपर्छ ।”
सरकारले नेपाली किसान मार्ने चिनी उद्योगको गोदाम र उत्पादन हेर्न पनि नसक्ने अनि किसानका उखुको बजारको ग्यारेन्टी पनि नहुँदा यस वर्ष उखु लगाउने किसानहरूसमेत कम भएका छन् । उखुको मूल्यका लागि हेटाँैडा, वीरगन्ज र काठमाडौँमा उखु उत्पादक किसान र चिनी उद्योगका सञ्चालकहरूको बैठक हुँदासमेत मूल्य नतोक्दा किसानले बिनाभाउ उखु क्रसिङमा दिएका छन् ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु