नेपालवाणी नेटवर्कको ताला अझै खुलेन
काठमाडौं ,१६ चैत। नेपालवाणी नेटवर्कका कर्मचारीले पारिश्रमिक पाउनुपर्ने माग राख्दै गरेको तालबन्दी आज दोस्रो दिन पनि खुलेको छैन् ।शनिबार बिहानैदेखि कार्यालयमा तालाबन्दी गरेर बसेका कर्मचारीहरुले आफूहरुले पाउनुपर्ने पारिश्रमिक बापतको बक्यौता रकम तत्काल एकमुष्ट रुपमा पाउनुपर्ने र हटाइएका कर्मचारीलाई सम्मानका साथ पुर्नस्थापना गर्नुपर्ने माग गर्दै आन्दोलनरत छन् ।
आफूहरुको पारिश्रमिक तथा रेडियोमा भएका समस्याका बारेमा जानकारी गराउन सञ्चालक समितिसँग वार्ता गर्ने अडान राखेपनि समितिले कुनै सुनुवाई नगरेपछि आन्दोलनलाई अझ सशक्त बनाएर लैजाने तयारी भएको आन्दोलनरत पूर्व कर्मचारी अर्जुन राउतले जानकारी दिए ।
नेटवर्कमा काम गरेका पूर्व तथा बाहालवाला कर्मचारीले पारिश्रमिक वापतको तलब पाउन बाँकी छ ।नेपालवाणी नेटवर्कमा लामो समयसम्म काम गरेको तलब भत्ता भुक्तानी गराउन रेडियो नेटवर्क प्रशासन तथा व्यवस्थापक शिव लम्सालको पटक पटक ध्यानाकर्षण गराउँदा पनि समस्याको सुनुवाई नभएपछि ताला लगाउन बाध्यभएको गरेको कर्मचारीहरुले जनाएका छन् ।
नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका लम्सालको व्यवस्थापनमा सञ्चालित नेपालवाणी नेट्वर्कका कर्मचारीहरुले सञ्चारक्षेत्रमा श्रमजीवी पत्रकारका अधिकार स्थापित गर्ने र कार्यान्वयन गराउन खबरदारी गर्ने प्रतिनिधिबाटै तलब दिन अस्वीकार गरेको कर्मचारीहरुको भनाइ छ ।यता नेटवर्क प्रशासनले भने आफूहरु समस्या समाधान गर्न लागि परेको जनाएको छ ।