ट्रेड टावरमा तालाबन्दी गरिने

२०७० चैत्र २४ गते, सोमबार

काठमाडौ, २४चैत्र ।काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ‘ट्रेड टावर’ मा तालाबन्दी गर्ने निर्णय गरेको छ । दुई आर्थिक वर्षको दुई करोड रुपैयाँभन्दा बढी घरजग्गा कर नतिरेका कारण तालाबन्दी गरिने महानगरले जनाएको छ ।महानगरका सूचना अधिकृत महेश काफ्लेले पटकपटक सूचना जारी गरिए पनि टे्रड टावर व्यवस्थापनले घरजग्गा कर नतिरेको बताए । ‘राजस्वको दायरामा ल्याउनैपर्छ । कर बुझाउन पत्राचारसमेत गरेका छौं,’ उनले भने । महानगरले २०७०/१२/१९ अगावै कर बुझाउन ट्रेड टावरलाई ०७०/१२/१३ मा पत्राचार गरेको हो । ‘कर नबुझाएमा स्थानीय स्वायत्त शासन ऐनमाअनुसार तालाबन्दी गरी कर दाखिला प्रक्रिया अगाडि बढाइनेछ,’ पत्रमा उल्लेख छ ।
तालाबन्दीका लागि नगररक्षक तयारी अवस्थामा राखेको काफ्लेले बताए । उनले ठूला व्यापारीले नै कर छलेको दाबी गरे ।नेपाल खाद्य संस्थान स्वामित्वको कित्ता नं. ७७५ र ७४० बाट ११ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा कञ्चनजंघा हाउजिङ लिमिटेडले व्यावसायिक प्रयोजनका लागि २५ वर्षे लिजमा लिएको हो । कञ्चनजंघाले त्यहाँ अफिस कम्प्लेक्स निर्माण गरेको छ । ट्रेड टावरका विनय उपाध्यायले कानुनअनुसार लाग्ने राजस्व आफूले तिर्ने बताए । ‘हामीले तिर्दैनौं भनेका छैनौं तर भेदभाव हुनुभएन,’ उनले भने । व्यवसाय सञ्चालन गरेबापत व्यवसाय करमात्र तिर्ने भन्दै उनले घरजग्गा कर तिर्ने दायित्व आफूहरूको नभएको दाबी गरे । खाद्य संस्थानका अधिकारीले करको सम्पूर्ण दायित्व टे्रड टावरकै भएको बताए । करिब तीन वर्षदेखि यो सञ्चालनमा आएको हो । ‘लिजमा दिएका छौं, अनि सम्झौता पनि त्यस्तै छ, घरजग्गा कर तिर्ने दायित्व उसकै हो,’ ती अधिकारीले भने, ‘संस्थान र हाउजिङबीच भएको सम्झौताअनुसार कर तिर्ने दायित्व उसकै हो ।’
कञ्चनजंघाले घरजग्गा कर नतिर्ने दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी हुने अवस्था विद्यमान नभएको धारणा दियो । त्यसपछि सात दिनभित्र लिज सम्झौताअनुसार घरजग्गा कर बुझाउन भनी महानगरले पत्र पठाएको थियो ।महानगरले गत वर्ष पनि ट्रेड सेन्टरको मूलगेटमा तालाबन्दी तथा सिलबन्दी गर्न खोजेको थियो । तर सञ्चालकले कर तिर्ने सर्तनामा गरेपछि महानगरले तालाबन्दी निर्णय फिर्ता लिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु