चैत १३देखि पुष्प प्रदर्शनी
काठमाडौं- आगामी चैत १३(बिहीबार )देखि राजधानीमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी हुने भएको छ । भृकृटीमण्डपस्थित प्रदर्शनी हलमा चैत १६ गतेसम्म चल्ने प्रदर्शनीमा ५ सयभन्दा बढी प्रजातिका आलंकारिक फूल तथा बिरुवाको प्रदर्शनी तथा बिक्री गरिने आयोजकले जनाएको छ ।
मेलामा नेपालसहित ६ देशका पुष्प व्यवसायीको उपस्थिति हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले जनाएको छ । प्रदर्शनीमा भारत, बंगलादेश, जापान, हल्यान्डलगायत मुलुकका २१ अन्तर्राष्ट्रिय स्टल, ५९ व्यावसायिक स्टल, १५ सूचनामूलक स्टल गरी ९५ वटा स्टल हुनेछन् । कृषि विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र कृषि विभागअन्तर्गतको कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमले मेलाको सहआयोजकको भूमिका निर्वाह गर्नेछन् ।
नेपालमा पुष्प व्यवसाय प्रवद्र्धनका लागि मेला सहयोगी हुने फ्यानका अध्यक्ष लोकनाथ गैरेले बताए । “नेपाली बजारमा बर्सेनि फूलको माग १० देखि १५ प्रतिशतले बढ्दो छ । तर, उत्पादनमा लगानी बढ्न नसक्नु, आवश्यक प्राविधिक र प्रविधिसमेत पर्याप्त नहुने समस्या भने विद्यमान छन्,” उनले भने, “प्रदर्शनीमा विदेशी प्रविधिको प्रदर्शनसमेत हुने भएकाले नेपालले सिक्ने अवसर पनि हो ।” मेलामा विभिन्न प्रकारका मौसमी फूलका बिरुवा, मलखाद, कृषि औजार, सजावटका सामग्री, उन्नत प्रविधिको ग्रिन हाउसलगायत अन्य उपकरणको प्रदर्शन तथा बिक्री गरिने उनले जानकारी दिए ।
प्रदर्शनीबाट पुष्प उत्पादन तथा व्यवसायमा संलग्न, पुष्प व्यवसायमा लाग्न चाहने, घर आँगन र बगैंचा सजाउन चाहने र फूलसम्बन्धी अभिरुची राख्ने सबैैले लाभ उठाउन सकिने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले बताए । “स्थानीय रूपमा उत्पादित मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने बिरुवा, ल्यान्डस्केप, कृषि औजार, प्याकेजिङ सामग्री, थोपा सिँचाइ प्रविधि र विषादीसमेत एकै थलोमा उपलब्ध छन्,” उनले भने ।
गत वर्षको प्रदर्शनी ६० हजारले अवलोकन गरेको र ८० लाखभन्दा बढीको कारोबार भएकोमा यो वर्ष कारोबार र अवलोकन संख्या दुवैमा २० प्रतिशतले वृद्धि हुने आयोजकको अपेक्षा छ ।
नेपालमा गत वर्ष १ अर्ब १५ करोड ५७ लाख रुपैयाँबराबरको पुष्प कारोबार भएको फ्यानको तथ्यांक छ । गत वर्ष ३ करोड १५ लाख रुपैयाको फूल निर्यात भएको र ३ करोड ६९ लाखको आयात भएको थियो । १ सय ३७ हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प उत्पादनमा ४१ हजारभन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको तथ्यांक छ ।